पर्यटन चरा हो ! काफल पाक्यो …..

के.बि. मसाल

कतिपयलाई अचम्म लाग्न सक्छ । चरा पनि पर्यटक हुन्छ भन्ने कुराले । प्रकृतिमा भएका जगंली जनावर मात्र होइन धेरै चराहरु पनि पर्यटक बनेर संसारमा घुमफिर गर्दछन्। आबाशमा उडदा चरालाई कसैले रोक्दैन । बन्द हडताल र यस्तै अन्य कारणले पनि पर्यटक चराहरुलाई कतै रोकतोक हुदैन। कतिपय चराहरु घुमफिरकै क्रममा बिचरन गर्दछन् । बच्चा जन्माउछन र आफ्नो बासस्थान तिर फर्कन्छन ।
विश्वमा ११ हजार ३२ प्रजातिका चरा पाइन्छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा ८८८ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पर्यटक चरा हुन् । खासगरी उत्तरीध्रुवमा हिमपातको सुरुआतसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा बर्सेनि करिब १५० प्रजातिका पर्यटक चरा उत्तरी देश रुस, किर्किस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्दछन्। पर्यटक चराका करिब ५० प्रजाति त बाई पास नेपाल हुँदै भारत, पाकिस्तान, श्रृलङ्का तिर जाने गर्छन् । बार हेडेड गुजर अर्थात खोया हाँस नामक चराले त सर्वोच्च शिखर सगरमाको घुमफिर गर्दछ ।
पर्यटक चराचुरुंगीको आगमनले नेपालमा घुमफिर गर्ने पर्यटकहरुलाई रमाइलो हुन्छ । वन जगंलमा कतिपय चरा ओथारो बसिसके हुन्छन भने कति पोथी चराहरु भालेलाई आकर्षित गर्न नाचिरहेका हुन्छन । कतिपयले गुँड बनाउने चुच्चो तिखारी बास बस्नको लागि गुँड बनाउने तयारी गरिरहेका हुन्छन । बिशेष गरी पदमार्गमा देखिने यस्ता दृष्यलाई पर्यटकहरुले रुचिपूर्ण अवलोकन गर्ने गर्दछन् । काफल पाक्यो चरा आगन्तुक अर्थात पर्यटक चरा हो । काफल पाक्यो, काफल पाक्यो भन्दै सुरिलो ध्वनि प्रवाहित गर्ने चरा वसन्त ऋतुमा नेपाल भित्रिने पर्यटक चरा हो । काफल पाक्यो मात्रै होइन, कोहो कोहो भन्ने अर्को प्रजातिको पर्यटक चरा पनि चैत–वैशाखमा नेपाल भित्रिन्छ । करिब ६ महिना यतै विचरण गर्छन्, अण्डा कोरल्छन्, बच्चा हुर्काउँछन् र आफ्नै स्थायी बासस्थान फर्कन्छन् । काफल पाक्यो चराले चीनमा मेदेखि जुलाईसम्म, नेपाल र भारतमा मार्चदेखि अगस्तसम्म, बर्मामा जनवरीदेखि जुनसम्म र मलेसियामा जनवरीदेखि अगस्तसम्म बच्चा कोरल्छ ।
काफल पाक्यो चराले कोइलीले जस्तै अरु चराका गुँड, खास गरी भ्याकुरको गुँडमा अण्डा पार्दछ र कोरलेपछि भ्याकुरले आफ्ना र काफल पाक्यो चराको चल्लामा कुनै भेदभाव नगरी हुर्काउछ। यस्ता कुरा पर्यटकहरुले रुचि पुर्वक अध्यन गर्दछन् । पहाडका जंगलहरुमा काफल पाक्यो चराले काफल पाक्यो ! काफल पाक्यो भन्दै कराएको सुनिन्छ । जुन समयमा काफल पाकेकै पनि हुन्छ । काफल पाकेपछि बनजंगल हराभरा हुन्छ । चराचुरुङ्गी रमाउँछन् । उनीहरुले चारोको लागि अन्यत्र जानुपर्दैन । तर काफल पाक्यो चराको आवाजको अर्थ भने फरक छ । मानिसले काफल पाक्यो भनेर सुन्ने आवाज काफल पाक्यो चराको पोथीले भालेलाई आकर्षित गर्नका लागि निकालेको आवाज हो । अर्थात भालेलाई बोलाएको हो । यही आवाजबाट भाले आकर्षित हुन्छ र सन्तान वृद्धि हुन्छ । यो आवाजबाट उसले आफ्नो क्षेत्र निर्धारण गरेको सन्देश अरु प्रजातिका चरालाई दिने पनि गर्दछ ।
कतिपय गाउँमा पर्यटकहरुका लागि पदमार्ग समेत निर्माण गरेका छन् । वन जगलको बाटोमा चराको चिरविर चिरविर आवाज पर्यटकहरुलाई गित संगीत जस्तै लाग्छ। वन जगंलमा चराले आफ्नै भाषामा साथी संगीसंग कुरा गरेको दोहोरो आवाज सुन्दा पर्यटकहरु रमाउछन् । चराले काफल पाक्यो, काफल पाक्यो भन्दा निकै आनन्द मान्दै कतिपय पर्यटकहरु चराले काफल पाक्यो भन्दा चरासंगै स्वरमा स्वर मिलाएर काफल पाक्यो भन्दै रमाउँछन् । तर आजभोली कोइलीसहित वसन्त ऋतुमा नेपाल भित्रिने अन्य पर्यटक चराको संख्या पातलिन थालेको छ । गर्मीयाममा तराई, मध्यपहाडी क्षेत्र र उपत्यकाजस्ता भू–भागमा बाक्लै देखिने र सुनिने कोइलीको आवाज अहिले धेरै घटेको छ ।
जलवायु परिवर्तनको असर, खेतबारीमा बढदो विषादीको प्रयोग, चराका बासस्थान आसपासमा भइरहेको पूर्वाधार विकास र अन्य मानवीय गतिविधिले कोइली र अन्य पर्यटक चराहरु जोखिममा पर्न थालेका छन् । काफल पाक्यो चरालाई साहित्यकार स्रष्टाहरुले पनि प्रयोग गर्दछन् । काफल पाक्यो चरालाई अर्थात शब्दलाई नेपाली कविता, आख्यान र उखानमा समेत बिम्बका रुपमा प्रयोग भएको पाइन्छ । प्रजातन्त्रको काफल पाक्योदेखि काफल गेडी कुटुक्क लगायत धेरै गीतमा काफल र चरी प्रयोग भएका छन् । यही नामको एउटा फिल्मसमेत बनेको छ । नेपाल र भारतमा काफल पाक्यो चरीमा आधारित धेरै लोककथा लेखिएका छन् ।
पर्यटक चराको यात्रा मौसमअनुसार फरक फरक हुन्छ । हिउँदेयाममा नेपाल आउने पर्यटक चराको सबैभन्दा लामो दूरीको यात्रा गर्दछन् । ग्रीष्मयाममा नेपाल आउने पर्यटक चराको तुलनात्मकरुपमा कम दूरीको यात्रा हुन्छ । हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका पर्यटक हाँस प्रजातिका चरा बढी देखिन्छन् । चराकोे हिउँदेयामको यात्रा असोजदेखि माघसम्म हुने गर्दछ । हिउँदको समयमा आउने पर्यटक चराहरु अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र र कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा आफ्नो गन्तब्य बनाउछन । आजभोली खासगरी सिमसार क्षेत्रको विनाश, चराहरु को उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढदो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले जलपंक्षी विस्थापित हुँदै गएका छन् ।
पर्यटक चराहरुले पर्यटन ब्यवसायीहरुलाई प्रत्यक्ष रुपमा आर्थीक फाइदा नदिए पनि चराको महत्व मानिसको जीवनसंग जोडिएको हुन्छ । चराहरुले बालीनालीमा लाग्ने किरा खाएर बालीनाली संरक्षणमा चराको महत्वपूर्ण भूमीका रहन्छ। यस्तै चराले वातावरण स्वच्छ राख्न पनि उतिकै भूमीका खेलेका हुन्छन् । प्रकृतिका कुचिकार गिद्धले मरेका जनावरको सिनो खाएर वातावरण स्वच्छ बनाएर हैजा, रेविज जस्ता रोग फैलन रोक्दछ । लाटोकोसेरोले मुसा खाएर बाली नोक्सान गर्नबाट रोक्दछ । यसरी बिभिन्न प्रजातिका चराले वातावरण संरक्षणमा मात्र होइन मानव जीवनलाई स्वस्थ्य रहन महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । चरा विज्ञहरुका अनुसार नेपालमा विश्वको करिब नौ प्रतिशत अर्थात ८८७ प्रजातिका चरा पाइन्छन् । ती चरा हेर्नै भनेर विदेशी पर्यटकहरु नेपाल आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने ४२ प्रजातिका चराहरु नेपालमा पाइन्छन् ।
चराहरु उडने भएकाले अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने–जाने गर्दछन् । जाडो सकिँदै गर्दा हिउँदे आगन्तुक चराहरु आ–आफ्नो देश अर्थात बासस्थानमा फर्कन्छन् । दक्षिणी मुलुकहरु र अफ्रिकाबाट हजारौ ग्रिष्मकालिन आगन्तुक पर्यटक चराहरु बच्चा कोरल्न नेपाल आउछन् । यसरी आउने पर्यटक चराहरु असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब साठी प्रजातिका चराहरुको अधिकांस हिस्सा कोइली प्रजातीको हुन्छ। नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातीले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दछन् । चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई पनि हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि पर्दछन् । ग्रीष्मकालीन आगन्तुक पर्यटक चराहरुको मुख्य बासस्थान भने बन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमीमा हुन्छ ।
पर्यटक चराहरु बिच–बिचमा बास बस्दै र केही सिधै उडेर हजारौं किलोमिटरको यात्रा र अनेकौ जोखिमहरु पार गर्दै नेपाल आउने गर्दछन् । गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि पर्यटक चराहरु सूर्य तथा अन्य ताराहरु, नदी, भौगोलिक श्रृखला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्दछन्। यसरी चराहरुले बसाइँसराइँको बेला प्रयोग गर्ने बाटोलाई फ्लाई वे भनिन्छ । बसाइँ सरी आउने पर्यटक चराहरुमध्ये केही बिशेष प्रजातिका चराहरु छन् । नेपालमा आउने पर्यटक चराहरु खासगरी बासस्थान संकुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढदो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, अवैध चरा शिकार तथा व्यापार, बदलिदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरुले संकटमा पर्दै छन् ।
नेपालमा चरा हेर्न बेलायती, अमेरिकी, जर्मनीलगायत युरोप र अमेरिकाका पर्यटक बढी आउने गरे पनि पछिल्लो समय एसियाली देश मलेसिया, थाइल्यान्ड, सिंगापुर, चीनलगायत देशका पर्यटक पनि आउने गरेका छन् । नेपालमा घुमफिर गर्न आउने कतिपय पर्यटकको उद्देश्य चरा अवलोकन गर्ने हुन्छ । चरा अवलोकन गर्ने पर्यटक निकै खर्चालु र लामो समय बस्ने पर्यटकमा पर्दछन् । एउटा पर्यटकले आफुले हेर्न र क्यामरामा कैद गर्न खोजेको चरा, जंगली जनावर नदेखेसम्म बस्ने मन गर्दछन् । चाहे जति पैसा खर्च गरेर भए पनि त्यो पूरा गर्ने भएकाले यस्ता पर्यटकबाट राम्रो आम्दानी पर्यटन ब्यवसायीहरुले लिन सक्दछन् । नेपालको राष्ट्रिय चरो डाँफे हो । हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरु काँडे भ्याकुर, कोकलसारा, काठ फोरुवा, लामपुच्छ«े चरा, बकुल्ला, लाटोकोसेरो, मैनाचरी, काग, कोइली, चील, परेवा, बाज, चिबे, तित्रा, कोकले, च्याखुरा, प्याउँरा, मयुर, सारस, कालिज, गिद्ध, डाँफे, फिस्टो, मुनाल, सुगा, कुखुरा, चमेरो, ढुकुर, बट्टाइ, हाँस र हलेसो हुन् । काँडे भ्याकुर नेपालको पहाडी भेग र नेपालमा मात्र पाइने चरा हो ।
बर्डलाइफ इन्टरनेशनलका अनुसार नेपालको ३३ प्रजातिका चराहरु आई.यू.सी.एन. रेडलिस्टमा सूचीकृत भएका छन् । जसलाई विश्वमा नै दुर्लभ भनिन्छ ।  शान्तिको प्रतीक मानिने परेवा, प्रकृतिका नर्तक–नर्तकी मयुर, मांसाहारी बाघको सूचना दिने सारस, चोरचकारहरुको समेत सूचकका रुपमा लिइने सुगा, प्रकृतिका कूचीकार गिद्ध, ठाउँ सरी बस भन्दै सूचनावाहकका रुपमा लिइने काग, झिसमिसे बिहानीको सूचक कुखुरो, राष्ट्रिय चरो डाँफेलगायतका चराहरुले गर्दा नेपाल पर्यटकहरुका लागि विश्वमा नै चरा अवलोकन गर्न लागि गन्तव्यको रुपमा चिनिन्छ ।
चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियानबाट हुन सक्दैन । बसाइँ–सराइँ गर्ने पर्यटक चराहरु एक देशबाट अर्को देशमा पनि जाने–आउने गर्ने हुँदा संरक्षणका लागि अन्तरदेशीय सहकार्य हुनु पर्दछ। चराहरुको दीर्घकालिन संरक्षण गर्न स्थानीय समुदाय, राजनैतिक शक्ति, सरकारी, गैरसरकारी र निजी क्षेत्रको समन्व्यात्मक क्रियाशिलता, एकीकृत सोंच, अवधारणा र कार्यक्रमहरुबाट सम्भव हुन्छ । नेपालमा पर्यटनको बिकास गर्न चराका लागि महत्वपूर्ण बासस्थानको नियमित अध्ययन, तथ्याङ्क अध्यावधिक तथा क्षेत्र विस्तार सम्भावित नयाँ क्षेत्रको पहिचान एवं विस्तृत अध्ययन अनुसन्धान र संरक्षणमुखी क्रियाकलापको खाँचो छ। आगन्तुक पर्यटक चराहरु हाम्रा पाहुना हुन्। पाहुनाको संरक्षण गर्नु र जैविक सन्तुलन कायम गर्नु हाम्रो कर्तव्य हो। यस तर्फ सबैको ध्यान जान पर्दछ ।
चराहरुको अस्तित्व, संरक्षण र संवद्र्धनका लागि सबै पक्षबाट चरामैत्री वातावरणको सिर्जना आजको खाँचो हो । जसमध्ये एउटा वातावरण अन्तर्गत सीता, अशोक, ब्याम्बो गाज आदि रुखका बिरुवा लगाउन पर्दछ । यी रुखमा रेडबर्ड, सुगा, लामपुच्र्छे र काठफोरुवा, मलवा, पानी हाँस लगायतका चरा जोडीसहित वास बस्न आउँछन् । चेरी बोट प्रायः सबै चराले मन पराउने रुख हो। यस कारण मौसम तथा वातावरणका आधारमा आउने पर्यटक चराले मन पराउने तथा गुँड बनाउने खालका रुखबिरुवा, घाँसे मैदान, झाँडी, बुटयान आदिको पहिचान गरी वृक्षरोपण गरिनु पर्दछ । यसबाट चराको वासस्थानमा वृद्धि हुन्छ । चरा अवलोकन गर्ने पर्यटकहरु को सख्या बढछ । जसले गर्दा चरा अवलोकन पथप्रदर्शकको रोजगारीमा वृद्धि तथा पर्यटन क्षेत्र नै थप आयमूलक बन्न सक्दछ ।
नेपालका चराबारे धेरै पुस्तक लेखिएका छन । तर अहिलेसम्म चरालाई पर्यटनसँग जोडने किसिमका पुस्तकहरु लेखिएका छैनन भन्दा पनि हुन्छ । चरा अवलोकन क्षेत्रलाई टुरिष्ट फिल्ड गाइडमा जोडन पर्दछ । नेपालमा पाइने चराहरु कहाँ छन ? तिनीहरु अवलोकन गर्न कुन मौसममा कसरी जाने ? त्यहाँसम्म कसरी पुग्ने, दूरी कति छ ? अवलोकन गर्न समय र खर्च कति लाग्छ ? बास बस्ने ठाउँ कस्ता छन? चरा अवलोकनका निम्ति गाइडहरुसँग कसरी सम्पर्क गर्ने भन्ने जानकारी समेटिएको चरा सम्बन्धी पुस्तक लेख्न पर्दछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker