बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण

रासस (दमौली)

चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो ।

गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । रोटरी क्लबले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवालाई आज मिनी ग्रेटवालको भ्रमण गराएको छ । क्लबको आयोजनामा तीन दिनदेखि बन्दीपुरमा युवा नेतृत्व विकास तालीम सञ्चालन भइरहेको छ । तालीममा भाग लिन आएका युवालाई बन्दीपुरको पर्यटनका बारेमा जानकारी गराउन सो ठाउँको भ्रमण गराइएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवं पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा मिनी ग्रेटवाल पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो । बन्दीपुर घुम्न आएका सबैजसोले यस ठाउँका बारेमा चासो लिने गरेका छन् । ‘बन्दीपुरमा नयाँ-नयाँ पूर्वाधार थप गर्ने उद्देश्यबमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौँ, मिनी ग्रेटवाल निर्माणका लागि सरकारले पनि बजेट सहयोग गरेको छ’, उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु ३० लाखको काम भइरहेको छ । ‘पर्यटन मन्त्रालयको बजेटबाट शुरुआती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौँ’, उहाँले भन्नुभयो ।

कूल साढे दुइ किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको अध्यक्ष थापाले बताउनुभयो । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गनिे छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यस पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker