जंगली च्याउ खाँदा तनहुँको म्याग्देका दश जना बिरामी परे
भञ्ज्याङ न्यूज

जंगली च्याउ खाँदा तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेमा दश जना बिरामी परेका छन् । स्थानीय ४६ वर्षीया पार्वती थापा र २४ वर्षीया सरिता थापाले जंगलबाट खोजेर ल्याएको च्याउ खाँदा दश जना विरामी परेको तनहुँ प्रहरीले जनाएको छ ।
खानासँग तरकारीका रुपमा च्याउ खाँदा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए । बिरामी परेकालाई दमौलीस्थित व्यास नगर अस्पतालमा उपचार पश्चात थप उपचारका लागि पोखरा पठाइएको छ ।
च्याउ खाएर बिरामी पर्नेमा सोही ठाउँका २७ वर्षीया सविता थापा, छ वर्षीया जेनिशा थापा, ४५ वर्षीय पदुमाया थापा मगर, चार वर्षीय जेन्स थापा, २६ वर्षीया बासना थापा, ४६ वर्षीया पार्वती थापा, २२ वर्षीय सुमन थापा, छ वर्षीय प्रिन्स थापा, २४ वर्षीया सरिता थाप र ४७ वर्षीय पदम थापा रहेको प्रहरीले जनाएको छ ।










