बाडीपहिरोमा परी गण्डकी प्रदेशमा एकै परिवारका ५ जना सहित १८ जनाले ज्यान गुमाए

पछिल्लो २ दिनमा मात्रै गण्डकीमा बाढीपहिरोमा परी १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये ११ जना पर्वतका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् ।

कुश्मा ११ सिल्मीमा गएको पहिरोले २ जनाको ज्यान लियो । मृत्यु हुनेमा मोदी गाउँपालिका ७ कि ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेल छन् । उनीहरु दिदीभेनाको घरमा पाहुना आएकोबेला पहिरोमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा ११ कै पकुवा ताल्चेमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयूश पौडेल र पौडेलकी सासु ७० वर्षीया डल्ली पाध्या पौडेल छिन्।

‘पहिरोमा परी बेपत्ता भएका सबैको शव भेटिएको छ । पछिल्लो पटक ७० वर्षीय डल्ली पाध्याको शवसमेत फेला परिसकेको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी गराए ।

शुक्रबार बिहानकै पहिरोले पर्वत मोदी गाउँपालिका ५ अम्बोटका ५० वर्षीय फूलमाया थापाको ज्यान लिएको थियो । बाढी पहिरोले पर्वतमा सञ्चारविच्छेद भएको छ भने पहिरो गर्दा मुख्य सडकमा समेत क्षति पुगेको छ । ‘अविरल वर्षालकै कारण पहिरो झर्दा पोखरा-कुश्मा सडकखण्ड अवरोध भएको छ । क्षति विवरण आउन बाँकी रहेकाले कति भयो भन्ने एकीन भएको छैन,’ प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले भने ।

कास्कीका ७ जनाको मृत्यु

यस्तै कास्कीमा बाढीपहिरोमा परी ७ जनाको ज्यान गएको छ । बिहीबार पहिरोले ५ जनाको ज्यान गयो । शुक्रबार पोखरा ३२ खुदी खोलाले बगाउँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । बेगनास तालबाट आएको खोलाले स्थानीय ६० वर्षीय रमेश मगरको ज्यान लिएको हो ।

‘करिब ३० मिटर बगाएर एउटा रुखमा अडि्कएको अवस्थामा स्थानीयले फेला पारेका थिए । उद्धारपश्चात चेकजाँच गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरे,’ उनले भने ।

पहिरोमा परी बिहीबार पोखरा २० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएका श्रेष्ठ दम्पत्तीका ३ वर्षीय छोराको शव शुक्रबार दिउँसोमात्रै फेला परेको छ ।

पोखरा २० कै मुलाबारीमा पहिरो जाँदा २९ वर्षीय विष्णु सार्की र उनका ८ वर्षीय छोरा सन्तोष सार्कीको मृत्यु भएको थियो । यस्तै, पोखरा ११ नमूनाटोमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको थियो ।

एकै परिवारका ५ जनाको मृत्यु

यस्तै, गतवर्ष एकै परिवारका ६ जनासहित ९ जनालाई पहिरोमा गुमाएको दुर्लुङ, पवर्तमा यसवर्ष उस्तै नियति अहिले पनि दोहोरियो । बिहीबार राति आएको पहिरोले दुर्लुङ भोगेनीबासीले एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार एकाबिहानै खसेको पहिरोमा माधव शर्माले परिवारकै ५ सदस्य गुमाउनुपर्‍यो । पहिरोमा परी शर्माका आमा ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती पौडेल, छोरीहरु १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेलले ज्यान गुमाए ।

जहाँ पहिरो खसेको थियो, त्यहाँ पहिरो खस्छ भनेर कल्पनै गर्न नसकेको कुश्मा ३, दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्या बताउँछन् । ‘केही दिनदेखि झरी परिरहेकै थियो । राती खाना खाएर सुतेको परिवार बिहान उठ्नै नपाई पहिरोले लग्यो,’ उनी भन्छन्, ‘घरभन्दा माथि घोरेटो बाटो छ । घर तल मोटर बाटो छ । भूकम्पले हल्लाएको जमिनमा घोरेटो बाटो मुनिबाट पहिरो खसेछ ।’

पहाडको पाखोमा बस्नुको पीडा आफूहरुले भोग्दै आएको उनले सुनाए । ‘पोहोर दुर्लुङमा पहिरोले ९ जनाको ज्यान निल्यो । यसपालि एउटा परिवारलाई तबाह पारिदियो,’ वडाध्यक्ष पाध्याले भने, ‘पाखोमा घर हुनेलाई झरीले पनि तर्साइरहन्छ । कतिबेला कहाँ पहिरो खस्ने हो भन्ने चिन्ता भइरहन्छ ।’

पोहोर पहिरो खसेपछि गृह मन्त्रालयले स्थलगत अध्ययन गरेको थियो जसले दुर्लुङका ४५ घर ठूलो पानी परे उच्च जोखिममा रहेको देखाएको थियो । यद्यपि प्राविधिक हिसाबले कुनै पनि रुपमा जोखिममा पर्ने जस्तो ‘नदेखिने’ देखाएको थियो । ‘गाउँ माथि पनि घना वन छ ।

भिरालो जमिन भएर जोखिम मानिनेभन्दा पनि कम देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘खोला, खोल्सी, कुलो केही पनि छैन ।’ तर यस वर्षको झरीबाट दुर्लुंङबासी बच्न सकेनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker