तनहुँको दुलेगौंडा स्थित पुल्चोकमा जमिन भासियो, ५ घर पूर्ण क्षति
भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडाको पुल्चोकमा जमिन भासिएको छ । जमिन भासिएर ५ घर पूर्ण रुपमा क्षति भएको छ । पुलचोक सेती नदी किनारको बस्ती भएको वडाध्यक्ष राजु वाग्ललेले बताए । उनले भने, ‘जमिन ८-१० मिटर नै फाटेर दबेको छ । दबेको ठाउँमा नदीको पानी बगेको देखिन्छ ।’
वर्षा नभएको बेलामा पनि जमिन भासिएपछि पुल्चोकका झण्डै २ दर्जन घर जोखिममा परेका छन् । बस्ती भासिएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए ।
बस्ती भासिएपछि सेती नदी वारपार गर्ने झोलुङ्गे पुल बन्द गरिएको छ । मोटरेबल पुलसमेत जोखिममा पर्न सक्ने खतरा बढेको वडाध्यक्ष वाग्लले बताए ।
उनले भने, ‘चट्टान रहेछ भने त पुललाई असर नगर्ला । अहिले भासिएको ठाउँमा जस्तै माटो रहेछ भने त पुल पनि जोखिममा पर्ने खतरा बढेको छ ।’