आँवुखैरेनीको शिक्षा सुधार अभियान : छोराछोरी सामुदायिक विद्यालयमा पढाए निःशुल्क स्वास्थ्य वीमा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम अगाडि ल्याएको छ । गाउँपालिकाले सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने परिवारका लागि निःशुल्क स्वास्थ्य वीमा गरिदिने योजना अगाडि ल्याएको छ ।
गाउँपालिकाले वडा नं. ४, ५ र ६ का बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा अध्ययन गराएमा प्रतिपरिवार ३ हजार ५ सय रुपैयाँ गाउँपालिकाले नै तिरेर स्वास्थ्य वीमाको गर्ने कार्यक्रम अगाडि ल्याएको हो ।
गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य वीमा गर्ने भएको छ । स्वास्थ्य वीमाका लागि पालिकाले नीति, कानून निर्माण गरिसकेको छ । यसका लागि सम्बन्धित विद्यालयको सिफारिस सहित वडाबाट विद्यार्थीको विवरण संकलन, वीमा फारम, नवीकरणको कामलाई अगाडी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले जानकारी गराए । उनका अनुसार गाउँपालिकाले आवश्यकता बमोजिम आगामी वर्षरुमा प्राथमिकतामा आधारमा अन्य वडाहरुमा पनि यो कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यो योजनाले गुणस्तरीय शिक्षाको खोजीमा निजी विद्यालयमा गइरहेका बालबालिकालाई सामुदायिक विद्यालयमा फिर्ता गर्ने र सामुदायिक विद्यालयमा पनि गुणस्तर कायम गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
‘रूप पक्ष फेर्ने, सिकाई र गुणस्तर तथा प्रोत्साहन कार्यक्रम गरी तीन वटा क्षेत्रमा विभाजन गरेर शैक्षिक क्षेत्रमा सुधारको प्रयास थालिएको हो’, अध्यक्ष चुमानले भने, ‘प्रोत्साहन कार्यक्रम अन्तर्गत नै गाउँपालिकाका जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययनका लागि पठाउने, सन्तानलाई सामुदायिक विद्यालयमा पठाएका परिवारलाई कर छुट दिने तयारी पनि गाउँपालिकाले गरिरहेको छ ।’
‘हामीले स्वास्थ्य वीमा गरिदिने बाहेक अन्य सुविधाहरू दिने गरी तयारी गरिरहेका छौँ । करमा दिने छुटसहित बालबालिका लागि विभिन्न सामग्री पनि उपलब्ध गराउँदै आइरहेका छौं’, उनले भने, ‘शैक्षिक सुधार र गुणस्तरका लागि तीन वटा पक्ष निर्धारण गरेर ती फरक फरक पक्षमा फरक फरक काम तथा क्रियाकलाप निर्धारण गरेका छौं । विज्ञ तथा सरोकारवालाबाट सुझाव संकलन गरेपछि यसलाई अझै प्रभावकारी बनाएर कार्यान्वयन गर्ने तयारी छ ।’
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा पाँचसम्मका सबै १२ सय विद्यार्थीलाई निःशुल्क ट्र्याक सुट, झोला, जुत्ता, मोजा तथा टी-सर्ट वितरण गरिसकिएको छ । भवनतर्फ गर्नुपर्ने मर्मत, छाना, फ्लोरिङ, रङ रोगन, डेस्क बेन्च फेर्ने लगायतका कामहरू चैत मसान्तसम्म पूरा गरिसक्ने, नर्सरीदेखि कक्षा दुइ स्मार्ट टेलिभिजन राखी सिकाइलाई प्रविधिसंग जोड्ने गरी गाउँपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूले घण्टौं हिँड्नुपर्ने अवस्था रहेकाले यस्तो समस्या रहेका ठाउँमा ‘विद्यालय बस’ सञ्चालन कार्यक्रम पनि अगाडि ल्याइएको अध्यक्ष चुमानले बताए ।
सिकाइ गुणस्तरतर्फको पक्षमा एक कक्षादेखि आठ कक्षासम्मका विद्यार्थीका लागि ‘एनुअल स्ट्याटस’ वा ‘एजुकेसन रिपोर्ट’ तयार पार्ने तथा विद्यार्थी, शिक्षक, समुदाय लगायतमा रहेका समस्याको पहिचान गरी समाधान गर्ने, विषयगत रूपमा आवश्यक दरबन्दी विद्यालयमा पूरा गर्न गाउँपालिले आफ्नै स्रोतमा शिक्षक परिचालन गर्ने, आँबुखैरेनी क्याम्पसमा युवा परिचालन गर्ने तथा ‘सी.एस.एन’ र ‘साथी शिक्षक’ संस्थासँग सहकार्य गरेर गाउँपालिकाका सात वटा विद्यालयमा सहकार्य सम्झौता गर्ने तथा निरन्तर अनुगमन गर्ने कार्यक्रम गाउँपालिकाले अगाडि ल्याएको छ।










