व्यासमा प्रथम महिला हाफ म्याराथन प्रतियोगिता हुने

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले प्रथम महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । बिगत चार वर्षदेखि अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फागुन २४ गते दमौलीबाट तनहुँसुरसम्म महिला हाफ म्याराथन गर्ने तयारी गरेको हो । यस अघि मानुङकोटदेखि पुलिमर्याङ शहिद पार्कसम्मको ४४ किलोमिटर दुरीको खुल्ला अल्ट्रा म्याराथन गर्दै आएको नगरपालिकाले महिलालक्षित २१ किलोमिटर दुरीको हाफ म्याराथन प्रतियोगिता समेत गर्ने लागेको हो ।
व्यास नगर अल्ट्रा म्याराथनको सफलताका कारण साहसिक पर्यटीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई समेत महशुस गरी धार्मिक पर्यटकीय स्थल व्यास-३ व्यासगुफादेखि ऐतिहासिक स्थल व्यास-११ को तनहुँसुरसम्म म्याराथन गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए ।
नगरपालिकाले बिहिबार गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानले महिलाको सम्मान र पर्यटकीय तथा धार्मिक ठाउँको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘प्रतियोगिताका कारण मानुङमा पर्यटकको आकर्षण देखिएको हुँदा ऐतिहासिक स्थल तनहुँसुरको पनि प्रचारप्रसार गर्न महिलाको दौड आयोजना गरेका हौं र यसलाई निरन्तरता दिने हाम्रो योजना छ ।’
गत वर्ष तय गरिएको महिला म्याराथन कोभिड-१९ का कारण स्थगित भएको नगर उपप्रमुख एवं प्रतियोगिताकी संयोजक मीरा जोशीले बताइन । उनले भनिन्, ‘खुल्ला हाफ म्याराथनका विजेताहरुलाई कारबाहेक प्रथम पुरस्कार ४१ हजार ७७, द्धितीय पुरस्कार ३१ हजार ७७, तृतीय पुरस्कार २१ हजार ७७ रुपैयाँ र पाँच जनालाई सान्त्वना पुरस्कार स्वरुप ११ हजार ७७ रुपैयाँ प्रदान गरिने छ ।’
यस्तै, व्यास गुफादेखि सुरु हुने हाफ म्याराथन सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वीराजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास नगरपालिका ११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ ।
म्याराथन रुटमा खेलाडीको निग्रानीका लागि दौड विभिन्न पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरिएको छ । चेकपोइन्टमा धावकहरुको दौडको नियम पालना गरे नगरेको निरीक्षण गरिनेछ भने धावकका लागि पानी, चकलेट साथसाथै स्वास्थ्यसंग सम्बन्धित आवश्यक सम्पूर्ण सामाग्रिहरु सम्बन्धित वडाहरुमा टोल विकास संस्थाहरुको सहभागितामा राखिने संयोजक जोशीले बताइन् ।
म्याराथनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नगर उपप्रमुखको संयोजकत्वमा नगर सभा सदस्यहरु सदस्य रहने गरी मूल आयोजक समिति र विभिन्न ९ वटा उपसमितिहरु गठन गरिएको छ ।










