५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-२ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका व्यवसायी रजनजंग शाहीले व्यास नगरपालिकाभित्रका विभिन्न ५ विद्यालयका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । आफ्नो नाममा अक्षयकोष स्थापना गरी ती विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उनले बताएका छन् ।
व्यास-१ दमौली स्थित निर्मल मावि, २ स्थित सत्यवती मावि, ५ स्थित पराशर मावि, १० स्थित चण्डीदेवि राष्ट्रिय मावि र १२ स्थित अमरज्योति मावि बेलभञ्ज्याङका एक/एक जना विद्यार्थीलाई हरेक वर्षछात्रवृत्ति प्रदान गर्ने शाहीले बताए ।
विद्यालयले गरेको मुल्याङ्कनका आधारमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई निमावि अध्ययनदेखि एसइइ उत्तीर्ण हुँदासम्म सहयोग गर्ने बताइएको छ । उनले यस सम्बन्धमा सम्बन्धित विद्यालयलाई जानकारी गराइसकेका छन् । विद्यालयबाट विद्यार्थीको विवरण प्राप्त भएपछि यही वर्षदेखि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् ।
अक्षयकोष स्थापनाको प्रारम्भमा यस वर्ष ती विद्यार्थीलाई छात्रवृत्ति वापत नगद सहयोग गर्ने र अर्को वर्षदेखि अक्षयकोषको व्याजबाट छात्रवृत्ति प्रदान गर्ने आफ्नो योजना रहेको शाहीले बताए । बिगत केही वर्षदेखि सामाजिक काममा सक्रिय रहदै आएका शाहीले शैक्षिक क्षेत्रमा सहयोग गर्ने सोचका साथ ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेको बताएका छन् ।










