नदी कटानले डेढगाउँ–मन्दार जोड्ने पुल अवरुद्ध

भिमाद : कालीगण्डकी नदीमा आएको कटानका कारण नवलपुरको बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका–४ मन्दार जोड्ने मोटरेबल पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । पुलको दुवैतर्फ नदीले कटान गरेपछि सवारीसाधनसँगै पैदल यात्रुसमेत आवतजावत गर्न नसक्ने अवस्था बनेको हो ।
पुल अवरुद्ध भएपछि डेढगाउँ र मन्दारबीचको नियमित आवतजावत प्रभावित भएको छ। स्थानीयवासी, यात्रु तथा मालसामान ओसारपसारमा समेत समस्या उत्पन्न भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव र कटानका कारण पुलको पहुँच क्षेत्रमा क्षति पुगेपछि आवागमन बन्द गरिएको हो ।
पुलको दुवैतर्फ नदी कटान भएको स्थानमा आवश्यक संरचना निर्माण तथा मर्मतको प्रक्रिया अघि बढाइएको जनाइएको छ। सम्बन्धित निकायले प्रारम्भिक तयारी पूरा गरी एक–दुई दिनभित्रै निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ ।
पुलको पहुँच मार्ग र कटान प्रभावित भागमा आवश्यक संरचना निर्माण गरी आवागमन पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ । निर्माण कार्य शीघ्र अघि बढेमा डेढगाउँ–मन्दारबीच अवरुद्ध भएको यातायात सम्पर्क पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
डेढगाउँ र मन्दारलाई जोड्ने पुल स्थानीयवासीका लागि दैनिक आवतजावतसँगै व्यापार, कृषि उपज तथा आवश्यक सामग्री ओसारपसारका लागि महत्वपूर्ण रहेको छ। पुल अवरुद्ध हुँदा दुवै क्षेत्रका बासिन्दालाई थप घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले मर्मत कार्य छिटो सम्पन्न गर्नुपर्ने देखिएको छ ।










