पहिरोले दिएको पीडा : “छिमेक खोज्दै बसाइसराइ”
सम्झना रसाइली/तनहुँ
कास्की जिल्ला पोखरा महानगरपालिका-२३ घाटीछिना नयाँबस्तीकी पवित्रा परियार दिउँसोको समय घाम ताप्दै साग केलाउदै थिइन् । चिसो बढ्दै गएपछि उनी घाम ताप्दै कामको पनि मेसो मिलाउदै थिइन् ।
उमेरले ६७ वर्ष पुगेकी पवित्रा अघिल्ला वर्षहरु जस्तो यो वर्ष जाडो त नबढेको तर उमेर अवस्थाका कारण चिसोले भने सताउने गरेको बताउछिन् । ‘यस ठाउँमा घाम धैरे बेर पर्दैन’, उनले भनिन्, ‘पहिले हामी हर्पन सिमपानीमा बस्थेउ । डाँडापाखाका घरमा जाडो मौसममा पनि बिहान उदाएदेखि नअस्ताउँदसम्म घाम ताप्न पाइथ्यो ।’
सोही वडाको हर्पन सिमपानीमा बस्ने पवित्रा र उनका परिवार २०७२ मा गएको पहिरोपछि यहाँ बसाइ सरेका हुन । ‘०७२ साउनमा गएको पहिरोले हाम्रो घर, जग्गाजमिन, गाईबस्तु सबै लग्यो’, विगतलाई सम्झदै उनले भनिन्, ‘कति छिमेकीको घर बगायो, कति मरे, कति घाइते भए । त्यो दिन सम्झदा अझैपनि आङ्ग सिरिङ्ग हुन्छ ।’
त्यसवर्ष आएको पहिरोका कारण धेरैले त्यस क्षेत्र छाडेर अन्यत्र बसाइसराइ गरेका छन् । सेवा सुविधाको खोजीमा स्थानीयहरु आसपासका बजार क्षेत्रमा बसाइ सरे । ‘१०/१२ घरपरिवार भएको हर्पन सिमपानीमा पहिरोपछि जम्मा ३ घर परिवार बाँकी रहयौं’, उनले भनिन्, ‘पहिलेको जस्तो बस्ती रहेन । दिउँसै जंगली जनवारको डर हुन थाल्यो । छरछिमेक नहुँदा पनि समस्य भएकाले छिमेक खोज्दै हाम्रो परिवार पनि २०७५ सालमा यहा“ बसाइ सर्यौ ।’
यस्तै, त्यस दिन (२०७२ साउन १२ गते) जस्तो पानी अहिलेसम्म नपरेको ३८ वर्षीया सिता परियार बताउँछिन् । पहिरो गएको दिन सम्झदै उनले भनिन्, ‘खेतमा धान रोपेर घर गइ खाना खाई बसेका थियौ । पानी ठुलो परेकाले त्यस दिन चाँडै निन्द्रा परेन । अचानक माथीको पर्यो (चट्याङ्ग) । छिमेकीको हार गुहार सुनियो । बाहिरा निस्केर हेर्दा धेरै घरहरु पहिरोले लगिसकेको रहेछ ।’
पहिरोले बगाएर तरकारी बारी, घरहरु सोरिएर खोलाछेउ पुगेको र बाख्रा, गाई, भैसी हर्पन खेला भरी भएको दृश्य उनले अझै भुल्न सकेकी छैनन् । ‘पहिरो गएको एक हप्तासम्म पनि हामी डराइरहेका थियौ’, उनले भनिन्, ‘घर र घरभित्र भएका अन्नपात, लत्ताकपडा सबै बगाएको थियो । त्यसपछिका केही दिन हामीलाई हातमुख जोड्न पनि समस्य भयो ।’
अहिले त्यो गाउँ रित्तिसकेको सिता बताउँछिन् । ‘गाउँ सुनसान जस्तै भएर हामी पनि बेसि झर्यौ। अहिले त जम्म दुइ घरपरिवार मात्रै छन्’, उनले भनिन्, ‘अहिले गाउँमा जंगली जनवारले सताएको छ । दिउँसै चितुवाले कुकुर, बाख्रा खान्छ । बारीमा लगाएको तरकारी, बाली बादरले खाएर सताएको छ ।’
यस्तै, उक्त पहिरोमा परी १२ जनाको मृत्यु र एक जना बेपत्ता भएको पोखरा महानगरपालिका-२३ का वडाध्यक्ष रामकाजी गुरुङले बताए। उनका अनुसार पहिरोका कारण ५ घर पुर्ण रुपमा क्षति र ४ घर आंशिक क्षति भएका थिए । गुरुङले भने, ‘यस गाउँमा बसोबास गर्ने करिव १० घरपरिवार पहिरोपछि कार्की तगरा, नयाँबस्ती, पोखरा लगायतका आसपासका क्षेत्रमा बसाइ सराइ गरेका छन् ।’
पहिरो, भुक्षय, चट्याङ्ग जस्ता प्राकृतिक प्रकोपले कयौं ग्रामीण बस्ति उजाडिदै गएका छन् । बिकासका नाममा जथाभावी सडक बिस्तार गर्दा खानेपानीका श्रोत नासिने, पहिरोको जोखिम निम्तिने जस्ता कारणले पनि गाउँबस्तिहरु उजाडिदै गएका छन् । फेवातालको शिरमा रहेको यो गाउँ पनि यस्तै प्रकोपबाट प्रताडित छ । यहाँका घर बस्तिहरु खण्डहर बन्दै गएका छन् । खेतीयोग्य जमिन बाँझिदै गएका छन्।










