भानुको वार्षिक समीक्षा : विषयगत शाखाको प्रस्तुति, शिक्षा क्षेत्रको विकासमा जनप्रतिनिधिको चाँसो

भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को वाषिर्क समीक्षा गरिएको छ । नगरपालिकाले सम्पादन गरेका कार्य प्रगति र आगामी दिनमा गरिने कार्यहरुको विषयगत शाखाका प्रमुखहरुले सहजिकरण गरेका थिए ।

नगरपालिकाका विषयगत शाखाले गरेका कार्यहरु, यसबाट भएका उपलब्धी, आगामी दिनमा गरिने कार्यहरु, आईपरेका समस्या र चुनौतीका विषयमा छलफल गरिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

समीक्षा कार्यक्रममा शाखा प्रमुखहरूले आ-आफ्नो शाखाबाट गत आव २०७९/०८० मा सम्पादित कार्यक्रम, कुल बजेट, खर्च, वित्तीय प्रगति, असल अभ्यासहरू, समस्या र चुनौतीहरू र आगामी कार्यदिशाका विषयमा प्रस्तुति दिएका थिए ।

नगर शिक्षा अधिकारी ध्रुबराज पौडेलले शिक्षा, युवा तथा खेलकुद शाखाबाट गत आवमा सम्पन्न कार्यक्रमहरू, समग्रमा प्रगति, शिक्षा क्षेत्रका असल अभ्यासहरू, समस्या र चुनौती तथा आगामी कार्यदिशाका विषयमा जानकारी गराएका थिए ।

यस्तै, कार्यक्रममा सहभागि जनप्रतिनिधिहरूले न्यून विद्यार्थी भएका विद्यालयलाई मर्जिङ्/डाउनसाइजिङ गरी उपलब्ध जनशक्तिको सहि सदुपयोग गरिनुपर्ने, भौतिक निर्माणका कार्यहरू, सेनिटरी प्याड लगायतका टेन्डर प्रक्रियाबाट गर्नुपर्ने कामहरू समयमा नै सम्पन्न गर्नुपर्ने सुझाएका थिए ।

शिक्षा क्षेत्रको विकासका लागि पुराना शिक्षकहरू जो आधुनिक सूचना प्रविधिको प्रयोग र शिक्षण विधिमा अपडेट हुन सक्नुभएको छैन, उहाँहरूलाई कि त क्षमता विकास गराउनु पर्‍यो, कि त अवकाशको कुनै प्याकेज ल्याएर उपयुक्त निकास निकाल्नु पर्ने सुझाव सहभागिहरुले दिएको शिक्षा अधिकारी पौडेलले बताए ।

नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई कम खर्चिलो बनाउन शुरूमा क्षेत्रगत प्रतिस्पर्धा गराइ छनोट भएका खेलाडीलाई मात्र नगरस्तरीय प्रतिस्पर्धामा सहभागी गराउनुपर्ने, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा अन्य पदाधिकारीहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भनी नगर कार्यपालिकाले गरेको निर्णयलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिइएको छ ।

यस्तै, विद्यालय सुपरिवेक्षण, कक्षा अवलोकन तथा पृष्ठपोषण दिने कार्यक्रमलाई सघन रूपमा बढाउनु पर्ने, प्राविधिक शिक्षा छात्रवृत्ति बर्सेनि उपलब्ध गराउनुपर्ने, विद्यालयको पठनपाठनमा असर नगरोस भन्ने अभि प्रा यले प्रधानाध्यापक बैठक मासिक रूपमा नबसी त्रैमासिक रूपमा मात्र बस्दा राम्रो हुने, आवश्यक परेमा जुम मिटिङ गर्ने, इ-हाजिरी प्रणालीलाई सबै विद्यालयमा विस्तार गर्नुपर्ने लगायतका सुझावहरु प्राप्त भएको नगर शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।

समिक्षा बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखाको बारेमा प्राप्त सुझावहरू कार्यसञ्चालन भन्दा बढी नीतिगतसंग सम्बन्धित भएको उनले बताए । उनले भने, ‘यी कतिपय सुझावहरू शिक्षा शाखा मात्र नभएर नगर शिक्षा समिति, सामाजिक विकास समिति, नगर कार्यपालिका र नगरसभा सबैले सकारात्मक सहयोगका साथ वार्षिक नीति, कार्यक्रम र बजेटबाट सम्बोधन गर्नुपर्ने प्रकृतिका रहेका छन् । जनप्रतिनिधिज्युहरूबाट प्राप्त सुझावहरू अत्यन्त मननीय छन् । यस्ता रचनात्मक सुझावहरूको निरन्तर अपेक्षा राख्दै आगामी दिनमा यस्ता सिर्जनशील सुझावहरूलाई शाखाको तर्फाट अधिकतम कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छौं ।’

यस्तै, समिक्षा बैठकमा स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइ, आयुर्वेद शाखाका रविन धिताल, योजना तथा पूर्वाधार शाखा प्रमुख युवराज ज्ञवली, सहकारी र न्यय सम्पादन शाखाकी भगवती शर्मा, प्रविधिक शाखाका लक्ष्मण पौडेल, प्रशासन शाखा प्रमुख कृपाहरी लौडारी लगायतले आ-आफ्नो शाखाको कार्य प्रगति, उपलब्धि, भावि योजना र चुनौतिका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित वार्षिक समिक्षा बैठकमा उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य लगायतका सहभागिता रहेको थियो नगरपालिकाका प्रवक्ता इश्वर बहादुर घिमिरेले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker