भानु नगरपालिकाले लागु गरेको स्थानीय पाठ्यक्रममा समावेश गरिएका विषयको सुझाव माग
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले शैक्षिक सत्र २०७९ देखि लागू गरेको स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’का विषयमा सुझाव माग गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा पाठ्यक्रम विकास केन्द्रबाट जारी विद्यालय तहको स्वीकृत पाठ्यक्रम ढाँचा बमोजिम शैक्षिक सत्र २०७९ देखि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको हो ।
उक्त पाठ्यक्रमका आधारमा हाल पाठ्यपुस्तक निर्माणको काम द्रुत गतिले अघि बढेको र पाठ्यपुस्तक निर्माण गर्ने काम नितान्त प्राविधिक विषय भएकाले यसका लागि केही समय लाग्ने नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।
चालू आवको असार मसान्तसम्म पाठ्यपुस्तक निर्माण गर्ने तयारी गरिएको छ । ‘नगरपालिकाको स्थानीय पहिचान झल्कने विषयवस्तु संयोजन गरी कक्षा १ देखि ८ सम्मका अलग अलग पाठ्यपुस्तक निर्माण गर्ने काम भएको छ’, नगर शिक्षा अधिकारी पौडेलले भने, ‘यस क्रममा पाठ्यक्रमका स्थापित मान्यता, बाल मनोविज्ञान, राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भ, बालबालिकाको चाहना, सिकाइ सक्षमता, शैक्षिक स्तर, सामाजिक माग तथा भानुको स्वःपहिचान कायम गर्ने हिसाबले विषयवस्तुको विन्यास गरी समयसापेक्ष र गुणस्तरीय पाठ्यवस्तु सहितको पाठ्यपुस्तक बनाउने हाम्रो प्रयास जारी छ ।’
नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा भानु नगरपालिकाको सामान्य परिचय, ऐतिहासिक तथा साहित्यिक व्यक्तित्व, स्थानीय कला र संस्कृति, पर्यटकीय स्थल, स्थानीय कृषि व्यवसाय, पशु व्यावसाय, स्थानीय पेशा, व्यवसाय र प्रविधि, स्थानीय प्राकृतिक सम्पदा र वातावरण संरक्षण, स्थानीय खेलहरु, प्रकोप तथा विपद् व्यवस्थापन, शहरी विकास, प्रदुषण र फोहर व्यवस्थापन, हाम्रा नैतिक मूल्य, मान्यता, आचरण र नेतृत्व विकासका एकाईका शीर्षकहरु समावेश गरिएको छ ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पाठ्यपुस्तकमा समावेश गरिएका विषयवस्तुहरुमा आफ्नो अमूल्य र रचनात्मक सुझाव दिई पाठ्यपुस्तकलाई समयसापेक्ष र गुणस्तरीय बनाउने कार्यमा सुझाव दिन आग्रह गरेको छ ।










