आदिकवि भानुभक्त क्याम्पसमा जलवायु अध्ययन स्रोत केन्द्र स्थापना गरिने

दमौली : आदिकवि भानुभक्त क्याम्पस दमौलीको प्राज्ञिक समितिको बैठकले क्याम्पसमा जलवायु अध्ययन स्रोत केन्द्र (क्लाइमेट स्टडी रिसोर्स सेन्टर) स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले नवीन तथा सिर्जनात्मक प्रकृतिका कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेपछि क्याम्पसले जलवायु अध्ययन स्रोत केन्द्र स्थापनाको प्रस्ताव तयार गरी आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गर्ने निर्णय गरेको हो ।

क्याम्पसमा सम्पन्न प्राज्ञिक समितिको बैठकले समसामयिक शैक्षिक तथा प्रशासनिक विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको छ । निमित्त क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा यससँग सम्बन्धित शैक्षिक गतिविधिलाई संस्थागत गर्ने उद्देश्यले स्रोत केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले यसका लागि आवश्यक पूर्वाधार निर्माणसहितको प्रस्तावना तयार गरी गण्डकी प्रदेश सरकारसमक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकले दसैँ बिदा असोज २६ गते सोमबारदेखि कात्तिक ६ गते शुक्रबारसम्म दिने निर्णयसमेत गरेको छ। दसैँ बिदाअघि क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीबीच बडादसैँ, दीपावली, छठ तथा नेपाल संवत्लगायत सांस्कृतिक पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रम विगतमा झैँ प्राध्यापक संघ क्याम्पस इकाइको अगुवाइमा सञ्चालन गरिनेछ ।

बैठकले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीको कक्षा उपस्थितिको अवस्थालाई आधार बनाई कक्षा सेक्सन विभाजन तथा समायोजन गर्ने निर्णय गरेको छ । विद्यार्थीको उपस्थिति न्यून भएका कक्षामा प्रत्यक्ष पठनपाठन स्थगित गरी स्वाध्ययनमा प्रोत्साहित गर्ने निर्णय गरिएको हो ।

मानविकी संकायअन्तर्गत बीए प्रथम, द्वितीय र तृतीय वर्षमा विद्यार्थीको कक्षा उपस्थिति न्यून रहेकाले हाल सञ्चालन भइरहेका प्रत्यक्ष कक्षा स्थगित गर्ने निर्णय बैठकले गरेको छ । ती तहका विद्यार्थीलाई स्वाध्ययनमा जोड दिइनेछ ।

बीए चौथो वर्षमा भने केही विद्यार्थीको नियमित उपस्थिति रहेकाले उनीहरूको अनुरोधअनुसार भदौदेखि सञ्चालन हुँदै आएको प्रत्यक्ष कक्षा थप छ महिनाका लागि अर्थात् माघसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसैगरी बीबीएस दोस्रो वर्षको कक्षा पनि विद्यार्थीको आवश्यकता र उपस्थितिको अवस्था अनुसार व्यवस्थापन गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले विद्यार्थीका लागि कात्तिक महिनाको तेस्रो सातामा शैक्षिक अध्ययन तथा अवलोकन भ्रमण आयोजना गर्ने निर्णयसमेत गरेको छ । अध्ययन भ्रमणमार्फत विद्यार्थीलाई पाठ्यक्रममा आधारित विषयसँगै व्यवहारिक तथा स्थलगत ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ ।

बैठकमा सहायक क्याम्पस प्रमुखद्वय विश्वेश्वर तिमल्सेना र विमल गिरी, नेपाली विभाग प्रमुख डा. सुशीलप्रसाद वाग्ले, व्यवस्थापन विभाग प्रमुख जनक काफ्ले, शिक्षा विभाग प्रमुख गजेन्द्र पौडेल, विज्ञान विभाग प्रमुख सागर न्यौपाने, बीबीए कार्यक्रम प्रमुख चिजकुमार श्रेष्ठ, बीआईसीटीई कार्यक्रम प्रमुख इञ्जिनियर घनबहादुर थापा, विद्यार्थी गुनासो परामर्श तथा प्रतिस्थापन समिति संयोजक विमल खत्री, अतिरिक्त क्रियाकलाप समिति संयोजक तिलबहादुर थापा, आदिकवि भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप पोख्रेल, सहायक प्रधानाध्यापक तीर्थराज रानाभाट, शहीद चन्द्र छात्रावास प्रमुख मिना श्रेष्ठ, प्रशासकीय प्रमुख वसन्ती थापा आले मगर र ईएमआईएस अफिसर गौरव पन्थलगायतको उपस्थिति रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker