व्यास नगरपालिकामा बाँदर आतङ्क नियन्त्रणका विषयमा छलफल
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने बाँदर आतङ्कबाट पीडित तनहुँका किसानहरुसँग भेटघाट गरी छलफल गरेका छन् । नगरप्रमुख न्यौपानेले प्राकृतिक पर्यावरण संरक्षण मञ्चका प्रतिनिधि र किसानहरुसंग बिहीबार बाँदर आतङ्क नियन्त्रणबारे छलफल गरेका हुन्।
छलफलको क्रममा प्राकृतिक पर्यावरण संरक्षण मञ्चले किसान वर्गको हितमा कानुन बनाउनु पर्ने बताएका छन् । बाँदरले गर्दा पेसाबाट विस्थापित हुनु परेको र मानिसलाई आक्रमण गरेर घाइते बनाउने गरेको भन्दै किसानले नगरप्रमुख न्यौपाने समक्ष दुःख व्यक्त गरेका थिए ।
वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम बढिरहेको भन्दै किसानले पेसा छाड्नुपर्ने अवस्था आएको बताएका छन् । मञ्चका अध्यक्ष सुदर्शन प्रधानले किसानको बालीनाली नष्ट गर्न आउने बाँदरलाई मारेमा कुनै दण्ड सजाय तथा जरिवाना गर्न नहुने बताए । उनले अनुसन्धान तथा कुनै प्रयोजनको लागि विदेशमा लैजाने संस्थाहरुलाई प्रोत्सान गर्नुपर्ने र तनहुँमा मात्रै करिब ६० हजार बाँदर रहेको अनुमान रहेको अध्यक्ष प्रधानले बताए ।
यस्तै प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष लालबहादुर पन्थले बाँदरको कारणले विस्थापित भएका जनताको जग्गा जमिन र घरगोठको यथार्थ मुल्याङ्कन गरी मुआब्जा उपलब्ध गराउनु पर्ने बताए । बाँदरले वनजंगलको बोटबिरुवाका मुना मात्रै नभएर चराचुरुङ्गीका बासस्थानसमेत सखाप पारेको मञ्चले जनाएको छ । खेतबारीमा लगाएको अन्नबाली, तरकारी र फलफूल बाँदरले सखाप पारेपछि किसान पीडित भएका छन् ।
छलफलको क्रममा नगरप्रमुख न्यौपानेले बाँदर आतंकबाट पीडित किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले क्षतिपूर्ति उपलब्ध गराउन नगरपालिकाले सहयोग गर्ने समेत बताए ।










