किसानका समस्या समाधान गर्न कृषकसंग अन्तरक्रिया
भञ्ज्याङ समाचारदाता/दमौली

कृषक समिति गठन गरी तनहुँको व्यास नगरपालिकाले कृषकका समस्या समाधान गर्ने कार्यक्रम अगाडि ल्याएको छ । कृषिलाई पहिलो प्राथमिकता दिँदै नगरपालिकाले ऐननै निर्माण गरी समिति गठन गरेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा व्यास नगर कृषि व्यवसाय प्रवर्द्धन समिति गठन गरिएको हो । उक्त समितिले किसानको गुनासो सुन्ने र त्यसको आधारमा माग पुरा गर्न मंगलबार कृषकहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा कृषकहरुले कृषि उपजको लागत मूल्य नउठ्दा पेशाबाट पलायन हुने अवस्था आएको कृषकले गुनासो गरेका छन् ।
व्यास नगरपालिका-११ सेराका कृषक रमेशप्रसाद आचार्यले नाफा नहुने भएकाले कृषि पेशा छाड्नु परेको बताए । सरकारले ६५ रुपैयाँ प्रतिलिटर गाईको दुधको मूल्य तोकेको छ, तर यहाँका कृषकको लागत मूल्य नै ७५ रुपैयाँ परेको गुनासो उनले गरे । ‘नाफा नहुने भएपछि कृषकलाई बाध्य भएर पेशा छोड्नु परेको छ’, उनले भने, ‘आफ्नै जमिन हुनेले जेनेतन लागत मूल्य उठाएपनि भाडामा जमिन लिएर कृषि पेशा गर्नेले लागत मूल्य उठाउन पनि धौ धौ परेको छ ।’
व्यास-१३ पोखरीभञ्ज्याङका कृषक इश्वर पन्थले उत्पादनको बजारीकरण नहुँदा कृषक समस्या परेको बताए । बजारीकरण, भण्डारण, खर्च व्यवस्थापनको शिक्षा र तालिम हुनुपर्ने बताए । उनले कृषकको परिचयपत्र र कृषि व्यवसायको पहिचान तथा अभिलेखिकरण गरिनु पर्ने माग गरे ।
व्यास-११ फराकचौरकी गाई पालक कृषक भगवती जिसीले कृषकलाई अनुभवको कमि हुँदा समस्या हुने गरेको बताइन । उनले भनिन्, ‘विना जानकारी काम गर्दा सफलता हुँदैन कृषकहरु कुहिरोको काग जस्ता भएकाले प्राविधिक लगायतका ज्ञान दिन आवश्यक छ ।’
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको र कृषकको समस्या समाधानको लागि नगरपालिकामा कृषकको सहभागिता सहितको कृषि व्यवसाय पर््रवर्द्धन समिति गठन गरिएको बताए ।
‘वडास्तरमा कृषकलाई मद्दत पुर्याउन १४ वटै वडामा वडा समिति गठन गरिएको छ’, उनले भने, ‘कृषकले भोग्नु परेको समस्या र कृषकका चाहानाको बारेमा जानकारी लिन समिति मार्फत अन्तरक्रिया गरिएको हो । कृषि तथा पशु सम्बन्धी प्राविधिकलाई सोही क्षेत्रमा मात्रै काममा लगाउने र प्रत्येक वडामा प्राविधिक सुविधा पुर्याइने छ ।’
कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, प्रवक्ता जीवन गुरुङ लगायतले व्यास नगरपालिकाका कृषकका समस्या समाधानको लागि कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ लगायतले कृषि प्रधान देश भएपनि परनिर्भरता बढ्दै गएकाले सबै मिलेर समस्या समधानको लागि एक जुट हुुन आवश्यक रहेको बताए ।










