मुख्यमन्त्री पाण्डेद्वारा दमौली अस्पताल अनुगमन
भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको आज अनुगमन गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन जिल्ला आइपुगेका मुख्यमन्त्री पाण्डेले अस्पतालको अनुगमन गर्दै सेवाप्रवाहका बारेमा जानकारी लिएका थिए ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले बिरामी कक्ष, ओपिडी कक्ष लगायतको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपश्चात् आयोजित छलफल क्रममा मुख्यमन्त्री पाण्डेले अस्पतालको स्तरोन्नतिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । विभिन्न चरणमा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बारेमा आफू जानकार रहेको भन्दै मुख्यमन्त्री पाण्डेले यस विषयमा आफू गम्भीर रहेको उल्लेख गरे ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अस्पतालको स्तरोन्नति अति आवश्यक भइसकेकाले यसमा विशेष ध्यान दिन मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षा गराएका थिए ।
सो क्रममा अस्पतालका प्रमुख डा परिवर्तन बरालले अस्पतालको वर्तमान अवस्था र सेवाप्रवाहका बारेमा जानकारी गराएका थिए । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले तीव्र सहरीकरण र बढ्दो जनसंख्यासँगै अस्पताल स्तरोन्नतिको आवश्यकता खडि्कएको उल्लेख गरे । उनले भने, ‘अस्पतालको विस्तार गर्नुपर्ने अति आवश्यक भइसकेको छ, बिरामीको चाप बढ्दो छ, अहिल्यैकै अवस्थामा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।’
अस्पताल विस्तारका लागि संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय गरिसकेको छ । कृषि ज्ञान केन्द्रको दुइ रोपनी र पशु सेवाविज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको छ । तर त्यसका लागि सम्झौता गर्न बाँकी छ ।
विसं २०३४ मा स्वास्थ्य चौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।
अस्पतालमा फोहोर पानीको व्यवस्थापन, फोहोरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स-रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।










