भानुको आवधिक नगर विकास योजना तर्जुमा गोष्ठी
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले आवधिक नगर विकास योजना तर्जुमा कार्यशाला गोष्ठी गरेको छ । गोष्ठीमा नगरपालिकाको अल्पकालीन र दीर्घकालिन लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति, गौरवका आयोजना र विषयगत समिति सम्बन्धी योजनाका विषयमा छलफल गरिएको थियो । आगामी बजेटको प्राथमिकताका आधारमा योजन निर्माण गर्ने उद्देश्यका साथ दुइ दिने कार्यशाला गोष्ठी आयोजना गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
गोष्ठीमा नगरप्रमुख त्रिपाठीले समृद्ध भानु नगरपालिकाको बिकासको लागि सबैको सहकार्यको प्रमुख भूमिका रहने हुँदा सरोकारवाला सबैसँग हातेमालो गर्दै अगाडि बढ्नु आजको आवश्यकता भएको बताए । योजना बनाउँदा स्थानीयको आवश्यकता पहिचान गरी योजनाको प्राथमिकीकरण गरी जनतालाई विकासको अनुभूति हुने गरी योजना निर्माण गर्नुपर्ने उपप्रमुख उमा गोतामेले बताइन् ।
कार्यक्रममा वडा नं. ९ का वडाअध्यक्ष मिन बहादुर गुरुङ, वडा नं. १ की वडाअध्यक्ष कान्छीमाया तामाङ, काँग्रेस भानु नगर सभापति रामकुमार श्रेष्ठ, एमालेका प्रतिनिधि कृष्णराज ढकाल, नेकपा माओबादी केन्द्रका सिताराम अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिबेक न्यौपाने, आदिकवि भानुभक्त जन्मस्थल बिकास समितिका निर्देशक शंकर रानाभाट, नबिन दाहाल, जयहरी ढकाल, बिष्णु मिश्र लगायतले बिकास योजनालाई जनतासंग जोड्नु पर्ने, वास्तबिक किसान पहिचान गरी कृषि क्षेत्रमा अनुदान उपलब्ध गराउनुपर्ने विषयमा जोड दिएका थिए ।
यस्तै, सहभागिहरुले ग्रामीण क्षेत्रको बिकासमा ध्यान दिनु पर्ने, पालिका भित्र रहेका साहित्यिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको समग्र बिकासमा जोड दिनुपर्ने लगायतका विषयमा आ-आफ्ना विचार राखेको प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाले जानकारी गराए । नगरपालिकाले वडा नं. ४ स्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समिति चुँदी रम्घाको सभाहलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।










