लुम्बिनी, पर्यटन र प्याकेजमा घुमफिर
के.बि. मसाल

मानिस स्वभावले नै विविधता मन पराउँछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाउँ, घर अनि खाना मन पर्दछ । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाउँदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न खोज्दछ । पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण अर्थात घुमफिर हो । घुमफिरले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पर्यटकहरुले रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन अनुसन्धान गर्न सक्दछन ।
लुम्बिनी प्रदेशमा भूवनोट हावापानी र जीवजन्तुको विविधता छ । यी कुराको संयोजनले पर्यटन क्षेत्रमा विकास भएको छ । उच्चपहाडी भेगमा पाइने जनावर र वनस्पति पहाड र तराइका भन्दा फरक छ । जस्तै हिमालमा डाँफे चरा पाइन्छ भने तराइमा गरुड वा हाँडीफोर र मयुर पाइन्छ । डाँफे चरा हेर्न चाहने पर्यटकले हिमाली क्षेत्रमा जानु पर्दछ भने हाँडीफोर र मयुर हेर्न तराइ झर्नु पर्दछ । लुम्बिनी प्रदेश एतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदामा पनि धनि छ । प्रदेशको हरेक जिल्लामा ग्रामीण क्षेत्रमा चिटिक परेका बस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले ऐतिहासिक महत्वका ठाउँहरुले पर्यटकहरुलाई आकर्षण गर्दछ । प्रदेशका जिल्लामा कला, भाषा, संस्कृति र भेशभूषा पनि फरक छ । थारुहरुको मौलिक थलो दांङ र मगरहरुको मौलिकता जीवन्त भेटिने पाल्पा, रोल्पा र पूर्वी रुकुमका गाउँहरु पर्यटनका लागि सामाजिक सास्कृतिक सम्पदा हुन । प्रदेश भित्र ऐतिहासिक गढी, कोट र किल्लाहरु, भुरेटाकुरे राजाका पालाका दरबार इतिहासमा रुचि भएका पर्यटकहरुलाई रोजाइमा पर्ने गर्दछ । लुम्विनी प्रदेशमा पर्यटकहरुको लागि रोल्पा रुकुममा गुरिल्ला पदमार्ग बनेको छ । पदमार्गमा सजिला अप्ठयारा हिमाली र पहाडी भूगोल छ । पर्यटनका लागि लुम्बिनी प्रदेशमा ऐतिहासिक, प्राकृतिक र धार्मिकस्थलहरु धेरै छन् । पछिल्लो समय लुम्बिनी प्रदेश पर्यटन भित्र केही मानव निर्मित पर्यटकीय सम्पदा पनि बनेका छन ।
लुम्विनी प्रदेशमा घुमफिर गर्दा प्याकेज कार्यक्रम मिलायर घुम्दा राम्रो हुन्छ। तर, धेरै पर्यटकहरुमा प्याकेजमा घुमफिर गर्ने संस्कृति छैन । प्याकेज भनेको आबधिक योजना हो । आजभोली पर्यटनको क्षेत्रमा पनि प्याकेज शब्द प्रयोग हुन थालेको छ । घुमफिरको लागि यात्राको योजना बनाएर घुम्दा सुरक्षित मात्र नभएर धेरै कुरामा सजिलो हुन्छ । पर्यटनको प्याकेजमा कतिजना जाने, कति दिनको घुमफिर गर्ने ? पदयात्रा गर्ने कि नगर्ने ? कुन-कुन ठाउँमा बास बस्ने ? र यसका लागि कति रकम आवस्यक पर्दछ भन्ने कुरा तय हुन्छ । पर्यटनको क्षेत्रमा आजभोली प्याकेजमा विद्यार्थी, संघसंस्थाका मानिसहरु र युवाहरु पनि प्याकेजमानै घुमफिरमा निस्कन थालेका छन । अहिले सकेसम्म पारिवारिक र साथीहरुको समूह बनाएर यात्रामा निस्कने बानी पनि धेरैमा हुने गरेको छ । प्याकेजमा घुमफिर गर्दा यात्रामा सजिलो मात्र हुने होइन खर्च र घुमफिरको समयमा समेत बचत हुन्छ । प्रदेशमा घुमफिर गर्नका लागि खाना बस्न धेरै ठाउँमा होटल र होमस्टे सुविधा छ । प्रायः सबै गाउँ ठाउँमा सडक यातायातको पहुच मार्ग बनेको छ । तर पनि प्रदेशको पहाडी जिल्लाहरुमा जादा साना सवारी साधन बलेरो र स्कारपिओ जस्ता गाडी प्रयोग गर्दा सजिलो, छिटो र भरपर्दो पनि हुन्छ ।
लुम्बिनी प्रदेशमा घुमफिर गर्ने ठाउँहरु धेरै छन । विश्वका दुइ अर्व मानिसको आस्थाको केन्द्र लुम्बिनी र एसियाकै ठूलो उपत्यका दाङ उपत्यका लुम्विनी प्रदेश भौगिलिक विविधतासहितको धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको संगम पनि हो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन सिकार आरक्ष र रोल्पा रुकुमको गुरिल्ला पदमार्ग बुटवलको ऐतिहासिक जितगढी किल्ला, पाल्पा दरबार, रानीमहल, अर्घाखाँचीको सुपादेउराली, पाणिनी तपोभूमि, गुल्मीको रिडी, रेसुंगा, दाङको धारापानी, रत्ननाथ र अम्बिकेश्वरी मन्दिर प्युठानको स्वर्गद्वारी, बाँकेको बागेश्वरी जस्ता धार्मिक केन्द्रले तीर्थाटनका पर्यटकहरुलाई मुख्य आकर्षण गर्दछ । चराहरुको स्वर्ग भनेर चिनिने कपिलबस्तुको जगदिशपुर तालसँगै प्रदेशमा रहेका अन्य तालतलैया पनि पर्यटनका लागि उत्तिकै महत्वपूर्ण छन । घुमफिरको प्याकेज बनाउदा नै घुम्ने ठाउँको तय गर्न पर्दछ । लुम्बिनी प्रदेशमा उत्तरमा पूर्वी रुकुमको पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणीदेखि पश्चिममा बर्दियाको राजपुरसम्मको भूगोल पर्दछ । हिमाल पहाड र तर्राईको भूगोलमा फैलिएको प्रदेश पर्यटकहरुलाई एकै पटकमा घुम्दा समय धेरै लाग्दछ । लामो समय घुमफिरमा बिताउदा पर्यटकहरुलाई पट्याड पनि लाग्न सक्दछ । त्यसैले घुमफिरको प्याकेज बनाउदा प्रदेशको भूगोललाई टुक्राउन पनि सकिन्छ । घुमफिरको प्याकेज सजिलोको लागि पर्यटकहरुले हिमाल, पहाड, तराइलाई घुम्नको लागि अनकुल मौसमलाई बिचार गरी भिन्न-भिन्न समयमा पनि प्याकेज बनाउन सक्दछन ।
लुम्विनी प्रदेशमा पूर्वमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, पूर्वी रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके र वर्दिया समेत गरी १२ जिल्ला पर्दछ । हिमालदेखि पहाड, भित्री मधेश र तर्राई समेत यो प्रदेशमा पर्दछ । पर्यटकीय हिसाबले अधिकांश स्थल धार्मिक क्षेत्रसंग जोडिएको छ । मुक्तिनाथदेखि बग्दै आउने कालिगण्डकीले बाग्लुङ र गुल्मी जिल्लाको सीमा पालुङखोलादेखि पाल्पा र नवलपरासीको पूर्वी भाग बुलिङटारसंग सिमा बनेको काली नदीको घुमाउरी घाटसम्म दर्जनौ धार्मिकस्थलहरु रहेका छन । कतिपय पर्यटकहरु तीर्थाटनका लागि कालिगण्डकीका घाटहरुमा घुमफिर गर्न रुचाउने हुन्छन । अहिले कालिगण्डकी करिडोरले राम्दीघाटदेखि रानीघाट बाहेक अन्य ठाउँमा सडक निर्माण भएको छ । तानसेनबाट रानीघाट पुगेपछि कालिनदी किनार किनारै रिडी, रुद्रवेनी भएर मिर्मी अथवा बाग्लुङ तिर पनि पुग्न सकिन्छ । अर्को तर्फ राम्दीदेखि पूर्वी पाल्पाको रामपुर हुँदै नवलपुर भएर नारायणघाट समेत पुग्न सकिन्छ । पर्यटकहरुलाई नदेखेको नयाँ ठाउँ, प्राकृतिक रुपले सुन्दर ठाउँको घुमफिरले बेग्लै स्फूति भरि दिन्छ । नयाँ ठाउँको घुमफिरबाट पर्यटकले नयाँ-नयाँ ज्ञान र चेतनाको निर्माण गरी रहेका हुन्छन । नयाँ ठाउँ, नयाँ मानिस, नयाँ स्वाद, नयाँ परिवेशले पर्यटकलाई बेग्लै अनुभूति गराउँछ ।
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । बुद्धको जन्मस्थल लुम्बिनी विश्व मानवको साझा सम्पति भएकोले लुम्बिनीलाई १९९७ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको छ । लुम्बिनी प्रदेशको घुमफिर गर्दा गौतम बुद्धको जन्मस्थल पुगेन भने पर्यटकहरुको घुमफिरनै अधुरो हुन्छ । लुम्बिनीको बिहार क्षेत्रलाई दुइ भागमा बिभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टी थेरवादी र पश्चिमपट्टी महायानिहरुको लागि पलटहरु छुट्टाइएका छन् । पूर्वपट्टी नेपाल, भारत, श्रीलंका, म्यान्मार, कम्बोडिया, क्यानडा र थाइल्याण्डले आ-आफ्नो राष्ट्रिय पहिचानमा बिहार तथा अतिथिगृह निर्माण गरेका छन् । पश्चिमपट्टी नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मन, भेतनाम, क्यानडा आदि मुलुकका सरकार तथा संस्थाहरुले पनि आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तूपहरु तयार गरेका छन् । केन्द्रीय नहरको दक्षिण र दक्षिण-पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् । सर्कुलर लेभिको बीचमा अवस्थित पुरातात्विक बगैंचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, स्तूप र विहारका स्मारकहरु रहेका छन् । लुम्बिनीमा विभिन्न देशका उपासक-उपासिकाहरु आ-आफ्नै संस्कृति र परम्पराअनुसारको आचरण गर्दछन । यस हिसाबले लुम्बिनीलाई खुल्ला विश्व बौद्ध संगमस्थल पनि भन्न सकिन्छ ।
पर्यटकहरु लुम्बिनी प्रदेशको घुमफिरमा इतिहास र संस्कृतिको अध्यन अनुसन्धान गर्न रुचि राख्न खोज्दछन । नेपाल-अंग्रेज युद्धको नालिबेली अध्यन गर्न रुपन्देही र पाल्पाको सिमा नुवाकोटगढीमा पुग्दछन । नेपाल-अंग्रेज युद्धमा नेपालीले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्ला नुवाकोटगढी हो । अर्को तर्फ गौतम बुद्धका बाबु शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका ऐतिहासिक तथा पुरातात्विक क्षेत्र पाल्पा र रुपन्देहीको सिमा नुवाकोटगढी हो । नुवाकोटमा भगवती मन्दिर, भैरवकामना मन्दिर, खडग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, हतियार राख्ने र लुकाउने खरखजाना घर छ । बुद्धकालीन संरचना झल्काउने राजा शुद्धोधनका गुरु ऋषि कालदेवल आशुतोषको आश्रमस्थल, रानीकुवा लगायत ऐतिहासिक र पुरातात्विक संरचना रहेका छन । नुवाकोटगढी ऐतिहासिक स्थल मात्र नभएर प्राकृतिक भ्युटावर पनि हो । नुवाकोटगढी हुदै परापूर्वकाल देखिनै बुटवल, भैरहवा भएर भारतिय भूमीमा आउजाउ गर्ने मुख्य पदमार्ग पनि हो । कतिपय पर्यटकहरुले आफ्ना पूर्वज यात्रा गरेको पदमार्गको समेत स्मरण गर्न सक्दछन । अहिले बुटवलदेखि नुवाकोटगढीसम्म केवुलकारको निर्माण समेत हुन थालेको छ ।
पर्यटनका लागि तानसेनको प्राकृतिक दृश्य, भगवती, अमरनारायण, अमर महादेव, अमर भैरव र अमर गणेशका मन्दिरहरु पनि सांस्कृतिक रुपले तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । पाल्पामा घुमफिर गर्दा कालीगण्डकी किनारको रानीमहल पुग्नै पर्ने हुन्छ । खडगशमशेरले वि.सं. १९४९ सालदेखि निर्माण सुरु गरेको रानीमहलदरबार १९५५ सालमा पूरा भएको थियो । दिवंगत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’का रुपमा लिइने गरिन्छ । तेजमहल पछि गएर रानीघाट हुँदै रानीमहलमा परिणत भएको हो । यसलाई नेपालको ताजमहल पनि भन्ने गरिन्छ । यो रानीमहलको अर्को नयाँ ब्रान्ड पनि हो । यसै नामबाट रानीमहल अहिले सर्वत्र परिचित छ । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुइवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुडिकलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुइ मन्दिर छन् । यस महलको पूर्व तिर खडग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र बिचको तलामा खडग शमशेरका कोठाहरु रहेका छन् । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इट्टाबाट बनाइएका खुडिकलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । तानसेनको श्रीनगरले सबै प्रकृती प्रेमीहरुलाई मनमुग्द बनाइदिन्छ । श्रीनगरको डाडाबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, गौरीशंकर जस्ता हिम श्रृखंलाहरुको दृष्यावलोकनका साथै तानसेन भन्दा दक्षिण पट्टीको माडीफाट अवलोकन गर्न सकिन्छ ।
कालीगण्डकी र रिडी खोलाको सगम तथा स्याङजा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा रहेको रिडी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो । अहिले रिडीमा स्याङजा, पाल्पा र गूल्मी जोडने तिनमुखे झोलुङेपुल समेत निर्माण भएको छ । सांस्कृतिक एवं प्राकृतिक सम्पदाले परिपूर्ण गुल्मीको रेसुङ्गा मानव सृष्टिसँग संबद्ध, भृगु ऋषिको तपोभूमि, रुरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षि, राजर्षि, देवर्षि एवं ब्रमार्षिको वासस्थानयुक्त सुनौलो थलो हो । स्वदेशी उपज, मूर्तिपूजा, कर्मकाण्ड र जातपातको विरोधी जोसमनी सम्प्रदायको मूलथलो नै रेसुङ्गा हो । अर्को तर्फ पर्यटनका लागि चारपाला पुग्न सके राम्रो हुन्छ । चौबीसी राज्यहरुमा गुल्मी राज्यको चारपाला राजधानी थियो । अर्घाखाचीमा पर्यटकहरले खाँचीकोट र अर्घाकोटको ऐतिहासिक महत्व र कोटमा रहेका देवीको मन्दिरमा तीर्थाटन गर्न सक्दछन । खाँचीकोट दरवारका पुराना हातहतियारहरु संरक्षण गरी शक्ति पीठमा राखी दसैंमा पूजा गर्ने प्रचलन छरु । दरवारका पुराना ढाल, तरवार, खुँडा र बन्दुक समेत पर्यटकहरुले देख्न सक्दछन । अर्घाखाँचीको सुपादेउराली र पणेना तपोभूमी धेरै पर्यटक पुग्ने गर्दछन । बल्कोट अर्घाखाँचीमा ऐतिहासिक थलो हो । बल्कोटको मथुराबेसीमा जंगबहादुर राणाको जन्म भएको थियो ।
प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न गौंमुखी प्यूठान जादा पर्यटकहरु पुग्दा राम्रो हुन्छ । झिमरुक नदीको उदगमस्थल गौमुखीमा रहेको गुफाको कुनामा गाईको मुख जस्तो आकारबाट छङछङ गरी पानी निक्लेको छ । प्यूठानमा पुगेपछि पर्यटकहरु स्वर्गद्वारी पुगेकै हुन्छन । स्वर्गद्वारी सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले रमणीय छ । स्वर्गद्वारीमा वैशाखपूर्णिमा र गुरुपूर्णिमा धेरै तीर्थाटनका पर्यटकहरु पुग्दछन । प्यूठानको दक्षिण-पश्चिममा पर्ने ऐरावती तथा यसको अलावा प्यूठानमा भाइटीकाको भोलिपल्ट तृतीयादेखि पञ्चमी तिथिसम्म तीन दिन डल्ले सरायँ -विजुवारनेर), क्वाडी सराय -चितिखोला) र दाखाक्वाडी हिक्मतेश्वर बगैंचाको मेला पनि प्रख्यात छन् । यिनमा लट्टीखेल र तारवारखेल आदि हुन्छन् । विजुली कोटको जात्रा, सारीवाङको मसानपाटीमा हुने कार्तिके जात्रा र मरन्ठाना ठूलासिमको मेला आदि अवसर पनि उल्लेखनीय मेला हुन । खलंगामा घण्टाकर्णदेखि ऋषितर्पणी पूर्णीमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जाजा, गणेशजात्रा, कृष्णजात्रा र खरजात्रा -माघे पूर्णीमाको दिन) लाग्दछ । यी जात्राहरु सदरमुकाममा मनाउने हुँदा प्यूठानका अतिरिक्त छिमेकी जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाँचमा पुरुसुङ्गे नाँच, मारुनी नाँच, माडीखोले नाँच र अन्य लोकनृत्य निकै रमाइला छन ।
रोल्पामा अवस्थित विभिन्न सम्पदाहरु मध्ये गजुलकोट, खंग्रिकोट, खुंग्री त्रिपुरेश्वरी, घोडागाउँ खडगस्थान, जलजला, तालावाङ कैलावराह, नौलादेवी पाटेश्वर, लिवाङ तथा गैरागाउँ कालिका आदि स्थानहरु विशेष महत्वपूर्ण छन् । यी विभिन्न स्थानहरुमा रहेका स्मारक तथा कलावस्तुहरु धार्मिक आस्थाको आधारमा सुरक्षा तथा संरक्षण हुँदै आएका छन् । प्रत्येक स्मारक तथा कलावस्तुले समसामयिक मानव सभ्यता र संस्कृतिको प्रतिनिधित्व गर्ने भएकोले पुरास्थलहरुको जगेर्नाबाट मानव इतिहासले निरन्तरता प्राप्त गर्न सक्दछ । यी विभिन्न स्थानहरु मध्ये गजुलकोटको विशेष महत्व रहि आएको छ ।










