आगामी आवको बजेट : थप १० लाख पर्यटक भित्र्याइने

सरकारले आगामी वर्ष थप १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा थप १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । पर्यटनलाई आयआर्जन र समृद्धिको आधारका रूपमा लिएर विकास प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको बजेटमा नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र आर्थिक समृद्धिको आधारका रूपमा विकास गरिने भनिएको छ । नेपालको भौगोलिक विविधता र एकतालाई पृथक र नवीन पर्यटकीय थलोका रूपमा विकास गरी नयाँ पुस्तालाई नेपाल भ्रमणका लागि आकर्षण गरिने छ । लिम्बू, राई, गुरुङ, थारू, कुमाल, राजवंशीलगायत जनजातिको मुख्य थलो, सांस्कृतिक र इतिहाससँग जोडिएका सङ्ग्रहालय आदिलाई आकर्षक पर्यटकीय केन्द्रका रूपमा विकास गरिनेछ ।

सम्पदा पुनःनिर्माणमा रु दुई अर्ब

कोभिड महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्बद्ध व्यवसायलाई आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक इजाजत र नवीकरण दस्तुर छुट दिइएको छ । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःसंरचनाको काम आगामी आर्थिक वर्षभित्र सक्ने गरी रु दुई अर्ब बजेट विनियोजन गरिएको छ । पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षण गरिनाका साथै प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जन तथा साहसिक पर्यटनका लागि हिल स्टेशन निर्माण गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

स्थानीय तहको साझेदारितामा सञ्चालित पर्यटन पूर्वाधार विकासका लागि रु ९० करोड विनियोजन गरिएको छ । आरोहणका लागि खुला गरिएको हिमालको आधार शिविरसम्म पुग्ने पदमार्गको स्तरोन्नति गरिनाका साथै पदमार्गमा सञ्चार सुविधाको व्यवस्था गरिने बजेटमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेलको निर्माणका लागि रु ३३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा एक किराँत सङ्ग्रहालय स्थापना गर्नाका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई स्तरोन्नति गरी निजी क्षेत्रमार्फत दुई घण्टामा सगरमाथा पुगेर अवलोकन गर्नसक्ने वातावरण बनाइनेछ । नेपालको ऐतिहासिक शासकीय सङ्ग्रहालय स्थापना गरिनेछ । पर्यटन क्षेत्रका लागि रु नौ अर्ब ३८ करोड विनियोजन गरिएको छ ।

हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड विनियोजन

सरकारले आगामी आवको बजेटमा हवाई क्षेत्रको पूर्वाधार विकासका लागि रु १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको बजेटमा हवाई पूर्वाधार विकासलाई प्राथमिकता दिइएको हो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडि बनाइने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप नियन्त्रण गर्न दोस्रो टर्मिनल भवन निर्माण गर्न रु दुई अर्ब बजेट विनियोजन गरिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन गरिएको छ । हालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक बनाइने बजेटमा व्यवस्था गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker