बन्दिपुरको याम्पाफाँटमा चितुवा आतंक बढ्न थाल्यो
डिपी अधिकारी

तनहुँको बन्दिपुर क्षेत्रमा चितुवा आतंक बढ्न थालेको छ । यस क्षेत्रमा चितुवाको संख्या बढेसंगै यत्रतत्र चितुवा देखिन थालेपछि स्थानीय आतंकित हुन थालेका छन् । बुधबार राती याम्पाफाँटको कुमलटारीमा स्थानीय सीता भट्टर्राईको करिव साँढे २ वर्षको गाईको बाच्छी माथि आक्रमण गरी मारेपछि अहिले स्थानीय बासिन्दा त्रसित छन् ।
‘रातको करिब १२/१ बजेको समयमा कुकुर भुक्दै भाग्यो केही आयो कि झैं लागे पनि ३/४ दिन देखि यहि क्षेत्रमा चितुवा हिंडिरहेको थाहा पाएकाले बाहिर निस्कन सकिन’, उनले भनिन्, ‘बाली जाने बेला भएको बाच्छीलाई चितुवाले मारेछ ।’
एक लाख मूल्य पर्ने उन्नत गाई चितुवाले मार्यो । वन्यजन्तुले घरपालुवा जनवारलाई क्षति पुर्याएमा वन कार्यालयले ३० हजार रुपैयाँसम्म राहत दिने सुनेको छु तर, चितुवाले ठूलो नोक्सानी पुर्याएदिएको उनि बताउँछन् । घरमै आएर चितुवाले करिब ४ फिट अग्लो गाईलाई समेत आक्रमण गरि मार्न थाल्यो, यसले मानिसलाई त के बाँकी राख्ला र भन्दै स्थानीय त्रसित बन्न थालेका छन् ।
यस्तै, चितुवासंग सतर्कता अपनाउन डिभिजन बन कार्यालय तनहुँले अपिल गरेको छ । बन्दिपुर गाउँपालिकाको वडा नं. १, ४ र ५ लगायतका क्षेत्रमा चितुवा देखा पर्ने गरेकाले स्थानीयलाई सुरक्षित र सावधानी अपनाउन आग्रह गरिएको सब डिभिजन कार्यालय बिमलनगरका प्रमुख सुरेश भुजेलले बताए ।
बन क्षेत्रमा झाडी बढ्दै गएकोले चितुवाको बासस्थान पनि बढ्दै गएको छ । अहिलेको समय प्रजनन्को समय भएकाले पनि मानिस र अन्य जीव जनावर माथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहन भनिएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
यस्तै, केही चितुवा बच्चा जन्माई आहाराको खोजीमा हिँड्ने समेत भएकाले यो समयमा चितुवासँग सतर्क रहनु पर्ने प्रमुख काफ्लेले बताए । चितुवाको आहारा प्रजाती मानिसले चोरी सिकार गरिदिदा चितुवा मानिसको बस्तीमा आहाराको खोजिमा आउने गरेकाले बन्यजन्तुको चोरी सिकार गर्नेलाई कारवाहीको दायारमा ल्याउन सहयोग गर्न कार्यालयले स्थानीयसंग आग्रह गरेको छ ।
चितुवाबाट जोगिन साँझ र बिहानको झिस्मिसेमा घर बाहिर एक्लै नहिँड्ने, घर वरपर झाडी नराख्ने साथै चारै तर्फउज्यालो बनाई राख्ने, बनमा घाँस-दाउरा गर्न जाँदा समुहमा जाने, बालबालिकालाई एक्लै हिड्डुल गर्न नदिने, घर पालुवा जनवारलाई बनाईएको खोर गोठ बलियो बनाउन आग्रह गरिएको छ ।










