प्रतिनिसभा सदस्य निर्वाचन : एमाले उम्मेदवार न्यौपाने मतदाताको घरदैलोमा

तनहुँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरु मतदाताको घरदैलोमा व्यस्थ भएका छन् । आ–आफ्ना चुनावी एजेण्ड, प्रतिवद्धता लिएर मतदातालाई रिजाउन थालेका छन् ।
नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार भगवती न्यौपाने पनि चुनावी प्रचार अभियानलाई तीव्र बनाउँदै मतदाताको घरदैलोमा पुगिरहेकी छन् । उनि विभिन्न स्थानमा घरदैलो कार्यक्रम र कोणसभा सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् ।
बन्दीपुर गाउँपालिका–१ का विभिन्न स्थानमा पुगेकी न्यौपानेलाई उल्लेख्य संख्यामा महिलाहरूले साथ दिएका थिए । सहभागी महिलाहरूले यस पटक तनहुँ–१ मा महिला उम्मेदवार भएकाले महिलाहरूले नै साथ दिनुपर्ने धारणा राखेका थिए। महिला उम्मेदवारलाई विजयी गराएर इतिहास रच्ने बन्दीपुरका महिलाहरूले प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेकपा एमाले बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष अमिर गुरुङले महिलाहरूको उल्लेख्य सहभागिताले यस पटक नेकपा एमालेको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे । शनिबार व्यास नगरपालिका–७, ८, ९ र १० का विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा पनि महिलाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। घरदैलो अभियान र चुनावी सभामा महिलाहरूको सक्रिय उपस्थितिले अभियान थप उत्साहजनक बनेको बताइएको छ ।
उम्मेदवार न्यौपानेले मतदातासँगको भेटघाटमा महिला सशक्तीकरण र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन । महिला तथा पुरुष दुवैलाई समान अवसर, सम्मान र सहभागिता सुनिश्चित गर्ने गरी कार्यक्रम अघि बढाइने उनले बताइन् ।
महिलाको आर्थिक सशक्तीकरणका लागि सहकारी, उद्यमशीलता र सीप विकास कार्यक्रम सञ्चालन गर्ने, हिंसा पीडित, एकल तथा विपन्न महिलाका लागि सुरक्षा र पुनःस्थापना कार्यक्रम ल्याउने न्यौपानेले बताइन् । नीति तथा निर्णय तहमा महिलाको अर्थपूर्ण सहभागिता बढाउने र दलित, जनजाति, अपाङ्गता भएका नागरिक तथा पिछडिएका समुदायको समावेशी पहुँच सुनिश्चित गर्ने जनाइन् ।
रोजगारीका क्षेत्रमा महिलाको सहभागिता वृद्धि, बालबालिकाको विशेष संरक्षण, लैङ्गिक समानता तथा सामाजिक न्याय प्रवर्द्धन र नेतृत्व क्षमता विकासलाई प्राथमिकता दिइने न्यौपानेको प्रतिबद्धता छ । साथै स्थानीय तहमा महिला उद्यम, स्वरोजगार तथा वित्तीय पहुँच विस्तार गर्न पहल गरिने उनले बताइन् ।
महिला आधा आकाश मात्र नभई सिर्जना र सृष्टिको आधार भएको उल्लेख गर्दै न्यौपानेले यस पटक महिला उम्मेदवारलाई विजयी गराएर नयाँ इतिहास रच्ने महिलाहरूको चाहना रहेको बताइन् । विगतमा ठूला दलहरूले महिला उम्मेदवार नबनाउँदा मतदातामा निराशा रहेको अवस्थामा आफू उम्मेदवार बनेपछि महिला मतदातामा उत्साह थपिएको उनको भनाइ थियो ।
“अबको जित हाम्रो हो, जनताको सम्मान र हाम्रो भविष्यको जित हो”, न्यौपानेले भनिन् “जनताको सम्मान र भविष्यका लागि सूर्य चिन्हमा मतदान गरी मलाई विजयी गराउनुहोस् ।”










