तनहुँमा पुल उद्घाटन विषयमा विवाद, कांग्रेस वरिष्ठ नेता प्रहरी नियन्त्रणमा, कार्यक्रम स्थलमा निषेधाज्ञा, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्याँस प्रहार
भञ्ज्याङ समाचारदाता, दमौली
पुल उद्घाटनका विषयमा विवाद हुँदा तनहुँको दमौली क्षेत्र दिनभर तनावग्रस्त बन्यो । तनहुँको व्यास नगरपालिका-१ को तालघारे र वडा नं. १० र ११ लाई जोड्ने बुल्दी खोला माथीको पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियान्त्रणमा लिएको छ ।
पौडेलसंगै कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेसहित झण्डै दर्जन कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुल उद्घाटन कार्यक्रम विवादमा परेको र नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल तनहुँले कार्यक्रम रोक्न विरोध प्रदर्शन गरेपछि हुन सक्ने झडपको स्थितिलाई ख्याल गर्दै जिल्ला प्रशासनले उद्घटन कार्यक्रम स्थगित गर्न आग्रह गर्दै निषेधाज्ञा समेत जारी गरेको थियो ।
प्रशासनको निषेधाज्ञालाई समेत अटेर गरी कांग्रेस वरिष्ठ नेता पौडेल दलबलका साथ पुल उद्घाटनका लागि गएका थिए । नेकपा निकट युवाहरुको विरोध र सम्भावित झड्पलाई ख्याल गर्दै प्रशासनले कार्यक्रम स्थलमा उच्च सुरक्षा व्यवस्था मिलाएको थियो ।

प्रहरीले रोक्दा रोक्दै पनि पुल उद्घाटन स्थल नजिकै पुगेका पौडेललाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको हो ।
यता, नेकपा निकट युवाहरुले भने व्यास नगरपालिकाले एक्लौटी हिसाबमा अगाडि बढ्दै कार्यक्रम गरेको र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै विरोधमा उत्रिएका थिए । बुल्दी खोला पुलमा कोणसभा गरी राष्ट्रिय युवा संघ नेपाल तनहुँका अध्यक्ष इश्वर बस्यालले जसको जोत उसैको पोत हुनुपर्ने बताएका थिए ।
पुल उद्घाटन कार्यक्रम रोक्न मग गर्दै मोटरसाइकल सहितको दमौलीमा विरोध र्याली पर््रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा पुगेका राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष इश्वर बस्याल, नेकपा व्यास नगरपालिका वडा नम्बर १ का अध्यक्ष ज्ञानेन्द्र बसौला सहित ५ जना नेकपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
व्यास नगरपालिकाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार १ बजे पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल तनहुँ विरोधमा उत्रिएको थियो ।

पुल उद्घाटन कार्यक्रमका कारण स्थिति असामान्य बन्दै गएको र झडपको स्थिति आएपछि तनहुँ प्रशासनले व्यास १, १० र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन कार्यक्रम स्थगन गर्न अनुरोध गरेको थियो । यस्तै, प्रशासनले बुधबार अपरान्हृ १२ देखि साँझ ६ बजेसम्मका लागि कार्यक्रम स्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।










