पुम्दीकोटको अर्को आकर्षण सुमेरु पर्वत

रासस/गण्डकी

पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका-२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रूपमा देखिएको छ ।

समुदायको सहयोग एवम् पुम्दीकोट विकास समितिको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको महादेवको मूर्तिले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरिरहेको यसस्थलमा नजिकैको अर्को थुम्कालाई सुमेरु पर्वतका रूपमा विकास गर्न लागिएको हो । महादेवस्थललाई कैलाशका रूपमा लिँदै नजिकै जोडिएको अर्को थुम्कालाई सुमेरु पर्वतका रूपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गरिएको पुम्दीकोट विकास समितिका सदस्य मातृका बरालले जानकारी दिनुभयो ।

पुम्दीकोटको वृहत् गुरुयोजना अनुसार यस क्षेत्रको समग्र विकास अघि बढिरहेको बताउँदै उहाँले विशाल मूर्तिस्थापनाका साथै नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरि संरचना निर्माण भइरहेको जानकारी दिनुभयो । “विशालमूर्ति रहेको स्थान -कैलाश) र सुमेरु पर्वतलाई जोड्ने गरी विद्युतीय चियरकार निर्माण गर्ने योजना समेत राखेका छौँ”, उहाँले भन्नुभयो,”करिब चार सय मिटरको दूरीमा रहेका यी स्थललाई जोड्ने दीर्घकालीन लक्ष्य अनुसार नै चियरकार निर्माणको सोच अघि बढाइएको हो ।”

सुमेरु पर्वतलाई झकिझकाउ बनाउने गरी काम भइरहेको र त्यहाँ माता पार्वती र कुमार कार्तीकेयको मूर्ति तयार गरिसकिएको छ । सुमेरु पर्वत निर्माणका लागि जमिन सम्याउने, मूर्ति एवं पूर्वाधार निर्माणका लागि करिब रु दुइ लाख खर्च भइसकेको इञ्जिनीयर बाबुराम बरालले जानकारी गराउनुभयो । गुरुयोजना अनुसार नै पुम्दीकोटमा विशाल महादेव मूर्तिसहित प्रशासनिक भवन र गुरुमहाराज आश्रम आदि निर्माण भइसकेका छन् । समितिले शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखेको छ ।

मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ आदि स्थापनासँगै परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । पछिल्ला समयमा पुम्दीकोट धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित बन्दै गर्दा यस क्षेत्रका बाटाघाटा एवम् अन्य विभिन्न पूर्वाधार निर्माणले गति लिएको छ । पुम्दीकोटमा स्वदेशी एवं विदेशी पर्यटकको बढिरहेको आकर्षाले यो पोखराको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित बनिरहेको विशाल महादेव मूर्ति निर्माण अभियानका संयोजक एवं पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

गुरुयोजनामा समेटिएका पूर्वाधार निर्माणका काम बढिरहेको बताउँदै उहाँले हालसम्म करिब रु २६ करोड लगानी भइसकेको जानकारी गराउनुभयो । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो । निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले बताउनुभयो । “विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँ देखिएको आकर्षणले योस्थल पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रूपमा स्थापित बन्ने हाम्रो विश्वास छ ।”

पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँबाट पोखरा र लेखनाथका विभिन्न भू-भागसँगै धवलागिरि, अन्नपूर्णजस्ता हिमशृंखलालाई नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ । प्रकृतिको बरादानयुक्त स्थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित विसं २०७३ फागुनमा यहाँ महाशिवपुराण लगाइएको थियो ।

उक्त समयमा महायज्ञबाट रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो। समितिले लक्षित पूर्वाधार निर्माणलाई सम्पन्न गर्ने लक्ष्यसहित २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाएको थियो । उक्त महायज्ञबाट करिब रु तीन करोड दान सहयोग प्राप्त भएको थियो । यहाँको विकासलाई पछिल्लो समयमा संघ, प्रदेश र स्थानीय तीनवटै तहले सक्रियता देखाएका छन् ।

विभिन्न तिथि तथा पर्वमा ठूलो संख्यामा धार्मिक पर्यटक पुम्दीकोट आउने गरेको मूल पूजारी भरत पौडेल बताउनुहुन्छ । प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको उहाँले जानकारी दिनुभयो ।

समय-समयमा आउने भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्रै हालसम्म पुम्दीकोटमा रु पाँच करोड संकलन भइसकेको छ । गत शिवरात्रिमा मात्रै ५० हजारभन्दा बढी दर्शनार्थी पुम्दीकोट आएका थिए । सदस्य बरालका अनुसार समितिले शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका लागि छलफल समेत गरिरहेको र त्यसका लागि करिब रु पाँच करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणकार्य अन्तिममा पुगेको सुमेरु पर्वत लगायत बनिरहेका संरचनाले यहाँको गरिमा र महत्वलाई अझै बढाउने उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker