गुरुङ जातीको नयाँ वर्ष, तमु ल्होसार

के.बि. मसाल

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु गुरुङ जातीको मूख्य ६ वटा पर्वहरु मध्य ल्होसार अर्थात नयाँ बर्ष प्रमुख पर्व हो । यो बाहेक गुरुङ जातीहरुले मा ङी दिना सात कन्याहरुको उत्पत्ती एवं पारिवारिक सम्बन्ध कायम रहेको दिन । मे त्हले ल्हिपा, धन बिद्या पर्व । फु ता सो दिना, विधान सभा अर्थात गुरुङहरुको विधान दिवस पर्व । खे कु त्हे, नौ महागुरुहरुको उत्पत्ती दिवस अर्थात गुरु पूजा दिन । क्होला सोथर च्यूपा, नयाँ राज्य स्थापना दिवस जस्ता पर्वहरु पर्दछन । यी पर्वहरु मध्ये त कतिपय आजभोली प्राय लोप हुन लागेको अवस्थामा पुगिसकेका छन भने कतिपय पर्वहरु महत्व मान्न छाडेको पाइन्छ ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार पर्व मनाउँदैछन । ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायको विश्वास छ । तमु समुदायले चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ । गुरुङ समुदायले यो बर्षको ल्होसार पर्वमा भुप्री ल्होलाई विदाई गरी सप्री ल्हो अर्थात सर्प वर्गलाई स्वागत गर्दछन । यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाहा पाउन सकिन्छ ।
शास्त्र अनुसार १२ वटा वर्गमा मुसा वर्ग (च्युल्हो), गाई वर्ग (ल्वोँल्हो), बाघ वर्ग (तो ल्हो), बिरालो वर्ग (हिल्हो), गिद्द वर्ग (मुप्रील्हो), सर्प वर्ग (सप्रील्हो), घोडा वर्ग (तल्हो), भेंडा वर्ग (ल्हुल्हो), बादर वर्ग (प्र ल्हो), चरा वर्ग (च्हयाल्हो), कुकुर वर्ग (खिल्हो) र मृग वर्ग (फोल्हो) पर्दछ। नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातीहरुले ल्होसार मान्दछन्। तर ती जातिहरुले मान्ने ल्होसार पर्व फरक फरक छन् । नेपालमा तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । पुष १५ मा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । त्यसैगरी माघ शुक्ला प्रतिपदामा मनाइने तामाङ लगायत पश्चिमी तिब्बतीहरुले मनाउने ल्होसारलाई सोनाम ल्होसार र फाल्गुण शुक्ला प्रतिपदामा शेर्पा लगायत पूर्वी तिब्बतीले मनाउने पर्वलाई ग्याल्पो ल्होसार भनिन्छ ।
बिशेष गरी ल्होसार पर्व १५ दिनसम्म रहने गर्दछ । नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जगल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ’ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ’ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ। तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् । पहिले बोन अर्थात् शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समूदाय अहिले अधिकांश संख्यामा बौद्धिष्ट र केही क्रिस्चीयन अनि हिन्दूहरु पनि छन । ल्होसार पर्व नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले मनाउने गर्दछन् ।
ल्होसारको दिन गुरुङ जातिहरु आफ्नै शैलीका भेषभुषा सजिएका हुन्छन । महिलाहरुले शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिटको गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरुले शिरमा टोपी, भोटो माथि भाग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरुङ जातिहरुको पनि पर्वहरु मनाउने आफ्नै शैली छ । ल्होसार पर्वमा सोरठी स्थानीय भाषामा चुडका भनेर प्रचलित कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरुसंग रमाइलो गर्छन् । गुरुङहरुले विगत २६०३ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको मानिन्छ। हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरुले नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउँछन ।
ल्होसारको दिन अर्थात १५ पुषमा नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जंगल अथवा सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ल्हो अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात वर्षहरुलाई आउन नदिन जन्तर जंगलको रुखमा बाँध्ने चलन छ ।
गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । तर, अहिले गुरुङले तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन । यो नामाकरणबाट उनीहरुले यस पर्वलाई गुरुङको पहिचानसँग जोडन खोजेको देखिन्छ। ल्होसार पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ। दुःख–सुखका कुरा एक–अर्कामा बाँडछन। समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ । गाउँघरमा यही मौका पारेर मेला लाग्छ । मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुसबाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ । आजभोली कतिपय गुरुङ जातीहरु आफ्नो मुल थलो छाडी शहरी क्षेत्रमा बसाई सरेका छन ।
काठमाण्डौ उपत्यका लगायत बिभिन्न तराईका शहर बजार र ग्रामीण बस्तीमा रहने तमु अर्थात गुरुङ जातीहरुले ल्होसार पर्व बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन । कतिपय ठाउँमा क्बलहरुले साँस्कृति कार्यक्रमको आयोजना पनि गर्दछन। कतिपय रोजगारीको लागि देश बिदेश पुग्ने तमु युवाहरु पनि ल्होसारको समयमा आफ्नो घर फर्किएका हुन्छन । ल्होसार पर्वको लागि विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झण्डाहरु घर, डाँडा र वौद्ध विहारमा झुण्डयाइने प्रचलन हुन्छ । तमु भाषामा लेखियको यो भाषाले छ्याँजलो, ताहान मिथेवामैलई छयाँजगे मु जाँसाजे । हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन ! आज तमु ल्होसार हो भन्ने अर्थ दिन्छ । ‘पे म्ह्स्या, छ्या म्हमु, छया म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ यसको अर्थ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने मान्यता गुरुङ सस्कृतिले लिएको पाइन्छ ।
तिब्बती भाषामा ल्हो को अर्थ वर्ष र सारले नयाँ जनाउँदछ। जसले गर्दा चिनियाँ तिब्बतीहरुले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तमु भाषामा लो को अर्थ वर्ग र छारले नयाँ भन्ने हुँदा ल्होछार पनि भन्ने गरेको पाइन्छ। भाषा विज्ञानका दृष्टिले तिब्बती सभ्यताको मूल शब्द ल्होसार भाषिक विकास र रुपान्तरणको चरणमा तदभव शब्दको रुपमा ल्होछार भएको मत पनि पाइन्छ ।
हिन्दुहरुले बडा दशैं, विजयादशमी, तिहार, दिपावली शब्द फरक फरक प्रयोग गरेता पनि त्यसको अर्थ र संस्कृति एउटै हुन्। यी सबै शब्दहरु स्थापित भएकाले पर्यायवाचीको रुपमा लिने गर्दछन् । त्यसरी नै ल्होसार र ल्होछार शब्द फरक भएपनि अर्थ र संस्कृति तथा महिमा एउटै हो । भाषा विज्ञानको नियममा भाषाहरु तल माथि भइरहन्छन्। तसर्थ यसलाई पर्यायवाची शब्दको रुपमा ग्रहण गर्न पर्दछ । हरेक समुदायले आ–आफ्नै किसिमले नयाँ वर्ष सुरुवातलाई चाडका रुपमा मनाउँछन। कसैले इस्वी संवतको, कसैले विक्रम संवतको र कसैले नेपाल संवतको सुरुवातलाई चाडका रुपमा मनाएजस्तै तमु समुदायले ल्होसार मनाउँदै आएको छ । वास्तवमा आदिकालका प्रकृतिपूजक समुदायले मनाउँदै आएको पर्व नै ल्होसार हो। ल्होसार विशेष गरेर मंगोल जातिले मान्ने पर्व हो। नेपालमा गुरुङ जातिको मूल थलो अन्नपूर्ण, मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हो। समयान्तरमा उनीहरु नेपालको पूर्वी पहाडका धेरै जिल्लामा समेत बसोवास गर्दछन ।
नेपालमा मात्र होइन गुरुङ जाती थोरै संख्यामा सिक्किम र भुटानमा समेत बसोवास गरेको पाइन्छ । केही इतिहासविदहरुका अनुसार गुरुङहरु हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए भनिएको छ। केही विद्वान भने गुरुङहरु मङगोलबाट बसाइ सरेकाहरु हुन् भनेका छन् । तर मानव सभ्यताको विकास भएको मूल थलोहरु मध्ये चीनको ह्वाङहो नदीबाट नै गुरुङ जातिको पनि बिकास भएको मानिन्छ ।
लमजुङ जिल्लामा एउटा गाउँपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथारको शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो । त्यहि कारणले पनि गुरुङ संस्कृतिको बारेमा अध्यन गर्न पर्यटकहरु यहि क्षेत्रमा पुग्दछन । हामी नेपालीहरुले मान्ने प्रत्येक पर्वको पछाडी रहेका पौराणिक कथाहरुले मानव जीवन सुखी हितकर बनाउने संदेश दिएको हुन्छ। ल्होसार पर्वको पौराणिक कथामा पनि यस किसिमको सन्देश पाइन्छ । पर्वहरुको कथाबाट पाइने सन्देश हाम्रो जन जीवनसंग गाँसिएका छन् । हामीले मान्दै आएका सबै पर्वहरुले खुशीयाली र उमंग लिएर आउने गर्दछन । पर्वमा आफन्त, साथीभाई सगँको भेटधाटले मानिसमा भएको निराशा, एक्लोपन हरायको महसुस हुन्छ । पर्वमा हुने भेटघाटले आपसी प्रेम, भाईचारा, सदभाव बढाई शान्ति, मेलमिलाप र निकटता कायम राख्न मदत गर्दछ ।
मानव सभ्यताको विकासमा सनातन सांस्कृतिक परम्परा सभ्य समाजका जीवन पद्धतिसंग जोडिदै आएको छ । सभ्यताको विकास र विस्तारमा हिमवत्खण्ड मानव सभ्यताको उदगम मानिन्छ । सभ्यताको आदिम कालमा मानव सीमित समुदायको थियो र उसले प्रयोग गर्ने भाषा पनि एकै थियो तर सभ्यताको विकाससगै मानव अनेक समुदायमा धेरैतिर व्याप्त भयो अनि उनीहरुले प्रयोग गर्ने भाषा पनि धेरै भए । कालान्तरमा एकै भूभागमा अनेकन जाति र समुदायका मानिसहरुको बसोवास बढन थाल्यो। त्यसले समाज बहुजाति, बहुसंस्कृति र बहुभाषाको बन्न थाल्यो । नेपाल यस्तै मुलुक हो । वोन धर्म तमु जाति अर्थात गुरुङ समुदायमा विधमान पैत्रिक कुलधर्म हो । जुन धर्ममा तमु जातिले प्राचिनकालदेखि नै विश्वास राखी अनुशरण गर्दै आइरहेको छ। वोन धर्म विश्वको पूरानो धर्म अन्तर्गत पर्ने एक प्राचिन धर्म हो। जसमा मानव निर्मित मानवरुपि भगवानमा विश्वास राख्दैन । अझ भन्ने हो भने वोन धर्ममा भगवान हुदैन, देवता हुन्छ ।
त्यसैले वोन धर्मलाई भवगान नभएको धर्म पनि भन्दछ । वोन धर्ममा खोलानाला, पोखरी, रुख, पहाड, डाडाकाडा, भिरपखेरो, बन, जंगल, ठूला चट्टान, घाम, जुन, तारा, आकाश, भूमि, देउराली आदिलाई पूजा गर्दछन । तमु भाषामा भन्नु पर्दा क्लहेसोदी, परहेसोदी, आजीखे, आजीमा, सिल्दो, नाल्दो, सिमे, भूमे, खेकु, माङी, खेथे, माथे, सग्र्या, जस्ता प्राकृतिक वोन धर्म अन्तर्गतका देवताहरु हुन। वोन धर्म अनुसार संसार, जगतका सबै प्राकृतिक वस्तु, सजिव प्राणीहरु सबैको आत्म हुन्छ भन्ने विश्वास गरिन्छ ।
ल्होसार पर्व अघिल्लो दिनदेखि नै मनाउन सुरु हुन्छ । बेलुका पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने प्रचलन छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर रमाइलोको गरिन्छ । ल्होसार पर्वमा तमु जातीले आफ्नो सांस्कृतिक भेषभुषा खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ । यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ। यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ। गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ । यस अवसरमा चेलीबेटीलाई र उनीहरुका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker