लुम्बिनी, पर्यटन र प्याकेजमा घुमफिर

के.बि. मसाल

मानिस स्वभावले नै विविधता मन पराउँछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाउँ, घर अनि खाना मन पर्दछ । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाउँदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न खोज्दछ । पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण अर्थात घुमफिर हो । घुमफिरले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पर्यटकहरुले रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन अनुसन्धान गर्न सक्दछन ।

लुम्बिनी प्रदेशमा भूवनोट हावापानी र जीवजन्तुको विविधता छ । यी कुराको संयोजनले पर्यटन क्षेत्रमा विकास भएको छ । उच्चपहाडी भेगमा पाइने जनावर र वनस्पति पहाड र तराइका भन्दा फरक छ । जस्तै हिमालमा डाँफे चरा पाइन्छ भने तराइमा गरुड वा हाँडीफोर र मयुर पाइन्छ । डाँफे चरा हेर्न चाहने पर्यटकले हिमाली क्षेत्रमा जानु पर्दछ भने हाँडीफोर र मयुर हेर्न तराइ झर्नु पर्दछ । लुम्बिनी प्रदेश एतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदामा पनि धनि छ । प्रदेशको हरेक जिल्लामा ग्रामीण क्षेत्रमा चिटिक परेका बस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले ऐतिहासिक महत्वका ठाउँहरुले पर्यटकहरुलाई आकर्षण गर्दछ । प्रदेशका जिल्लामा कला, भाषा, संस्कृति र भेशभूषा पनि फरक छ । थारुहरुको मौलिक थलो दांङ र मगरहरुको मौलिकता जीवन्त भेटिने पाल्पा, रोल्पा र पूर्वी रुकुमका गाउँहरु पर्यटनका लागि सामाजिक सास्कृतिक सम्पदा हुन । प्रदेश भित्र ऐतिहासिक गढी, कोट र किल्लाहरु, भुरेटाकुरे राजाका पालाका दरबार इतिहासमा रुचि भएका पर्यटकहरुलाई रोजाइमा पर्ने गर्दछ । लुम्विनी प्रदेशमा पर्यटकहरुको लागि रोल्पा रुकुममा गुरिल्ला पदमार्ग बनेको छ । पदमार्गमा सजिला अप्ठयारा हिमाली र पहाडी भूगोल छ । पर्यटनका लागि लुम्बिनी प्रदेशमा ऐतिहासिक, प्राकृतिक र धार्मिकस्थलहरु धेरै छन् । पछिल्लो समय लुम्बिनी प्रदेश पर्यटन भित्र केही मानव निर्मित पर्यटकीय सम्पदा पनि बनेका छन ।

लुम्विनी प्रदेशमा घुमफिर गर्दा प्याकेज कार्यक्रम मिलायर घुम्दा राम्रो हुन्छ। तर, धेरै पर्यटकहरुमा प्याकेजमा घुमफिर गर्ने संस्कृति छैन । प्याकेज भनेको आबधिक योजना हो । आजभोली पर्यटनको क्षेत्रमा पनि प्याकेज शब्द प्रयोग हुन थालेको छ । घुमफिरको लागि यात्राको योजना बनाएर घुम्दा सुरक्षित मात्र नभएर धेरै कुरामा सजिलो हुन्छ । पर्यटनको प्याकेजमा कतिजना जाने, कति दिनको घुमफिर गर्ने ? पदयात्रा गर्ने कि नगर्ने ? कुन-कुन ठाउँमा बास बस्ने ? र यसका लागि कति रकम आवस्यक पर्दछ भन्ने कुरा तय हुन्छ । पर्यटनको क्षेत्रमा आजभोली प्याकेजमा विद्यार्थी, संघसंस्थाका मानिसहरु र युवाहरु पनि प्याकेजमानै घुमफिरमा निस्कन थालेका छन । अहिले सकेसम्म पारिवारिक र साथीहरुको समूह बनाएर यात्रामा निस्कने बानी पनि धेरैमा हुने गरेको छ । प्याकेजमा घुमफिर गर्दा यात्रामा सजिलो मात्र हुने होइन खर्च र घुमफिरको समयमा समेत बचत हुन्छ । प्रदेशमा घुमफिर गर्नका लागि खाना बस्न धेरै ठाउँमा होटल र होमस्टे सुविधा छ । प्रायः सबै गाउँ ठाउँमा सडक यातायातको पहुच मार्ग बनेको छ । तर पनि प्रदेशको पहाडी जिल्लाहरुमा जादा साना सवारी साधन बलेरो र स्कारपिओ जस्ता गाडी प्रयोग गर्दा सजिलो, छिटो र भरपर्दो पनि हुन्छ ।

लुम्बिनी प्रदेशमा घुमफिर गर्ने ठाउँहरु धेरै छन । विश्वका दुइ अर्व मानिसको आस्थाको केन्द्र लुम्बिनी र एसियाकै ठूलो उपत्यका दाङ उपत्यका लुम्विनी प्रदेश भौगिलिक विविधतासहितको धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको संगम पनि हो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन सिकार आरक्ष र रोल्पा रुकुमको गुरिल्ला पदमार्ग बुटवलको ऐतिहासिक जितगढी किल्ला, पाल्पा दरबार, रानीमहल, अर्घाखाँचीको सुपादेउराली, पाणिनी तपोभूमि, गुल्मीको रिडी, रेसुंगा, दाङको धारापानी, रत्ननाथ र अम्बिकेश्वरी मन्दिर प्युठानको स्वर्गद्वारी, बाँकेको बागेश्वरी जस्ता धार्मिक केन्द्रले तीर्थाटनका पर्यटकहरुलाई मुख्य आकर्षण गर्दछ । चराहरुको स्वर्ग भनेर चिनिने कपिलबस्तुको जगदिशपुर तालसँगै प्रदेशमा रहेका अन्य तालतलैया पनि पर्यटनका लागि उत्तिकै महत्वपूर्ण छन । घुमफिरको प्याकेज बनाउदा नै घुम्ने ठाउँको तय गर्न पर्दछ । लुम्बिनी प्रदेशमा उत्तरमा पूर्वी रुकुमको पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणीदेखि पश्चिममा बर्दियाको राजपुरसम्मको भूगोल पर्दछ । हिमाल पहाड र तर्राईको भूगोलमा फैलिएको प्रदेश पर्यटकहरुलाई एकै पटकमा घुम्दा समय धेरै लाग्दछ । लामो समय घुमफिरमा बिताउदा पर्यटकहरुलाई पट्याड पनि लाग्न सक्दछ । त्यसैले घुमफिरको प्याकेज बनाउदा प्रदेशको भूगोललाई टुक्राउन पनि सकिन्छ । घुमफिरको प्याकेज सजिलोको लागि पर्यटकहरुले हिमाल, पहाड, तराइलाई घुम्नको लागि अनकुल मौसमलाई बिचार गरी भिन्न-भिन्न समयमा पनि प्याकेज बनाउन सक्दछन ।

लुम्विनी प्रदेशमा पूर्वमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, पूर्वी रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके र वर्दिया समेत गरी १२ जिल्ला पर्दछ । हिमालदेखि पहाड, भित्री मधेश र तर्राई समेत यो प्रदेशमा पर्दछ । पर्यटकीय हिसाबले अधिकांश स्थल धार्मिक क्षेत्रसंग जोडिएको छ । मुक्तिनाथदेखि बग्दै आउने कालिगण्डकीले बाग्लुङ र गुल्मी जिल्लाको सीमा पालुङखोलादेखि पाल्पा र नवलपरासीको पूर्वी भाग बुलिङटारसंग सिमा बनेको काली नदीको घुमाउरी घाटसम्म दर्जनौ धार्मिकस्थलहरु रहेका छन । कतिपय पर्यटकहरु तीर्थाटनका लागि कालिगण्डकीका घाटहरुमा घुमफिर गर्न रुचाउने हुन्छन । अहिले कालिगण्डकी करिडोरले राम्दीघाटदेखि रानीघाट बाहेक अन्य ठाउँमा सडक निर्माण भएको छ । तानसेनबाट रानीघाट पुगेपछि कालिनदी किनार किनारै रिडी, रुद्रवेनी भएर मिर्मी अथवा बाग्लुङ तिर पनि पुग्न सकिन्छ । अर्को तर्फ राम्दीदेखि पूर्वी पाल्पाको रामपुर हुँदै नवलपुर भएर नारायणघाट समेत पुग्न सकिन्छ । पर्यटकहरुलाई नदेखेको नयाँ ठाउँ, प्राकृतिक रुपले सुन्दर ठाउँको घुमफिरले बेग्लै स्फूति भरि दिन्छ । नयाँ ठाउँको घुमफिरबाट पर्यटकले नयाँ-नयाँ ज्ञान र चेतनाको निर्माण गरी रहेका हुन्छन । नयाँ ठाउँ, नयाँ मानिस, नयाँ स्वाद, नयाँ परिवेशले पर्यटकलाई बेग्लै अनुभूति गराउँछ ।

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । बुद्धको जन्मस्थल लुम्बिनी विश्व मानवको साझा सम्पति भएकोले लुम्बिनीलाई १९९७ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको छ । लुम्बिनी प्रदेशको घुमफिर गर्दा गौतम बुद्धको जन्मस्थल पुगेन भने पर्यटकहरुको घुमफिरनै अधुरो हुन्छ । लुम्बिनीको बिहार क्षेत्रलाई दुइ भागमा बिभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टी थेरवादी र पश्चिमपट्टी महायानिहरुको लागि पलटहरु छुट्टाइएका छन् । पूर्वपट्टी नेपाल, भारत, श्रीलंका, म्यान्मार, कम्बोडिया, क्यानडा र थाइल्याण्डले आ-आफ्नो राष्ट्रिय पहिचानमा बिहार तथा अतिथिगृह निर्माण गरेका छन् । पश्चिमपट्टी नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मन, भेतनाम, क्यानडा आदि मुलुकका सरकार तथा संस्थाहरुले पनि आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तूपहरु तयार गरेका छन् । केन्द्रीय नहरको दक्षिण र दक्षिण-पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् । सर्कुलर लेभिको बीचमा अवस्थित पुरातात्विक बगैंचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, स्तूप र विहारका स्मारकहरु रहेका छन् । लुम्बिनीमा विभिन्न देशका उपासक-उपासिकाहरु आ-आफ्नै संस्कृति र परम्पराअनुसारको आचरण गर्दछन । यस हिसाबले लुम्बिनीलाई खुल्ला विश्व बौद्ध संगमस्थल पनि भन्न सकिन्छ ।

पर्यटकहरु लुम्बिनी प्रदेशको घुमफिरमा इतिहास र संस्कृतिको अध्यन अनुसन्धान गर्न रुचि राख्न खोज्दछन । नेपाल-अंग्रेज युद्धको नालिबेली अध्यन गर्न रुपन्देही र पाल्पाको सिमा नुवाकोटगढीमा पुग्दछन । नेपाल-अंग्रेज युद्धमा नेपालीले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्ला नुवाकोटगढी हो । अर्को तर्फ गौतम बुद्धका बाबु शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका ऐतिहासिक तथा पुरातात्विक क्षेत्र पाल्पा र रुपन्देहीको सिमा नुवाकोटगढी हो । नुवाकोटमा भगवती मन्दिर, भैरवकामना मन्दिर, खडग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, हतियार राख्ने र लुकाउने खरखजाना घर छ । बुद्धकालीन संरचना झल्काउने राजा शुद्धोधनका गुरु ऋषि कालदेवल आशुतोषको आश्रमस्थल, रानीकुवा लगायत ऐतिहासिक र पुरातात्विक संरचना रहेका छन । नुवाकोटगढी ऐतिहासिक स्थल मात्र नभएर प्राकृतिक भ्युटावर पनि हो । नुवाकोटगढी हुदै परापूर्वकाल देखिनै बुटवल, भैरहवा भएर भारतिय भूमीमा आउजाउ गर्ने मुख्य पदमार्ग पनि हो । कतिपय पर्यटकहरुले आफ्ना पूर्वज यात्रा गरेको पदमार्गको समेत स्मरण गर्न सक्दछन । अहिले बुटवलदेखि नुवाकोटगढीसम्म केवुलकारको निर्माण समेत हुन थालेको छ ।

पर्यटनका लागि तानसेनको प्राकृतिक दृश्य, भगवती, अमरनारायण, अमर महादेव, अमर भैरव र अमर गणेशका मन्दिरहरु पनि सांस्कृतिक रुपले तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । पाल्पामा घुमफिर गर्दा कालीगण्डकी किनारको रानीमहल पुग्नै पर्ने हुन्छ । खडगशमशेरले वि.सं. १९४९ सालदेखि निर्माण सुरु गरेको रानीमहलदरबार १९५५ सालमा पूरा भएको थियो । दिवंगत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’का रुपमा लिइने गरिन्छ । तेजमहल पछि गएर रानीघाट हुँदै रानीमहलमा परिणत भएको हो । यसलाई नेपालको ताजमहल पनि भन्ने गरिन्छ । यो रानीमहलको अर्को नयाँ ब्रान्ड पनि हो । यसै नामबाट रानीमहल अहिले सर्वत्र परिचित छ । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुइवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुडिकलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुइ मन्दिर छन् । यस महलको पूर्व तिर खडग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र बिचको तलामा खडग शमशेरका कोठाहरु रहेका छन् । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इट्टाबाट बनाइएका खुडिकलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । तानसेनको श्रीनगरले सबै प्रकृती प्रेमीहरुलाई मनमुग्द बनाइदिन्छ । श्रीनगरको डाडाबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, गौरीशंकर जस्ता हिम श्रृखंलाहरुको दृष्यावलोकनका साथै तानसेन भन्दा दक्षिण पट्टीको माडीफाट अवलोकन गर्न सकिन्छ ।

कालीगण्डकी र रिडी खोलाको सगम तथा स्याङजा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा रहेको रिडी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो । अहिले रिडीमा स्याङजा, पाल्पा र गूल्मी जोडने तिनमुखे झोलुङेपुल समेत निर्माण भएको छ । सांस्कृतिक एवं प्राकृतिक सम्पदाले परिपूर्ण गुल्मीको रेसुङ्गा मानव सृष्टिसँग संबद्ध, भृगु ऋषिको तपोभूमि, रुरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षि, राजर्षि, देवर्षि एवं ब्रमार्षिको वासस्थानयुक्त सुनौलो थलो हो । स्वदेशी उपज, मूर्तिपूजा, कर्मकाण्ड र जातपातको विरोधी जोसमनी सम्प्रदायको मूलथलो नै रेसुङ्गा हो । अर्को तर्फ पर्यटनका लागि चारपाला पुग्न सके राम्रो हुन्छ । चौबीसी राज्यहरुमा गुल्मी राज्यको चारपाला राजधानी थियो । अर्घाखाचीमा पर्यटकहरले खाँचीकोट र अर्घाकोटको ऐतिहासिक महत्व र कोटमा रहेका देवीको मन्दिरमा तीर्थाटन गर्न सक्दछन । खाँचीकोट दरवारका पुराना हातहतियारहरु संरक्षण गरी शक्ति पीठमा राखी दसैंमा पूजा गर्ने प्रचलन छरु । दरवारका पुराना ढाल, तरवार, खुँडा र बन्दुक समेत पर्यटकहरुले देख्न सक्दछन । अर्घाखाँचीको सुपादेउराली र पणेना तपोभूमी धेरै पर्यटक पुग्ने गर्दछन । बल्कोट अर्घाखाँचीमा ऐतिहासिक थलो हो । बल्कोटको मथुराबेसीमा जंगबहादुर राणाको जन्म भएको थियो ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न गौंमुखी प्यूठान जादा पर्यटकहरु पुग्दा राम्रो हुन्छ । झिमरुक नदीको उदगमस्थल गौमुखीमा रहेको गुफाको कुनामा गाईको मुख जस्तो आकारबाट छङछङ गरी पानी निक्लेको छ । प्यूठानमा पुगेपछि पर्यटकहरु स्वर्गद्वारी पुगेकै हुन्छन । स्वर्गद्वारी सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले रमणीय छ । स्वर्गद्वारीमा वैशाखपूर्णिमा र गुरुपूर्णिमा धेरै तीर्थाटनका पर्यटकहरु पुग्दछन । प्यूठानको दक्षिण-पश्चिममा पर्ने ऐरावती तथा यसको अलावा प्यूठानमा भाइटीकाको भोलिपल्ट तृतीयादेखि पञ्चमी तिथिसम्म तीन दिन डल्ले सरायँ -विजुवारनेर), क्वाडी सराय -चितिखोला) र दाखाक्वाडी हिक्मतेश्वर बगैंचाको मेला पनि प्रख्यात छन् । यिनमा लट्टीखेल र तारवारखेल आदि हुन्छन् । विजुली कोटको जात्रा, सारीवाङको मसानपाटीमा हुने कार्तिके जात्रा र मरन्ठाना ठूलासिमको मेला आदि अवसर पनि उल्लेखनीय मेला हुन । खलंगामा घण्टाकर्णदेखि ऋषितर्पणी पूर्णीमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जाजा, गणेशजात्रा, कृष्णजात्रा र खरजात्रा -माघे पूर्णीमाको दिन) लाग्दछ । यी जात्राहरु सदरमुकाममा मनाउने हुँदा प्यूठानका अतिरिक्त छिमेकी जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाँचमा पुरुसुङ्गे नाँच, मारुनी नाँच, माडीखोले नाँच र अन्य लोकनृत्य निकै रमाइला छन ।

रोल्पामा अवस्थित विभिन्न सम्पदाहरु मध्ये गजुलकोट, खंग्रिकोट, खुंग्री त्रिपुरेश्वरी, घोडागाउँ खडगस्थान, जलजला, तालावाङ कैलावराह, नौलादेवी पाटेश्वर, लिवाङ तथा गैरागाउँ कालिका आदि स्थानहरु विशेष महत्वपूर्ण छन् । यी विभिन्न स्थानहरुमा रहेका स्मारक तथा कलावस्तुहरु धार्मिक आस्थाको आधारमा सुरक्षा तथा संरक्षण हुँदै आएका छन् । प्रत्येक स्मारक तथा कलावस्तुले समसामयिक मानव सभ्यता र संस्कृतिको प्रतिनिधित्व गर्ने भएकोले पुरास्थलहरुको जगेर्नाबाट मानव इतिहासले निरन्तरता प्राप्त गर्न सक्दछ । यी विभिन्न स्थानहरु मध्ये गजुलकोटको विशेष महत्व रहि आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker