भुजुङ गाउँको भदौरे सभा र गुरुङ संस्कृति

के.बि. मसाल

संस्कृतिमा रुचि राख्ने पर्यटकहरु लमजुङको भुजुङ गाउँमा पटक–पटक पुग्ने गर्दछन । नेपालमा गुरुङ सस्कृति अनौठो र पर्यटनका लागि नौलो मानिन्छ। भुजुङ गाउँको सस्कृति अन्य गुरुङ गाउँहरुसंग पनि धेरै मिल्दैन। भुजुङ गाउँ क्व्होलासोथार गाउँपालिकाको वाड नं ४ मा पर्दछ । लमजुङ हिमालको काख, मिदीम खोलाको छेउमा प्रकृति तथा संस्कृतिले भरिपूर्ण भुजुङ गाउँमा पाँच सय घरधुरी एकै ठाउँमा गुजुमुज्ज परि बसेका छ । परम्परागत र जीवन्त गुरुङ संस्कृतिको खानी, लोपोन्मूख कुसुण्डा घाँटु, कृष्णचरित्र, सेर्गा, ध्याप्री, पच्यू, सोरठी जस्ता सांस्कृतिक नृत्य पर्यटकहरुले भुजुङमा गाउँमा देख्न सक्दछन् । घरको छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आकर्षक पुरानो घुमाउने घर देख्दा भुजुङ गाउँमा पुग्ने पर्यटकहरुले भ्याई नभ्याई फोटा खिच्न आतुर हुन्छन ।
क्व्होलासोथारको शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो। भुजुङ गाउँको चिटिक्क परेको सुन्दर बस्ति, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिम श्रृंखला र हेरिरौ जस्तो लाग्ने पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका गाउँ भित्रका पदमार्गहरु गाउँ भरिनै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा कुराकानी । भुजुङ गाउँले बोकेको परिचय हो भन्दा पनि हुन्छ । पर्यटकीय गाउँ भुजुङले आफ्नै नियम र कानुन बनाएर गाउँ सञ्चालन गर्दै आएका छन । भुजुङ गाउँबासीले देशको कानुन मान्दछन तर आफैले बनाएको गाउँको नियम प्रयोग गर्दछन। गाउँको नियमलाई पालना नगरेका घरपरिवारबाट वर्षेनी जरिवाना असुल्ने प्रचलन छ । बर्षेनी गाउँमा नयाँ कानुन निर्माण तथा आवस्यक परे संसोधन गरिन्छ । भदौरे सभाले पारित गरेको कानुन र नियमको पालना नगर्ने घरलाई कारबाही गरिन्छ ।
क्व्होलासोथार गाउँपालिका–४ मा पर्ने भुजुङ गाउँमा हरेक वर्ष भदौ अन्तिम साता भदौ सभा अर्थात भाद्र सभाको आयोजना हुन्छ । यो बेलामा धेरै पर्यटकहरु भुजुङ पुग्दछन । सरकारको कानुन हुँदाहुँदै गाउँलेले आफ्नै कानुन र नियम बनाएको देख्दा पर्यटकहरु रुचि पूर्वक भदौरे सभाको बारेमा जान्न खोज्दछन। भदौरे सभामा गतवर्ष निर्माण भएका ऐन कानुन तथा नीतिनियमको छलफल र समीक्षा गर्दै चालु वर्षका लागि लागू गरिने ऐन कानुन तथा नीति नियम बनाइएको छ । भदौरे सभामा हरेक घरका घरमुली साधारण सदस्य हुन्छन । सभाको पहिलो दिन दोस्रो र तेस्रो दिन गाउँका सबै टोलका घरमुलीले स्वतःस्फूर्त आफु र परिवारका तर्फबाट गतवर्ष लागू गरिएका ऐन कानुन तथा नीतिनियमको उल्लंघन गरेको अवस्थामा जरिवाना तिरेका छन । सभामा उनीहरुले थप ऐन कानुन तथा नीतिनियम उल्लंघन नगरेको भन्दै खुकुरी र पाती राखेको तामाको ताउलो छोएर कसम समेत खाएका छन । यसलाई धर्म समात्ने भनिन्छ ।
भुजुङ गाउँको रीतिथिति व्यवस्थापन समितिले गाउँमा सामाजिक, आर्थिक तथा साँस्कृतिक मुल्य मान्यतालाई एकरुपता ल्याउन र बाहिरको हस्तक्षेप रोक्न हरेक वर्ष भदौ सभा गर्दै आएको छ । सभाले समाजमा चोरीडकैती गर्नेलाई जरिवाना गर्ने गरिन्छ । गाउँलले वर्षभरी आफू र आफ्नो परिवारले नीतिनियम तथा ऐन कानुन उल्लंघन नगरेको, कसैमाथि नराम्रो नसोचेको, अधर्म नगरेको र नराम्रो काम नगरेको भनि खुकुरी र पाती राखिएको तामाको ताउलो छोएर कसम खान्छन । सभामा वर्षभरी छिन्न नसकेका गाउँका मुद्दाहरु समेत छिन्ने काम हुन्छ । कानुन गाउँभित्र मात्र होइन बाहिरका मानिस गाउँभित्र पस्नासाथ समेत लागू हुने गर्दछ । भुजुङको भदौरे सभाले परम्परागत मुल्य, मान्यता, संस्कार र चालचलनलाई मध्यनजर राखेर नेपाल सरकारले निर्माण गरेका नीति नियम तथा कानुनसंग नबाझिने गरी वा सरकारी ऐन कानुनलाई सहयोग पुग्ने गरी गाउँलेको आन्तरिक कानुन निर्माण गर्दछन। सभाले श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण, गाउँमा उत्पादित धान, मकै, कोदो लगायत खाद्यान्न बालीको मानापाथीको भाउलगायतको मुल्य समेत निर्धारण गर्दछ। गाउँलेले आफैं कार्यविधि बनाएर निर्माण गरिएको रीतिथिति व्यवस्थापन समितिमा गाउँको हरेक टोलबाट छनौट भएका प्रतिनिधि साथै मनोनित, आमा समूह, युवा क्लव तथा वडा सदस्यहरु पदेन रहने गरी २५ जना समितिका रहन्छन । तिनै चुनिएर आएका प्रतिनिधिबाट अध्यक्षसहित पदाधिकारी र सदस्य निर्वाचित हुन्छ । कार्य समितिमा पदेन सदस्य बस्न पाउँदैन ।
भुजुङ गाउँ कुनै शहर भन्दा कम छैन। भुजुङमा गुजुमुज्ज शैलीका घर त छन् तर शहरमा जस्तो बिजुलीका तार छताछुल्ल छैनन् । हेर्दा पनि अचम्म लाग्ने, स्मार्ट सिटीभन्दा कम नलाग्ने भुजुङ गाउँ साँच्चिकै सुन्दर छ । अझ योभन्दा पनि अचम्मको कुरा त के छ भने फोहोर पानी बग्ने नाला पनि भूमिगत छन् । भुजुङ गाउँ पुगेपछि फोहोर नै देखिँदैन । त्यसैले त पर्यटकको मन रमाउँछ भुजुङमा । जता हेर्यो त्यतै ढुंगा अनि तिनै ढुंगा कुँदेर बनाइएका सफा बाटो। अनि त्यही बाटोमुनिबाट बग्ने नाली । कस्तो आन्नद ! कस्तो सुन्दर ! भौगोलिक हिसाबले भुजुङ निकै नै विकट मानिन्छ । तर जीवनस्तर सहज बनाएको छ आफ्नै रोप वे’ अर्थात केबलकार। कुनै बेला निकै ठूला भारी बोकेर दुई घण्टा उकाली–ओराली गर्ने भुजुङबासी अहिले केबलकारबाट सामान ओसार–पसार गर्छन् । केबलकारबाट  भुजुङबासी बेसीमा हुने धान र अन्य उत्पादन केही मिनेटभित्रै घरमा भित्राउँछन् । भुजुङमा यस्ता उदाहरणले आम नेपालीलाई सधैं परनिर्भर हुन पर्दैन भन्ने गतिलो पाठ सिकाएको छ ।
भुजुङ पुगेपछि जो कोही पर्यटक प्रकृतिसंग रमाउन थाल्दछ । प्राकृतिक छटाले भरिपूर्ण घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण पाइन्छ भुजुङमा । हिमाली स्वच्छ हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरु, दक्षिणतर्फ नागवेली आकारमा सुसाई बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो झरना यो दृष्यले कस्को मन आनन्दित नहोला ? भुजुङ गाउँबाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरुले वास्तवमा भुजुङ गाउँलाई स्वर्ग जस्तै बनाएको छ । कला संस्कृतिलाई नजीकबाट नियाल्ने र ग्रामीण पर्यटनलाई टेवा पु¥याउनका लागि एक पटक भुजुङ गाउँ पुग्नै पर्दछ । लमजुङको भुजुङ गाउँ अन्य गाउँहरु भन्दा रमाइलो र भिन्न देखिन्छ । भुजुङ गाउँ लोडसेडिङ मुक्त गाउँ हो । उनीहरुलाई लोडसेडिङको चिन्ता छैन। गाउँमा कुनै पनि बेला बिजुलीको लाइन जाँदैन । सहर बजारको लोडसेडिङ भुजुङ गाउँका लागि नयाँ र नौलो विषय बन्छ। गाउँलेहरुले ०५६ सालमा आफ्नै श्रमदान र विभिन्न सघं÷सस्थाबाट सहयोग जुटाएर गाउँकै मिदिम खोलाबाट ८० किलोवाट क्षमताको बिजुली निकालेका छन । विकासका लागि आफ्नो श्रम र सीपलाई सदुपयोग गरेका भुजुङबासीले बिगत २३ वर्षदेखि बिजुली उपभोग गर्दै आएका छन् ।
गुरुङ संस्कृति भएको भुजुङ गाउँ लमजुङको ग्रामीण भेकमा पर्ने सुन्दर बस्ती हो । भुजुङ गाउँ लमजुङ हिमालको काखमा छ । भुजुङ गाउँ समुद्री सतहदेखि १ हजार ६०० मिटर उचाइमा रहेको छ । मिदिम खोलाको पारिपट्टि रहेको कमा गाउँबाट भुजुङलाई रातको समयमा नियाल्दा झिलिमिली सहर जस्तो देखिन्छ । भुजुङ गाउँमा समशीतोष्ण प्रकृतिको हावापानी पाइन्छ। भुजुङ गाउँ पूर्वमा घनपोखरा, पश्चिममा पसगाउँ, दक्षिणमा भोजेसम्म फैलिएको छ । गाउँको उत्तर दिशातर्फ चाहिँ हिमाली काखमा रहेको ठूलो खर्क छ । हिम शिखरबाट बग्ने मिदिम खोलाको किनारमा खेतका ठूला फाँट, झरना, चिया बगान, गुरुङ संग्रहालयले भुजुङ गाउँलाई थप आकर्षण बनाएको छ । मिदिम खोलाको शिर मानिने भुजुङ गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्छ । भुजुङ पुग्ने पर्यटकहरुले त्यहाँको प्राकृतिक दृष्यलाई आँखा र क्यामरामा कैद गर्दैमा समय बितेको पत्तोनै पाउँदैनन् ।
घलेगाउँबाट ८ किलो मिटरको दूरीमा भुजुङ गाउँ पर्दछ । घलेगाउँदेखि डेढ घण्टाको पैदल यात्रापछि भुजुङ पुग्न सकिन्छ । पैदल यात्रा गर्न नरुचाउने पर्यटकहरुका लागि मोटरको पनि प्रयोग गर्न सकिन्छ । गाउँलेहरुले गरेको सामूहिक चियाखेतीले भुजुङमा इलामको झल्को दिन्छ । गाउँमै ठूलो चिया मिल छ । भुजुङबासीहरु त्यहीबाट अर्गानिक चिया उत्पादन गर्छन। पर्यटकहरु चियाँबारीमा रमाउने मात्र होइन अर्गानिक चिया किनेर घरमा समेत लैजान्छन । भुजुङबासीहरुले गाउँमा उत्पादन गरेको चियाँ कोसेलीका रुपमा बेलायत, अमेरिका र हङकङसम्म पठाउँछन । भुजुङमा सेता काइयो झरनाको संगीतमय झन्कार र वनपाखामा लोपोन्मुख काँडे भ्याकुरहरु सजिलै हेर्न सकिन्छ । कालिज, लुइँचेजस्ता चरा र मृग, कस्तुरी जस्ता जनावर देख्न पाउँदा पर्यटकहरु लोभिने गर्दछन । पर्यटन गाउँ भुजुङको आकर्षण, सांस्कृतिक सम्पदा र कला संस्कृतिले पर्यटकहरु भुजुङमा रमाउँछन । पदमार्गमा रुचाउने पर्यटकहरुका लागि भुजुङबाट दूधपोखरी, ताङतिङ हुँदै पोखरा निस्कने तथा मनाङको तिमाङ निस्कने अन्नपूर्ण पदयात्राको वैकल्पिक पदमार्ग पनि बन्न सक्दछ ।
भुजुङका १८ घरमा सुविधा सम्पन्न होमस्टे सन्चालनमा छन् । भुजुङ गाउँको होमस्टेमा पर्यटकहरुले स्थानीय चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि चाहाना हुनेको लागि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद लिन सक्दछन् । भुजुङका बासिन्दाले पशुमा भैंसी, बाख्रा, भेडा र पन्छीमा कुखुरा पाल्छन्। यहाँ वन्यजन्तु तथा पशुपन्छीको चोरीसिकारी गर्न बन्देज लगाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले भुजुङको ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सघाउँदै आएको छ । भुजुङ ग्रामीण पर्यटनको केन्द्र बनेको छ । आन्तरिक पर्यटन मात्र होइन लमजुङको बेसिशहर पुगेपछि वाह्य पर्यटकहरु पनि घलेगाउँ र भुजुङ जान रुचाउछन । चिटिक्क परेको सुन्दर गुरुङ जातीको बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने दर्जनौ हिमश्रृंखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम, गुरुङ भाषामा बोलीचाली पाउँदा भुजुङ पुग्ने सबैलाई नौलो अनुभुति हुन्छ ।
भुजुङगाउँ पुगिसकेपछि साँच्चिकैको गाउँ भनेको कस्तो हुन्छ भने अनुभव पर्यटकहरुले गर्न पाउँछन। भुजुङको संस्कृति, कला र गाउँलेहरुको ब्यवहारले सबै पर्यटकहरु दंग पर्दछन। भुजुङ गाउँमा पर्यटकहरुलाई गाउँका सबैजना मिलेर स्वागत सत्कार गर्ने गर्दछन् । स्वागत गर्ने बेलामा गुरुङ भाषामा गीत गाउँदै स्वागत गरिन्छ। त्यसपछि गाउँमा कसको घरमा कसलाई राख्ने भनेर छलफल गरी तोकिएको घरमा पर्यटकलाई लगेर राखिन्छ । गाउँमा पुगेका पर्यटकहरु बढि मात्रामा रोधी बस्न पनि रुचाउछ। पर्यटकको चाहना अनुसार रोधी बस्ने चलन छ। भुजुङमा अझै पनि गुरुङ जातीहरुको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जिवितै रहेको छ। गाउँमा पुुगेका पर्यटकहरुको चाहाना अनुसार आफ्ना सस्कृतिहरु देखाउने गर्दछन्। परम्परागत ऐतिहासिक संस्कृतिको रुपमा घाँटु कुसुन्डा कृष्ण चरित्र, साराङ्गी, घ्याब्रि, प्हच्यु, सेर्गा नृत्यहरु पर्यटकहरुका लागि भुजुङको विशेष आर्कषण बन्दछ ।
भुजुङको इतिहासमा गुरुङहरुको मूल थलो क्होला पतन पश्चात् गुरुङ जातिका पम र प्हज्यू भाइखलक चिसा हुँदै विजोँ (भुजुङको माथिल्लो डाँडा) मा आइपुगेको भनाइ छ । यो समय करिब पाचँसय वर्षभन्दा पहिलेको मानिन्छ । चैँबर प्रजातिका गुरुङसँग पम र प्हज्युको विजोँमा भेट भएपछि आपासमा कुरा बाझियो । कहिल्यै नभेटने बाचासहित कालो पोथी कुखुरा काटेर चैँबर र दुई भाइले आ–आफ्नो बाटो तताएका थिए । चैँबर जातिका गुरुङ डाँडैडाँडा घनपोखरा, घलेगाउँ तर्फ गए भने प्हज्यू र पम पन्यूमा आएर बसे । केही दैनिक असुविधाका कारण त्युजू भन्ने ठाउँमा बसाइँ सरे । जीवन गुजार्ने क्रममा पश्चिमका स्योँड म्हिगी गुरुङहरुले तिनका घरपालुवा जनावरलार्ई काटेर खाइदिने, लुटपाट गर्ने, कुटपिट गर्ने लगायतका अत्याचार गर्न थाले । त्यो सहन नसकी दुई गुरुङहरुले लेम प्रजातिका गुरुङलाई खोजेर ल्याए । लेमले भक्यौँलाका चिल्ला खुकुरी तथा तरबार बनाएर शत्रुलाई देखाएपछि उनीहरु पसगाउँ र सिङदीतर्फ भागेको इतिहास छ । ती दुई त्युजूमा बस्न उचित नठानी अहिलेको भुजुङमा बसोवास गरे । गुरुङ भाषामा मृगलाई ‘फो’ र व्यापारलाई छोँ भन्ने गरिन्छ । त्यतिबेला भुजुङमा मृगको व्यापार हुन्थ्यो । मृगको व्यापार फोछोँबाट अपभ्रंश भएर प्होजोँमा परिणत भएको भुजुङका बासिन्दा बताउछन। प्होजोँ गुरुङ भाषाको नाम हो भने भुजुङ नेपाली भाषाको नाम हो ।
सुन्दा कुनै कथाजस्तो लाग्ने भुजुङमा गोलाकारका परम्परागत घरहरु, घना जंगलभित्र रहेका विभिन्न प्रजातिका चराचुरुङीको मिठो चिरबिर र सिरसिर बग्ने चिसो हावाले पर्यटकहरुलाई आनन्द गराउछ । सिजनमा गरिने भीर माहुरीको सिकार, सन्तानेश्वर महादेव, हरिया फाँटहरु गाउँका आकर्षणका केन्द्र हुन् । भुजुङमा फुर्सदको समयमा पुरुषहरुले डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी र महिलाहरुले उनवाट राडीपाखी, बख्खु, पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरु बनाउँछन । भुजुङमा चियाखेती, अम्रिसो खेती र अलैंची खेतीमा पर्यटकहरु रमाउँछन। पर्यटन प्रवद्र्धनका लागि गुरुङ संग्रहालय रहेको छ । वैशाख पूर्णिमामा पुग्ने पर्यटकहरुले घाटु, घ्याब्रे, पच्यु, कृष्णचरित्र, सोरठी, सेर्का लगायतका लोपोन्मुख नृत्य पनि हेर्न सक्दछन ।
भुजुङ गाउँ पुग्न लमजुङको सदरमुकाम वेसीशहरबाट हरित सडकमा यात्रा गर्नुपर्छ । पृथ्वी राजमार्गको डुम्रेबाट ४२ किलोमिटर बेसीशहर पुगेपछि २६ किलोमिटरको यात्रामा घलेगाउँ पुग्न सकिन्छ । घले गाउँदेखि ८ किलो मिटरको दूरीमा भुजुङ गाउँ पर्दछ । बेसिशहरबाट साना हल्का सवारी साधन अर्थात जिप रिजर्भ गर्न सकिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker