तनहुँमा दुइ बालिकाको मृत्यु
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा भएका दुइ छुट्टाछुट्टै घटनामा बुधबार दुइ बालिकाको मृत्यु भएको छ । व्यास नगरपालिका र भानु नगरपालिकामा भएको घटनामा दुइ बालिकाको मृत्यु भएको हो ।
व्यास नगरपालिका-६ स्याउली बजारमा घरबाट खसेर तीन वर्षीया आकांक्षा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
खेल्ने क्रममा घरको दुइ तल्लामाथिबाट लडेर घाइते परियारको उपचारका क्रममा पोखरा स्थित फेवासिटी अस्पतालमा मृत्यु भएको हो । यसैगरी भानु नगरपालिका-१२ रतनपुरमा तातो खोलेमा डुबेर बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुइ वर्षीया आरोही घर्ती रहेको प्रहरीले जनाएको छ । घरमा गाइवस्तुलाई खुवाउन पकाएर राखिएको तातो खोलेमा डुबेर घाइते उनको उपचारका क्रममा पोखरास्थित क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।










