सयपत्री फूलखेती : तिहारअघि नै फूल फक्रिएपछि तनहुँका कृषकका आम्दानीको लक्ष्य जोखिममा

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानले गत वर्ष सयपत्री फूलको माग धान्न सकेनन् । बजारमा फूलको माग राम्रो भएपछि उत्साहित बनेका उनीहरूले यस वर्ष खेती विस्तार गरेर झन्डै तीन गुणा क्षेत्रफलमा फूल लगाए । तर, उत्पादन बढाएर आम्दानीको लक्ष्यसमेत तेब्बर पुर्याएका किसान अहिले फूल बिक्री हुनेमा ढुक्क छैनन् । तिहार आउनुअगावै बारीमा फूल फक्रिन थालेपछि उनीहरूलाई बजार व्यवस्थापनको चिन्ताले सताएको छ ।

गत वर्ष छ रोपनीमा गरिएको सयपत्री खेती यस वर्ष विस्तार गरेर १६ रोपनीमा पुर्याइएको छ । चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहमा आबद्ध २३ जना महिलाले सामूहिक रूपमा गरेको खेतीबाट यस वर्ष १५ लाख रुपैयाँको फूल बिक्री गर्ने लक्ष्य राखेका छन् । तर, तिहार ढिलो परेका कारण फूल समयभन्दा अगाडि फक्रिन थालेपछि किसानको लगानी र अपेक्षित आम्दानी दुवै जोखिममा परेका छन् ।

समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष तिहारको समयमा फूलको माग अत्यधिक थियो । उत्पादनले माग धान्न नसकेपछि यस वर्ष खेती विस्तार गरिएको हो । तर, यसपटक फूल फुल्ने समय र तिहारको मिति नमिल्दा बिक्रीमा समस्या हुने आशंका बढेको छ ।

‘गत वर्ष तिहार छिटो परेको थियो । फूल पनि राम्ररी बिक्री भयो । मागअनुसार पुर्याउनै सकेनौँ’, रानाले भनिन्, ‘यसपटक तिहार ढिलो छ । फूल भने दसैँलगत्तै फक्रिन थालेको छ । एक हप्ता अगाडि नै फूल फुलेपछि तिहारसम्म बिक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको छ ।’

गत वर्ष छ रोपनीमा उत्पादन गरिएको सयपत्री बिक्री गरेर समूहले चार लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । किसानले प्रतिकिलो तीन सय रुपैयाँका दरले फूल बिक्री गरेका थिए । बजारमा माग राम्रो र उत्पादन कम भएपछि बिक्रीमा समस्या नभएको किसानको अनुभव छ । यही सफलताले यस वर्ष खेती विस्तार गर्ने प्रेरणा दिएको थियो ।

तर, उत्पादन बढाउने तयारी गर्दा बजारको माग, फूल फुल्ने समय र बिक्रीको सुनिश्चिततामा पर्याप्त ध्यान दिन नसकिएको किसानको अनुभव छ । फूलखेतीमा उत्पादन मात्र बढाएर हुँदैन, बजारमा माग हुने समयसम्म फूलको गुणस्तर कायम राख्न पनि उत्तिकै चुनौती हुन्छ । समयमै बिक्री हुन नसके फक्रिएको फूल ओइलाउने र किसानले लागतअनुसारको मूल्यसमेत नपाउने जोखिम रहन्छ ।

मकै, मास छाडेर नगदेबालीतर्फ

छिम्लीश्वाराका किसानले केही वर्षअघिसम्म बारीमा मकै, मास र बोडी खेती गर्दै आएका थिए । परम्परागत खेतीमा श्रम र समय धेरै खर्चिए पनि आम्दानी कम भएपछि उनीहरूले वैकल्पिक खेतीको खोजी गरेका थिए । विदेशबाट समेत फूल आयात भइरहेको देखेपछि आफ्नै गाउँमा सयपत्री उत्पादन गरी स्थानीय बजारको माग पूरा गर्ने सोचका साथ गत वर्ष सामूहिक खेती सुरु गरिएको थियो । पहिलो वर्षको आम्दानीले किसानलाई उत्साहित बनायो । परम्परागत बालीको तुलनामा फूलखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि २३ जना महिलाले यस वर्ष खेती विस्तार गरेका हुन् ।

समूहकी कोषाध्यक्ष सन्सरी रानाले मकै र मास खेतीमा धेरै मिहिनेत गर्दा पनि अपेक्षित आम्दानी नहुने भएकाले फूलखेती रोजेको बताइन् । ‘पहिले मकै, मास लगाउँथ्यौँ । जति दुःख गरे पनि आम्दानी कम हुन्थ्यो । फूलखेती गर्दा गत वर्ष राम्रो आम्दानी भयो’, उनले भने, ‘यसपटक तिहार ढिलो भएको छ । फूल छिटै फुलेकाले बजारमा मूल्य पाउँछौँ कि पाउँदैनौँ भन्ने चिन्ता छ ।’

उत्पादनको मूल्य किसानले पाएनन्

फूलखेती विस्तारसँगै किसानले बजारमा बिचौलियाको प्रभाव र मूल्य निर्धारणको समस्या पनि भोगिरहेका छन् । गत वर्ष प्रतिकिलो तीन सय रुपैयाँमा फूल बिक्री गरेका किसानले आफूहरूबाट खरिद गरिएको फूल उपभोक्तासम्म पुग्दा बढी मूल्यमा बिक्री हुने गरेको अनुभव सुनाएका छन् ।

बजार मूल्यबारे पर्याप्त जानकारी नहुँदा किसानले व्यापारीले प्रस्ताव गरेको मूल्यमा फूल बिक्री गर्नुपरेको अध्यक्ष रानाको भनाइ छ । किसानले उत्पादनमा गरेको मेहनतअनुसारको लाभ पाउन नसकेको उनको गुनासो छ । ‘फूलको मूल्य कति राख्ने भन्ने हामीलाई थाहा थिएन। प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री गर्यौ । हामीसँग फूल किनेर लैजाने व्यापारीले उपभोक्तालाई बढी मूल्यमा बेच्नुभयो’, उनले भनिन् ‘किसान र उपभोक्ताबीच सीधै खरिद–बिक्री हुन सके किसानले राम्रो मूल्य पाउँथे र उपभोक्ताले पनि सहज रूपमा फूल पाउन सक्थे ।’

किसानले स्थानीय तहले हाटबजार वा व्यवस्थित बिक्री केन्द्रको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। उत्पादनस्थलबाटै व्यापारीको भरमा बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य गरी किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न सके दुवै पक्षलाई लाभ हुने उनीहरूको अपेक्षा छ ।

मौसमले थपेको जोखिम

फूल फक्रिने समय र बजारको अनिश्चिततासँगै मौसमले पनि किसानलाई चिन्तित बनाएको छ । समूहकी सदस्य विसरा रानाले तिहारसम्म फूल बिक्री गर्न सकिने हो वा होइन भन्ने अन्योलबीच वर्षाको सम्भावनाले थप चिन्ता बढाएको बताउनुभयो। ‘फूल छिटै फुलेको छ । अब के हुन्छ भन्ने चिन्ता लागेको छ’, उनले भनिन् ‘फेरि पानी पर्छ भन्ने समाचार पनि आइरहेको छ ।’

छिम्लीश्वाराका २३ जना महिलाले सामूहिक रूपमा थालेको फूलखेतीले परम्परागत कृषिबाट व्यावसायिक उत्पादनतर्फको सम्भावना देखाएको छ । तर, उत्पादन बढाउने किसानलाई बजारको सुनिश्चितता, मूल्य निर्धारण र बिक्री वितरणमा सहयोग नपुग्ने हो भने कृषि उद्यम विस्तार दिगो हुन सक्दैन ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति व्यवहारमा कार्यान्वयन गर्न स्थानीय तहले किसानको उत्पादनलाई बजारसँग जोड्ने संयन्त्र विकास गर्न आवश्यक छ । फूलखेतीको क्षेत्र विस्तार गर्न प्रोत्साहनसँगै उत्पादन चक्र, चाडपर्वको माग, संकलन, भण्डारण र बिक्री व्यवस्थापनमा समेत प्राविधिक तथा संस्थागत सहयोग पुर्याउन सके मात्रै किसानको मेहनत आम्दानीमा रूपान्तरण हुन सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker