पर्यटन प्रवर्द्धनका लागि व्यासको नीति : “टाकुरा पर्यटन सञ्जाल”
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । ३९औं नगरसभाबाट नगरपालिकाको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । नगरपालिकाले नगर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि ‘टाकुरा पर्यटन सञ्जाल’ नीतिलाई अगाडि ल्याएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको विकासमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी धार्मिक, साँस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलहरुको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकासका लागि कानुन निर्माण गरी कार्यान्वयनमा ल्याउने बताएका छन् ।
‘पर्यटकीय पूर्वाधारको विकास गर्दा पुरातात्विक महत्वका धार्मिक, साँस्कृतिक ऐतिहासिक मठमन्दिर, गुम्बा र गुफा लगायतका नगरवासीका मौलिक सँस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने छ’, नगरप्रमुख न्यौपानले भने, ‘नगरपालिका भित्र रहेका व्यास जन्मभूमिमा महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला निर्माण, ऐतिहासिक तनहुँसुर दरवार क्षेत्र, भगवती पानी, छाब्दी बराह, मानहुँ कोट, गलेखाम कोट, कालिका शहीद जंगल पार्क, क्यामिन कालिका, खड्कादेवी मन्दिर, अकला मन्दिर, कर्लुङ कोट, ç सिद्धेश्वरी राजापानी महादेव, छाङ्गा बाराही, देवीडाँडा पार्क, हत्तीगैह्रा गुफा, सितल गुफा, पोखरीभन्ज्याङ कालिका मन्दिर, रामथुम्की पार्क, बागभन्ज्याङ बाघ खोर, वेनीकोट भञ्ञ्याङ झाक्री थान, हात्तीसुंढे जलवाराही लगायतका टाकुरा एवं मन्दिरहरुको संरक्षण एवं सम्बर्द्धन गरिने छ र “टाकुरा पर्यटन सञ्जाल” को विकास गरिने नीतिलाई निरन्तरता दिइने छ।’

नगरपालिका भएर बग्ने (करिब १८ कि.मी.) मादी नदीको बहुउद्देश्यीय विकासका लागि व्यास मादी नदी एकीकृत विकास परियोजना अन्तर्गत पर्यटन प्रवर्द्धन र कृषि क्षेत्रमा विशेष कार्यक्रम ल्याउने नीति नगरपालिकाले ल्याउने भएको छ । यस अर्न्तर्गत मादी नदीमा ताल निर्माण गरी जल विहारको आनन्द प्रदान गर्ने, प्याराग्लाइडिङलाई व्यास नगरपालिकामा भित्र्याई यस क्षेत्रको प्रवर्द्धन गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय र निजी क्षेत्रको सहयोगको वातावरण बनाउने र यस्को सम्भाव्यता अध्ययन गर्ने र सम्भाव्य स्थानमा आवश्यक पूर्वाधार तयार गरिने नगरप्रमुख न्यौपानले बताए ।
जीविकोपार्जन र रोजगारीको अवसर वृद्धि गर्न जल पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन, पर्या पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, ग्रामीण पर्यटन, साँस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधीकरण तथा विस्तारमा जोड दिइने नीतिलाई निरन्तरता दिइने भएको छ । यसको लागि सम्भाव्यता अध्ययन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने र पर्यटकीय सेवामूलक पूर्वाधारहरुको विस्तार एवं सुधार कार्यक्रम ल्याउने, नगरपालिका भित्रका होटलहरु र होमस्टेलाई स्वच्छ तथा सफा सुग्घर राख्दै पर्यटनमैत्री बनाउन सहयोग प्रदान गर्ने, प्राङ्गारिक कृषि उत्पादन र साना तथा घरेलु उत्पादनसँग आवद्ध गरी पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ ।
व्यास-१० दुम्सीचौरमा पर्यटकीय प्रवर्द्धनका लागि नारेश्वर ताल निर्माण कार्यलाई निरन्तरता दिने, पृथ्वी राजमार्गको विस्तारले ऐतिहासिक घाँसीकुवा र घाँसी पार्कमा आएको संकटलाई सम्बद्ध पक्षहरुको सहकार्यमा व्यवस्थित गर्ने, नगर भित्रका सबै वडाहरुमा रहेका ऐतिहासिक र परम्परागत महत्वका स्मरणीय स्थानहरुको पहिचान गरी त्यसको प्रचार प्रसार र संरक्षण गर्ने नीति नगरपालिकाले बनाएको बताउँदै नगरप्रमुख न्यौपानेले भने, ‘नगरपालिका भित्र “उद्योग पर्यटन श्रम तथा रोजगार शाखा” अन्तर्गत पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन प्रवर्द्धन सूचना केन्द्र स्थापना गर्ने, उक्त सूचना केन्द्रबाट नगरपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न पथ प्रदर्शकको व्यवस्था गरिनेछ ।’
तनहुँशुर क्षेत्रलाई केन्द्र विन्दुमा राखेर भानु शान्ति निकुञ्जबाट तयार पारिएको “पर्यटन गुरुयोजना”लाई क्रमशः कार्यान्वयन गर्दै लगिने र पर्यटन गुरुयोजनामा प्रस्ताव गरिएको १० वर्षे दीर्घकालीन सोच एवं अवधारणा अनुसार तात्कालीन, अल्पकालीन र मध्यकालीन कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिने भएको छ ।
नगरपालिकाले नगरभित्र पर्यटन जनशक्ति विकास, पर्यटन तथा वातावरण सचेतना कार्यक्रम, पर्यटन विकासका लागि नमूना परियोजनाहरु सञ्चालन, पर्यटन गन्तव्यहरु प्रवर्द्धन, परम्परागत मार्गहरुको मर्मत सम्भार र बजारीकरण, खोज अध्ययन अनुसन्धान तथा विस्तृत योजना निर्माणका कार्यक्रमहरु ल्याइने ल्याइने नगरप्रमुख न्यौपानले बताए ।










