सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ ।

सत्रौँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको उक्त तोपको संरक्षण गर्नुपर्ने स्थानीय मदन आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राचीन अवस्थादेखि नै तोप जीर्ण अवस्थामा रहेको छ। यसको संरक्षण गर्नु अत्यावश्यक भइसकेको छ ।”

ऐतिहासिक सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै आलेले सत्रौँ शताब्दीमा नै यसको प्रयोग भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “इतिहासको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ । यस्ता वस्तुको संरक्षण गरेर यहाँ घुम्न आउने पर्यटकलाई र भावि पुस्तालाई यसबारे जानकारी गराउनुपर्छ ।”

तनहुँसुर घुम्न आउने पर्यटकले तोपलाई उचाल्ने, पछार्ने, पल्टाउने काम गर्न नहुने आलेले बताउनुभयो। उहाँले भन्नुभयो, “तस्बिर खिच्ने क्रममा तोपलाई चलाउने, पल्टाउने काम गरिदिन भएन । स्थानीय सरकारले यसको संरक्षणको पहल गर्नुपर्छ । यसले आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ ।”

उक्त तोपमा केही दिन अगाडि क्षति पुगेको थियो । तोप तोडफोड भएको जस्तो अवस्थामा भेटिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तोपलाई हल्लाउने, चलाउने गरेर क्षति पुगेको स्थानीयवासीबाट जानकारी पाएको छौँ ।”

तोपलाई सुरक्षित राख्नका लागि परिसर आसपासमा तारबार गर्नुपर्ने स्थानीयले माग गरिरहेका वडाध्यक्ष दुराले बताउनुभयो । तत्कालका लागि बजेट अभाव रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल गरिने उहाँले बताउनुभयो ।

तनहुँसुर सेनवंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए। राजा मुकुन्दसेनको मृत्युपरोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवादसमेत भएको जानकारहरु बताउँछन् ।

तनहुँसुरमा हालैमात्र खड्ग कालिका मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनःनिर्माण सुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम सकिएर उद्घाटन गरिसकिएको छ । यहाँ रहेको दरबारको विसं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनःनिर्माण गरिएको हो ।

केही समय अगाडिसम्म ओझेलमा रहेको तनहुँसुर अहिले पर्यटकीयस्थलका रुपमा विकास हुन थालेको स्थानीय सञ्जय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यहाँ सामुदायिक घरबास सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाहृय पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ।

विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएका थिए। तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker