ऋषिङ गाउँपालिकाका आठवटै वडाका आफ्नै भवन

तनहुँको ऋषिङ गाउँपालिकाअन्तर्गत रहेका आठ वटा वडाका आफ्नै भवन निर्माण भएको छ । ऋषिङ–१ को झापुटारमा वडा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएसँगै गाउँपालिकाका सबै वडा भाडामुक्त भएका हुन् ।
दुई ढलानको वडा कार्यालय भवन रू ९१ लाखको लागतमा निर्माण सम्पन्न गरेको हो । सोही वडामा एक हजार जना क्षमताको सभाहल रू एक करोड ५१ लाखमा निर्माण गरिएको छ ।
उक्त दुवै भवनको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । भवन निर्माणको जिम्मा बिपी कन्ट्रक्सन र हरि शान्ति कन्ट्रक्सनले पाएको थियो । एक हजार जना क्षमताको हलको लागि रू १० लाख बराबरको फर्निचर सामग्री वडा कार्यलयले प्रदान गरेको वडाध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका विकास निर्माण कार्यलाई प्राथामिकता दिएर काम गर्दै आएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।
त्यसैगरी एकादुई बाहेक सबै आधारभूत स्वास्थ्य चौकीका आफ्नै भवन निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।










