दमौलीमा “स्लो बाइक रेस” प्रतियोगिता
भञ्ज्याङ समाचारदाता/दमौली

एलायन्स क्लव अफ तनहुँले शनिबार दमौलीमा ‘स्लो बाइक’ प्रतियोगिता गरेको छ । सवारी दुर्घटना न्यूनीकरण सचेतना जगाउने उद्देश्यले क्लवले उक्त प्रतियोगिता आयोजना गरेको हो ।
तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेतना प्रदान गर्ने उद्देश्यसहित आयोजित ढिला मोटरसाइकल चलाउने (स्लो रेस) प्रतियोगितामा रजित पौडेल प्रथम भएका छन् ।
व्यास नगरपालिका-३ अनसनचौतारीस्थित सडकमा आयोजना गरिएको प्रतियोगितामा २० मिटर दूरी एक मिनेट नौ सेकेण्डमा पूरा गर्दै पौडेल प्रथम भएका हुन् । उनले नगद रु १२ हजार पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै इश्वर श्रेष्ठले एक मिनेट चार सेकेण्डमा उक्त दूरी पूरा गरे । उनले नगद रु छ हजार प्राप्त गरेका छन् । आदेश श्रेष्ठले एक मिनेट दुइ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय भएका छन् । उनलाई नगद रु दुइ हजार पाँच सय रुपैयाँ प्राप्त गर्न सफल भएका छन् ।
तीव्र गतिमा सवारी साधन चलाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षित रुपमा सवारी चलाउनुपर्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष अजित पन्थले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको मात्रै जिम्मेवारी नभई समाजमा रहेका हरेक व्यक्तिको दायित्व भएको बताए ।









