पर्यटनको मेरुदण्ड संस्कृति र प्राकृति
के.बि. मसाल

नेपालमा पर्यटन क्षेत्रमा मेरुदण्डका रुपमा सांस्कृतिक र प्राकृतिक सम्पदा मानिन्छ । विश्वभरका पर्यटकहरु नेपालको सास्कृतिक र प्राकृतिक सौन्दर्य हेर्नका लागि आउने गर्दछन। प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेसभुसा, संस्कृतिलाई पर्यटकहरुले चासोको साथ लिने गर्दछन । पर्यटनको कुरा गर्ने बित्तीकै धेरैले बिदेशि भुमिका कुरा गर्दछन। पर्यटन कुनै पनि राष्ट्रको आत्मा हो । तर पनि पर्यटन केवल सौन्दर्य अवलोकन वा मनोरञ्जनको साधन मात्र होइन, इतिहाससँगको भेटघाट, संस्कृति र सभ्यतासँगको परिचय तथा प्रकृतिको सम्पदासँग आत्मसात हुने यात्रा पनि हो ।
नेपाल जस्तो बहुभाषिक, बहुजातीय र भौगोलिक विविधताले भरिएको मुलुकमा पर्यटनलाई देश दर्शनको मूल कुञ्जी मान्न सकिन्छ। नेपालको इतिहास पर्यटनसँग गहिरो रुपमा गाँसिएको छ । लिच्छविकालमा बनेका जलाधार, स्तूप र देवालयहरु, मल्लकालीन दरबार स्क्वायर, गुठी र सांस्कृतिक पर्वहरु सबैले प्राचीन पर्यटनको स्वरुप देखाउँछन । मध्यमकालीन व्यापारिक मार्ग ‘सिल्क रोडसँग जोडिएको नेपाल भारत–तिब्बत व्यापारको केन्द्र मात्र नभई विदेशी पर्यटकको आकर्षणस्थल पनि थियो । गोर्खाली एकीकरणपछि बनेका किल्ला, दरबार र पुरातात्विक स्थलहरुको गौरवपूर्ण इतिहासलाई पर्यटकहरुले रुचि पुर्वक अवलोकन गर्दछन। नेपालको पर्यटनको मेरुदण्ड नै प्राकृतिक सम्पदा हो । हिमालयको काखमा रहेको नेपालमा आठ हजार मिटरभन्दा माथिका ८ शिखर छन । जसमा विश्वकै सर्वोच्च शिखर सगरमाथा मात्र नभई अन्नपूर्ण, कञ्चनजंघा, ल्होत्से, धौलागिरीलगायत हिमालले पर्यटकहरुलाई आकर्षित गर्दछ । तराईका उर्वर मैदान, पहाडका हरियाली डाँडाकाँडा र हिमालका हिमशिखरले नेपाललाई मिनी–वल्र्ड बनाएको छ। चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया, कोशी टप्पु, शे–फोक्सुण्डो ताल, रारा ताल, गोसाइँकुण्ड, कालीगण्डकी र त्रिशूलीजस्ता नदीहरु केवल प्राकृतिक सम्पदा मात्र होइनन सांस्कृतिक आस्थासँग पनि जोडिएका छन ।
पर्यटनको क्षेत्रमा नेपाल केवल भौगोलिक दृष्टान्त मात्र होइन, सांस्कृतिक सम्पदाले पनि महत्वपूर्ण स्थान ओगटेको छ । काठमाडौँ उपत्यकाका सात यूनेस्को विश्व सम्पदा क्षेत्र, लुम्बिनीको शान्ति क्षेत्र, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, स्वयम्भूनाथ, गुह्येश्वरी, हलेसी महादेवजस्ता धार्मिक स्थलहरुले आस्था, दर्शन र पर्यटनलाई एउटै धागोमा बाँधेका छन । आधुनिक नेपालमा पर्यटन केवल पर्वतारोहण वा तीर्थयात्रामा सीमित छैन। ग्रामीण पर्यटन, इको–टुरिज्म, साहसिक पर्यटन, स्वास्थ्य–उपचार पर्यटन, साँस्कृतिक पर्यटन जस्ता नयाँ अवधारणाहरु फैलँदै गएका छन । तर, अनियन्त्रित शहरीकरण, वातावरण प्रदूषण, प्राकृतिक सम्पदाको अतिक्रमण, ऐतिहासिक स्थलहरुको संरक्षणमा कमजोरी जस्ता चुनौतीले पर्यटनलाई संकटमा पार्ने खतरा बढाएको छ । नेपाललाई विश्वमा चिनाउने, आर्थिक विकासको ढोका खोल्ने र अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध सुदृढ पार्ने प्रमुख आधार नै पर्यटन हो । त्यसैले पर्यटनलाई केवल अर्थतन्त्रको साधन नभई राष्ट्रिय पहिचानको मेरुदण्डका रुपमा विकास गर्नुपर्छ ।
पर्यटन भनेको कुनै पनि राष्ट्रको पहिचान हो । यसले केवल रमाइलो र मनोरञ्जन मात्र दिँदैन, इतिहास, संस्कृति र प्राकृतिक सम्पदासँग आत्मीय सम्बन्ध गाँस्ने माध्यम पनि हो । नेपाल जस्तो विविधताले भरिएको देशमा पर्यटनको अर्थ केवल पर्यटकहरुको आगमन मात्र होइन, राष्ट्रिय जीवनका हरेक पक्षलाई उजागर गर्ने माध्यम हो । बिशेष गरी नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सौन्दर्यता र विविधतामा सीमित हरेको छ । पर्यटन क्षेत्रलाई थप आर्थिक समृद्धिको रुपमा हासिल गर्ने हो भने, यहाँको प्राकृतिक विविधता र सांस्कृतिक विविधतालाई एकै सिक्काको दुई पाटाको रुपमा विकास गर्नु पर्दछ । जातिगत विविधता अनुसार सांस्कृतिक संग्राहलय, होमस्टे, सांस्कृतिक नृत्य, परम्परागत खानपान र भेसभुसाको विकास गर्न सके नेपालमा पर्यटकीय गन्तव्यको साथै अध्ययन र अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न सकिन्छ ।
नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्व बजारमा स्थापित गराउने खालका आक्रामक कार्यक्रमको खाँचो छ। पर्यटकीय स्थलको प्रचारप्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवद्र्धनका लागि अब प्राथमिकता योजना ल्याउनुपर्छ । पर्यटन व्यवसायको संवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल, गढी, किल्ला, दरबार आदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गर्नुपर्छ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्यापर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनुपर्छ। पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रुपमा लिइने पर्यटकका लागि सुरक्षित सडक, बासस्थान अर्थात होटल, होमस्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटनको विकास हुन्छ । अब नेपालमा पर्यटनको विकासका लागि लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको संरक्षण गर्नु पर्दछ ।
नेपालमा पर्यटनको क्षेत्रमा प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा भएर पनि त्यसको महत्व पर्यटकहरुलाई बुझाउन सकेका छैनौं । नेपालमा यति धेरै प्राचीन मन्दिरहरु, मस्जिदहरु, किल्लाहरु र अन्य ऐतिहासिक स्थानहरु छन जुन विभिन्न देशका पर्यटकहरुले हेर्न चाहन्छन। नेपाली मौलिक कला तथा संस्कृतिमा पर्यटकहरु रमाउँछन । नेपालमा पर्यटन प्रवद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सिँगारेको धेरै ठाउँहरु छन । प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधतामात्र होइन, पर्यटकहरुका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, मठ मन्दिर र ऐतिहासिक सम्पदा पर्यटनका गन्तव्य बनेका छन । नेपालमा मनाइने चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशका पर्यटकहरुका लागि अनौठो लाग्दछ । कतिपय पर्यटकहरु संस्कृतिकै अध्ययनका लागि पनि नेपाल आउने गर्दछन। नेपाली समाजको विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिको अध्यनमा पर्यटकहरु रमाउँछन । यहाँको विविधता हेर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानकर्ताका लागि पनि पर्यटकको रोजाइ नेपाल पर्दछ ।
नेपालमा खोज अनुसन्धानबाट पर्यटकले सस्कृति, भूगोल, इतिहास र अन्य बिविध बिषयको ज्ञान हासिल गर्न सक्दछन्। रुचि अनुसार अध्ययन अवलोकन गर्दै जादा पर्यटकहरुले नयाँ खोजबाट अनौपचारिक शिक्षा प्राप्त गर्दछ। यसरी लिने शिक्षालाई खुल्ला बिश्वविद्यालयबाट लिइएको शिक्षा भनिन्छ । नेपालमा बिभिन्न मुलुक देखि पर्यटनकै माध्यमबाट धेरै विदेशीहरु पढन र थेसिस लेख्न आउँछन । उनीहरुले नेपालको खुल्ला बिश्वबिद्यालयबाट प्रकृति, सस्कृति, वातावरण र जैबिक बिविधता लगायत धेरै बिषयमा अध्ययन गर्दछन् । पछिल्लो समय विश्वमा सबैभन्दा बढी पर्यटकहरु पर्या पर्यटनको क्षेत्रमा खोज अध्ययन अनुसन्धान गर्न रुचाउछन । नेपालमा पर्या पर्यटनको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न आउने वाह्य पर्यटकको सख्या प्रत्यक बर्ष वृद्धि हुदै गएको छ । मनोरञ्जनका लागि प्राकृतिक वातावरणमा विचरण गर्न नेपाल भित्रिने पर्यटकहरुनै पर्या पर्यटक अर्थात इको–टुरिष्ट हुन । विश्वमा प्रकृतिको अध्ययन, अनुसन्धान गर्न मानिसहरुको रुचि बढदै गएको छ ।
पर्यटनको माध्यमबाट जीवन र जगतलाई चिन्ने बुझनको लागि खोज अनुसन्धान भन्दा अरु केहि हुन सक्दैन । पर्यटन घुमफिर गर्नु मनोरञ्जन लिनुमात्र होइन, घुमफिरबाट धेरै ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाइन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरुको पहिचान, निर्माण र प्रसारजस्ता कार्यहरु गर्न पर्यटनबाट गर्न सकिन्छ । त्यसैले पर्यटनलाई खुला विश्वविद्यालय पनि भन्ने गरिन्छ। पछिल्लो समयमा पर्यटनबाट शिक्षा र शिक्षाबाट पर्यटन दुवैलाई निकै महत्व दिन थालिएको छ । पढनु र सिक्नुको अर्थ किताबी परिभाषा जान्नु र सूत्रहरु स्मरण गर्नु मात्र होइन । जीवन र जगतलाई बुझेर त्यसै अनुरुप सहज जीवन पद्धतिको विकास गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो । अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न सकिँदैन । खासगरी प्राकृतिक श्रोत, भौगोलिक अध्ययन, मानव विकास अध्ययन, सामाजिक–आर्थिक पक्षको अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको यथार्थ ज्ञान लिन सम्बन्धित क्षेत्रहरुको यात्रा गर्नैपर्ने हुन्छ ।
मानिस अध्ययन भ्रमण बाटनै सुशील, ज्ञानी र सभ्य बन्न सक्दछ। अध्ययन औपचारिक र अनौपचारिक दुवै हुन्छ। सबै मानिसले औपचारिक शिक्षा हासिल गर्न पर्दछ र त्यसको लागि विद्यालय, कलेज एवं विश्वविद्यालयमा अध्ययन गर्नु पर्दछ भन्ने मात्र होइन पर्यटनको माध्यमबाट पनि मानिसले धेरै खोज अनुसन्धान गरी धेरै ज्ञान लिन सक्दछ । अनुसन्धान भनेको खोज, अन्वेषण आदि गर्ने काम हो । पर्यटकहरुले आफ्नो यात्रामा रुचि भएका बिषयमा गहिरिएर खोज अध्ययन, अनुसन्धान र अवलोकन गर्न सक्दछन्। खुल्ला बिश्वविद्यालयको कुनै सिमा हुँदैन । पर्यटकहरुलाई खोज अनुसन्धान गर्न हिमाल, पहाड र प्रकृति भित्र रहेका पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरुको खोज–अनुसन्धान गर्न सक्दछन् । पर्यटनमा खोज अनुसन्धान गर्न प्राविधिक, बौद्धिक, स्रोत, साधन, समय र श्रम सबैको प्रयोग हुने गर्दछ । एउटा कुनै बिषय अथवा कुनै क्षेत्र वा सम्पदाको अध्ययन अनुसन्धान गर्न महिनौँ लाग्न सक्दछ ।
विश्वको कतिपय मुलुकमा कृत्रिम सुन्दरताले समेत पर्यटकलाई आकर्षित गरिरहेको बेला प्राकृतिक रुपमै रमणीय र साहसिक पर्यटकीय क्षेत्र रहेको नेपालमा हामीले पर्यटकलाई आकर्षण गर्न सकिरहेका छैनौं । नेपालमा प्राकृतिक रुपमा रहेका सयौ पर्यटकिय सम्पदाहरुमा मानविय लगानी गर्न परेको छैन । तर अब त्यस्ता सम्पदाहरुमा सरक्षणको खाचो भएको छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनजस्ता महत्वपूर्ण आयामको उपयोग गर्न अब पर्याप्त व्यवसायीकरण गर्न पर्दछ। जुनसुकै मुलुकबाट आएका पर्यटक नेपालमा एक पटक पाइला टेकेपछि उनीहरु यसलाई अन्तिम भ्रमण बनाउँदैनन्। नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरुले भनिरहेका हुन्छन्, म फेरि फर्केर आउँछु । त्यसपछि उनीहरु साथी भाइहरु सहित पुनः नेपाल आएको पाइन्छ ।
नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरुले संसारका मानिसलाई आकर्षित गरेका छन । जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढिरहेको छ । नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका श्रृंखलाबद्ध हिमालहरु विभिन्न किसिमका झरनाहरु, पाखा, पखेरा, टाकुरा, हरिया जगल झाडी, यहाँ रहेका नागबेली नदीनालाहरु, यहाँका मानिसहरुमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, सांस्कृतिक विविधता, जातजाति, भेसभुषा कला संस्कृति आदि कुराहरुले पर्यटन क्षेत्रको विकासमा सम्भावनाहरु बढेको छ। प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विविधता एवम ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित छ । आज संसारमा रहेका १९५ देशमध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैँमा सानो तर प्राकृतिक रुपमा विशाल सुन्दर र शान्त देश हो । इसाई धर्मावलम्बीहरुको लागि इजरायलको जेरुसेलम, इस्लाम धर्मावलम्बीहरुको लागि साउदी अरेबियाको मक्का मदिना जस्तै विश्वमा बौद्ध मार्गीहरुका प्रेरणाका श्रोत महामानव बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध तीर्थस्थलको रुपमा विकास गरी लाखौँ धार्मिक पर्यटकहरु पनि भित्राउन सकिन्छ ।
अब नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ। निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले सहयोग गर्ने सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । पर्यटनको लागि पूर्वाधारको बिकास गर्दै जानु पर्दछ । पर्यटनको विकासले देशको अर्थतन्त्रमा सुधार आउन सक्दछ । यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । अहिले पर्यटनको बिकासको लागि ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ । पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।










