बन्दिपुरको अध्यक्षका स्वतन्त्र उम्मेदवार श्रेष्ठले खोले सम्पर्क कार्यालय
भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनमा बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदको दाबा गर्दै स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका मानकाजी श्रेष्ठले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसका स्थानीय वयोवृद्ध बिहारीलाल श्रेष्ठ र स्वतन्त्र उम्मेदवार श्रेष्ठले एक कार्यक्रमका बीच विहीबार सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस बन्दिपुर-२ का पार्टी सभापति नारायण खड्का, वडा नं. ६ का सभापति खुराकजंग गुरुङ, तरुण दलका जिल्ला सदस्य पुरण आले, नेपाल मुस्लिम संघ तनहुँका अध्यक्ष नेक महम्मद मिया, महिला नेतृ सबिना गुरुङ लगायतले श्रेष्ठको राजनीतिक जीवनी र योग्दान तथा सामाजिक क्षेत्रमा गरेका क्रियाकलापको चर्चा गर्दै पार्टीमा त्याग गरेकाले टिकट नपाउनु दुःखद रहेको बताए ।
कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि श्रेष्ठले बुधबार मात्रै साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएर स्थानीय निर्वाचनमा होमिएका छन् । स्वतन्त्र उम्मेदवार श्रेष्ठले सामाजिक क्षेत्रमा आफूले गरेको योगदान र पार्टी प्रतिको निष्ठाका आधारमा बन्दिपुरका जनताले आफूलाई विजयी गराउने विश्वास गरेका छन् ।









