बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न

रासस/दमौली

तनहुँको म्याग्दे गाउँपालिका स्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे-१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको हो । विपन्न वर्गका उपभोक्ताको जीविकोपार्जनमा सघाउन स्थानीय व्यक्तिको ३६ रोपनी बाँझो खेत बन्धकीमा खरिद गरी सामूहिक खेती गरिएको वन समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार रु आठ लाख २५ हजारमा खेत बन्धकीमा खरिद गरी २५ जनाले त्यस खेतमा तीन वर्षदेखि खेती गरिरहेका छन् । “सामुदायिक वनमा आबद्ध विपन्न सदस्यलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउन यो कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यस खेतमा वर्षमा तीनपटक खेती गरिन्छ । वनका उपभोक्ताले यहाँ गहुँ, चैते र असारे धान रोप्दै आएका छन् । “चैते धान थन्क्याएर अब असारे धान रोप्न शुरु भएको छ”, उहाँले भन्नुभयो, “यहाँ खेती गरेर एक जनाले वार्षिक करिब १० मुरी धान उत्पादन गर्ने गरेका छन् ।” सामुदायिक वनको कार्ययोजना अनुसार न्यून आय भएका उपभोक्तालाई सामूहिक खेतीका लागि छनोट गरिएको छ । दैनिक ज्याला गरेर गुजारा गर्ने उपभोक्ता यसका लागि छनोट हुन्छन् । “ज्यालादारी गरेर बिहान-बेलुका छाक टार्नेलाई केही सहयोग होस् भन्नका लागि सामूहिक खेती गर्नका लागि खेत उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “यहाँबाट उत्पादित धानले उनीहरूलाई चामल खरिद गर्नुपरेको छैन ।”

वन समूहमा आबद्ध विपन्न समुदायलाई सामूहिक खेतीमा सहभागी गराउन सार्वजनिक सूचना टाँस गरेर निवेदन आहृवान गरिन्छ । निवेदन पेश गरिसकेपछि वन समूहले न्यून आय भएका उपभोक्ता छनोट गर्छ । खेती गर्नका लागि उपभोक्ताले रु ५० को निवेदन र धरौटीवापत रु एक हजार जम्मा गर्नुपर्ने प्रावधान बनाइएको छ । “छनोट भएर बीचैमा नछाडुन् भन्नका लागि धरौटी राखिएको हो, पछि उपभोक्तालाई नै त्यो रकम फिर्ता गर्र्छौँ”, खनालले भन्नुभयो ।

उक्त सामुदायिक वनमा २८५ उपभोक्ता आबद्ध छन् । तीमध्ये राममाया सुनार, टेकबहादुर कामी, उमा सुनार, कुसु सुनार, मनी परियार, भावना सुनार, मनु आले, गुनीमाया बाचेलगायतले यो वर्षसामूहिक खेती गरेका छन् । “प्रत्येक एक/एक वर्षमा खेती गर्नका लागि निवेदन माग्छौँ, एकपटक गरेकाले अर्कोपटक गर्दिनँ भन्न पनि पाउँछ, त्यस्तो भएको खण्डमा अर्को उपभोक्ताले मौका पाउँछ”, उहाँले भन्नुभयो, “नभए उही उपभोक्ता दोहोरिन पनि सक्छ ।” स्थानीयवासी राममाया सुनारले आफ्नो खेतबारी नभएकाले सामूहिक खेती गर्न पाउँदा सहज भएको बताउनुभयो । “खेतीपाती गर्नलाई खेत छैन, वनले उपलब्ध गराइएको खेतमा खेती गरेर उत्पादन लिएका छौँ, जीविकोपाजर्नका लागि सहयोग पुगेको छ”, सुनारले भन्नुभयो ।

सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बन्धकीमा खेत खरिद गरी सामूहिक खेती गरिएको तनहुँमै पहिलो र नमूना कार्यक्रम भएको बताउनुभयो । “सामुदायिक वनले आम्दानीको ३५ प्रतिशत रकम उपभोक्ताको आयआर्जनमा खर्च गर्नुपर्ने प्रावधान छ, सोहीबमोजिम यो सामुदायिक वनले नमूना कार्य गरेको छ”, रानाभाटले भन्नुभयो, “यसले वनका विपन्न समुदायको आयआर्जनमा सघाएको छ ।” उहाँका अनुसार यहाँबाट उत्पादन हुने धानले सानो परिवारका लागि चामल किन्न पर्दैन । “ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उपभोक्तालाई यसले ठूलो राहत मिलेको छ”, रानाभाटले भन्नुभयो । वनमा आबद्ध उपभोक्तालाई समृद्धितर्फ उन्मुख गराउने यो नमूना कार्य भएको रानाभाटले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker