नवौं तनहुँ महोत्सव : किसान र कृषि उपजलाई प्राथमिकता

दमौली : तनहुँको दमौलीमा यही पुस २५ गतेबाट नवौं तनहुँ महोत्सव सञ्चालन गरिदै छ । महोत्सवको तयारीमा जुटेको आयोजक तनहुँ उद्योग वाणिज्य संघले महोत्सवमा किसान र कृषि उपजलाई प्राथमिकता दिने भएको छ ।
लागत मूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक बैकुण्ठनाथ मिश्रले बताए ।
‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषि, पर्यटन तथा प्रविधिलाई प्राथमिकता दिईएको उनले बताए ।
‘किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जमिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्ने विकल्पको खोजीमा महोत्सवले एउटा आधार तयार गर्नेछ’, उनले भने, ‘बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महङ्गो मूल्यमा किनु पर्ने बाध्य छ । उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्देश्य महोत्सवको रहेको छ ।’
कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने भएको छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गर्ने आयोजकले जनाएको छ ।
यस्तै, महोत्सवमा व्यवस्था गरिएका ९० प्रतिशत स्टल बुकिङ भएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । किसानलाई निःशुल्क स्टलको व्यवस्था गरिएको र पालिकालाई पत्रचार गरेर निःशुल्क ढुवानीको व्यवस्था गर्न पहल भइरहेको उनले बताए । महोत्सवमा दुई सय वटा स्टलहरु रहने र १९० वटा बुकिङ भईसकेको आयोजकले जनाएको छ ।
तनहुँ उद्योग वाणिज्य संघसँग आबद्ध व्यवसायीको लागि स्टलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको स्टल व्यवस्थापन समितिका संयोजक तथा दमौली बजार इकाईका सभापति शुकनारायण श्रेष्ठले बताए । महोत्सव सफल बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको प्रयोजन समितिको संयोजक ईमकुमार मल्लले बताए ।










