राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला आउँदै रामचन्द्र पौडेल
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।
व्यास नगरपालिका-३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
उनका अनुसार शनिबार तनहुँको दुइ स्थानको कार्यक्रममा सहभागि भई राष्ट्रपति पौडेल काठमाडौं फर्किने भएका छन् । बिहान तनहुँको भानु नगरपालिका-१३ स्थित मिर्लुङकोटमा रहेको भंगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले दमौलीमा निर्माण गरिएको सभागृहको उद्घाटन गर्ने कार्यक्रम १ बजे तय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी गराए ।

यस्तै, राष्ट्रपति पौडेलले सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको अनावरण गर्ने कार्यक्रम रहेको छ । २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले सभाहल निर्माण गरेको छ । करिब ७५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो रहेको मानिएको छ ।
करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुइ ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष निर्माण गरिएको छ ।
उद्घाटन पश्चात जिल्ला सभाको बैठक बसि उक्त सभाहल सञ्चालनमा ल्याईने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए । यस्तै, राष्ट्रपति गृहजिल्ला आउने भएपछि अहिले दमौली बजारलाई सिंगारपट्टार गरिएको छ । व्यास नगरपालिकाले दमौलीको प्रशासन चोक क्षेत्रमा सरसफाई, रङ्रोगन, सफासडकको दुबै तर्फा सडक पेटीमा रङ्रोगन, सडकमा जेब्राक्रसिङ तयार गरेको छ ।