तनहुँमा चितुवा आतंक : घरआँगनमा खेलिरहेका बालकलाई दिउँसै आक्रमण गर्दा ज्यान गयो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा चितुवा आतंक अझै रोकिन सकेको छैन । पछिल्लो केही महिना सुस्ताएको चितुवा आतंक पुनः बढ्न थालेको छ । मंगलबार दिउँसो करिब ४:४५ बजेको समयमा घरको आँगनमा खेल्दै गरेका एक बालकलाई चितुवाले आक्रमण गर्द ज्यान गएको छ । बन्दिपुर गाउँपालिका-१ बडीस्वाँराका प्रेम बगाले मगरका चार वर्षीय छोरा सुप्रिमको चितुवा आक्रमण परि ज्यान गएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उनले भने, ‘दिदीसंगै घरको आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चितुवाले आक्रमण गरेको रहेछ ।’

उनीसंगै खेल्दै गरेकी ६ वर्षीय दिदी अचानक रुन कराउन थालेपछि नजिकै रहेकी आमा दौडदै आउँदा चितुवाले छोरो च्यापेर जंगलतर्फ उक्लदै गरेको देखिन् । तत्काल हारगुहार गरी पिछा गर्दा घरदेखि दुइ सय मिटर माथी छपेली सामुदायिक वनमा बालक मृत अवस्थामा भेटिएका थिए । चितुवाले बालकको घाँटीमा गहिरो चोट बनाई रगत चुसेको अवस्थामा भेटिएको घटनास्थल पुगेका वडाध्यक्ष श्रेष्ठले बताए।

जंगलको बिचमा रहेका २/३ वटा घर र मानिसहरुको त्यती चहलपहल नहुने ठाउँमा बस्दै आएका प्रेमका परिवारले चितुवाको कारण छोरा गुमाउनु परेको छ । बालककी आमा सुकमाया वगाले मगर अहिले अचेत अवस्थामा छिन् । उनिसंगै रहेकी छिमेकी अप्सरा परियार पनि बोल्न सक्ने अवस्थामा छैनन् ।

उक्त घटनाको प्रत्यक्षदर्शी अप्सरा अब आफ्नी छोरी कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा छिन् । ‘छोरीसंगै खेलेको छोरालाई आफ्नै आँखा अगाडि चितुवाले लग्यो’, उनले भनिन्, ‘हामी काम गरी खाने मान्छे काममा भुलेको अवस्थामा छोराछोरी कसरी सुरक्षित बनाउने चिन्ता बढेको छ ।’ बालक सुप्रिमलाई अभिभावकले यसै शैक्षिक सत्रदेखि बन्दिपुर स्थित दिल प्राथमिक विद्यालयमा भर्ना गराएका थिए ।

घटनाको खबर पाए लगत्तै घटनास्थल पुगेका वडाध्यक्ष श्रेष्ठले भने, ‘चितुवाको आक्रमणमा परेको थाहा पाउने बित्तिकै हामी खोज्दै आउँदा जंगलमा मृत अवस्थामा भेट्यौ । बालकको घाँटीमा चितुवाले आक्रमण गरेको छ, उनको कट्टु घर भन्द केही पर झाँडीमा भेटिएको थियो ।’

यस्तै, केही दिनयता बन्दिपुरमा चितुवाको आतंक बढेको छ । गत शनिबार साँझ र आइतबार बिहान चितुवाको आक्रमणबाट बन्दिपुर-१ र ४ मा दुइ जना घाइते भएका छन् । बन्दिपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट दुइ जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखि पासो थापिएको छ । पासोमा चितुवा नपरेको र झन दिउँसै घरमै आई बालबालिकालाई आक्रमण गर्न थालेपनि स्थानीय त्रसित बनेका छन् ।

वि.सं. २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ जना बालबालिकाले ज्यान गुमाएका छन् भने १४ जना चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

तनहुँमा बिगत पाँच वर्षदेखि चितुवा आतंक बढ्दै आएको छ । २०७४ फागुन महिनादेखि तनहुँमा चितुवाले मानव बस्तिमा आई बालबालिकालाई आक्रमण गर्न थालेको थियो । केही महिना सुस्ताएको चितुवा आतंक पुनः बढ्न थालेको छ ।

गत शनिबार राती मात्र चितुवाले बन्दिपुरका दुइ जनालाई घरमै आएर आक्रमण गरेको छ । बन्दिपुर गाउँपालिका-४ मा शनिबार राति ८ः३० बजे चितुवाको आक्रमणबाट ८ वर्षीया रियाना थापा घाइते भइन् । त्यसको ६ घण्टा बित्न नपाउँदै रियानाकै छिमेकी बन्दिपुर-१ बागदलेका ३५ वर्षीय भीमलाल गरञ्जालाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।

आमाबुवा बजारबाट घर तर्फ आउँदै गरेको देखेर घरबाहिर निस्किएकी बालिकालाई सोही मौका छोपि चितुवाले आक्रमण गरेको थियो । बुबाआमा तत्काल दौडिएर आउने बित्तिकै चितुवा भाग्दा रियाना बच्न सफल भइन् । उनको घाँटीमा चितुवाले आक्रमण गरेपनि सामान्य घाइते भएकी छन् ।

त्यस्तै, आफ्नै घरको पिढीमा सुतिरहेका भीमलाललाई चितुवाले बिहान २ः३० बजेको समयमा आक्रमण गरेको थियो । चितुवाले बालिकाको घाँटीमा र भीमलालको खुट्टामा आक्रमण गरेको छ । उनीहरुको डुम्रेस्थित मोती मेडिकल हलमा उपचार गरिएको छ । दुवैजनाको स्वास्थ्यअवस्था सामान्य रहेको मेडिकल सञ्चालक एवं बन्दिपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले बताए ।

जिल्लामा बिगत पाँच वर्षदेखि चितुवा आतंक बढेको छ । चितुवा आतंक रोक्नका लागि अनेक प्रयासहरु गरिएपनि यो क्रम रोकिएको छैन । बन्दिपुरमै गत वर्ष चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवा आतंक देखिन थालेको छ । यसरी घरघरमै आई चितुवाले मनिसहरुमाथी आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बन्न थालेका छन् ।

वि.सं. २०७४ फागुन यता चितुवाको आक्रमणबाट जिल्लामा ११ जना बालबालिकाले ज्यान गुमाएका छन् भने १४ जना घाइते भएका छन्। जिल्लाको भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक बढि थियो । यस क्षेत्रमा केही न्यूनिकरण भएपनि अहिले आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतंक देखिन थालेको छ ।

चितुवाको आक्रमणबाट २०७४ यता भानुमा ६, आँबुखैरेनीमा एक, बन्दिपुरमा ३ र शुक्लागण्डकीमा २ गरी १२ जना बालबालिकाको ज्यान गुमाईसकेका छन् । यस्तै यो अवधिमा करिब ३४ वटा चितुवा मृत अवस्थामा भेटिएका थिए भने १९ वटा चितुवा सुरक्षित नियन्त्रणमा लिइ स्थान्तरण गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

साँझ तथा बिहानको समयमा मानिसको घर आँगनमै चितुवा आएर बालबालिकालाई आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय तनहुँ र सम्बन्धित पालिकाको समन्वयमा चितुवा नियन्त्रणका कामहरु भएपनि प्रभावकारी बन्न सकेका छैनन् ।

यस्तै, चितुवा प्रभावित क्षेत्रका सामुदायिक वन लगायतका क्षेत्रमा परम्परागत काठको खोर तथा पासो थापेर चितुवा नियन्त्रणमा लिई अन्यत्र स्थान्तरण गर्ने, वन्यजन्तुलाई वनमै भुलाउन खानेपानीको श्रोत संरक्षण, पोखरी निर्माण फलफूलका बिरुवा रोपण लगायतका कार्य गरिएको सहायक वन अधिकृत काशीराम पण्डितले बताए ।

पुनः चितुवा आतंक बढेको हुँदा साँझ बिहानको समयमा घर वरावर बत्ति बाल्न, घरवरापराका झाँडी सफा गर्न र बालबालिकालाई एक्लै नछोड्न उनले आग्रह गरे । वनमा चितुवाका आहारा प्रजाति मृग, बदेल, खरायो, वनकुखुरा आदि लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिका माथि आक्रमण गर्न थालेको डिभिजन अधिकृत कोमलराज काफ्लेले बताए ।

‘चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान होइन’, उनले भने, ‘चितुवा आतंक रोक्नका लागि चितुवालाई आवश्यक पर्ने खाना, पानी, चितुवाको आहार प्रजातिका खानेकुराको जंगलमै व्यवस्था गर्दै चितुवाको संरक्षण गर्ने कार्यक्रम अगाडि बढाइएको छ ।’

नेपाल सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । सो बामोजिम पीडित भएका परिवारलाई करिब डेढ करोड बढि राज्यले राहत समेत वितरण गर्नुपरेको छ भने बाली र पशुधनको क्षति पनि ठूलो भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker