आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा सुरुसंगै आज पहिलो सफल उपचार

दमौली : आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको पहिलो उपचार गरिएको छ । हातको हड्डी भाँचिएका एक बिरामीको शल्यक्रिया मार्फत् उपचार गरिएको हो ।

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ नियुक्तिसँगै शुक्रबार हातको हड्डी भाँचिएका एक जनाको शल्यक्रिया मार्फत स्टिलहाली जोड्ने कार्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

आँबुखैरेनीमा हाडजोर्नीको उपचार सुरु भएसँगै यस भेगका जनतालाई सेवा लिनका लागि चितवन, पोखरा, काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा पालिकाकै आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरी हालै सेवा विस्तार गरेको हो ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट हाडजोर्नी विशेषज्ञ डा राजकुमार शाहलाई नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए । अस्पतालमा सेवा विस्तार गर्ने क्रममा हाडजोर्नीका बिरामीलाई सहज रूपमा पालिकामै सेवा दिने उद्देश्यसहित हाडजोर्नी चिकित्सकको व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चुमानले बताए ।

चुमानले भने, ‘पालिकास्तरीय अस्पतालमा नयाँनयाँ सेवा विस्तार गर्ने अभियानअन्तर्गत हाडजोर्नी तथा नशारोग विशेषज्ञलाई पालिकाकै आन्तरिक आम्दानीबाट तलब खुवाउने गरी अनुबन्ध गरेका छौँ । यसले आँबुखैरेनीका बासिन्दाले अब सहज रूपमा यससम्बन्धी सेवा पाउनेछन् ।’

हाडजोर्नी तथा नशारोगको उपचारका लागि चितवन, पोखरा, काठमाडौ जानुपर्ने बाध्यताको अब अन्त्य हुने उनको भनाइ छ । उनले भने, ‘विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउँदा जनताको समय, पैसा र श्रमको बचत हुने विश्वास लिएका छौँ । यसले गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै सुनिश्चित गर्ने अभियानलाई थप बल मिलेको छ ।’

अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले गाउँपालिकाले पूर्णकालिन रूपमा अनुबन्ध गरी हाडजोर्नी सेवा सुरु गरेको आँबुखैरेनी गण्डकी प्रदेशमै पहिलो अस्पताल रहेको दाबी गरे । यो सेवाले आँबुखैरेनीमात्र नभई छिमेकी पालिकाबाट वासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker