बन्दुक प्रहार गरी श्रीमतीको हत्या, श्रीमान प्रहरीको हिरासतमा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास-५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आले मगरले ३७ वर्षीया गीता आले मगरको हत्या गरेका हुन् ।
मंगलबार राति करिब ११ बजे को समयमा श्रीप्रसादले घरयासी विवादका कारण गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी गराए ।
बन्दुक प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् विरुद्ध तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ । मानुङकोट स्थित स्वामिचौतारा बस्ने श्रीप्रसाद आले विरुद्ध बुधबार तनहुँ अदालतबाट चार दिनको म्याद थप भएको हो ।
घटनामा संलग्न आलेलाई मंगलबार राती नै भरुवा बन्दुक सहित नियन्त्रणमा लिई निज उपर कर्तव्य ज्यान मुद्दा शीर्षकमा अदालतबाट म्याद थप गरिएको प्रहरी नायब उपरिक्षक खाँणले बताए ।










