प्राविधिक शिक्षा अध्ययन गर्ने छ जनालाई बन्दिपुर गाउँपालिकाले छात्रवृत्ति दिने
डिपि अधिकारी/भञ्ज्याङ

तनहुँको बन्दिपुर गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
२०७९ सालको एसइइ परीक्षामा उत्तीर्ण भएका पालिका भित्रका प्रत्येक माध्यमिक विद्यालयबाट १/१ जना गरिव तथा जेहेन्दार विद्यार्थी मध्यबाट छनौट गरी छात्रवृत्ति प्रदान गरिने भएको छ ।
बन्दिपुर-१ नाहाला स्थित पवित्रा माध्यमिक विद्यालयमा संचालित प्राविधिक तथा ब्यवसायीक तालिम परिषदमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
पवित्रा माविबाट २०७९ सालको एसइइ परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गर्दै गाउँपालिका अध्यक्ष थापाले पवित्रा मावि बन्दिपुर गाउँपालिकाकै शैक्षिक गुणस्तर र भौतिक संरचनाको हिसाबले नमूना विद्यालय रहेको भन्दै खुशी ब्यक्त गरे ।

उनले भने, ‘प्राविधिक शिक्षा हासिल गरेका पालिका भित्रका युवाहरुलाई पालिकामा प्राथमिकताका साथ रोजगारीको अवसर दिईने छ । एक विद्यालय एक नर्स कार्यक्रम अर्न्तर्गत यसै शैक्षिक सत्रदेखि पवित्रा माविमा एक जना नर्स वा अहेवको दरबन्दी कायम गरिने छ ।’
विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष भानुभक्त पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठ, प्रधानाध्यापक जीवराज पौडेल, सिटिईभिटिका संयोजक लक्ष्मण बिजुक्छे, कमल पंडित, अमर थापा, धनबहादुर आले, अमृत शाही, दिपक बराल, विद्यार्थीहरु परिवर्तन बुढाप्रिथी, रञ्जना विक लगायतले सरोकारवालाहरु बीच सहयोग र सहकार्य भएमा सामुदायीक विद्यालयहरुलाई नमूना बनाउन सकिने भन्दै स्थानीय स्तरमा रहेका विद्यालयलाई शैक्षिक गुणस्तर राम्रो बनाउन सके घरबाटै कम खर्चमै उच्च शिक्षा हासिल गर्न सकिने धारणा ब्यक्त गरेका थिए ।

पवित्रा माविबाट यस वर्षको एसइइ परीक्षा दिएका १ सय १ जना मध्य १ जनाले ए प्लस, ४ जनाले ए र अन्य ९० जना गरी ९५ जना उत्तीर्ण भएका विद्यालयका प्रधानाध्यापक जीवनाथ पौडेलले जानकारी गराए ।
पवित्रा माविमा प्राविधिक शिक्षामा भर्ना हुने ४८ जनाको कोटा रहेकोमा ६ जना पालिकाले ४ जना अनलाईन मार्फ सिटिईभिटिले र एक जना पवित्रा माविले गरी ११ जना छात्रवृत्ति मार्फ निःशुल्क अध्ययन गर्न पाउने भएका छन् ।











