विदेशको कमाइ गाउँमै : गाईपालनबाट ईश्वरको वार्षिक झन्डै १५ लाख आम्दानी

तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ का ईश्वर कार्कीले व्यावसायिक गाईपालनलाई आम्दानीको भरपर्दो माध्यम बनाएका छन् । गाईपालनबाट उत्पादित दूध बिक्री गरेर उनले एक वर्षमा झन्डै १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । विदेशमा गर्ने मेहनत र परिश्रम आफ्नै गाउँमा पशुपालनमा लगाउन सके स्वदेशमै राम्रो कमाइ गर्न सकिने उनको अनुभव छ ।

दूध उत्पादनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङस्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले कार्कीलाई सम्मान गरेको छ । सहकारीको शनिबार सम्पन्न ३०औँ वार्षिक साधारण सभामा उनलाई सर्वोत्कृष्ट दूध उत्पादक किसानका रूपमा पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

संस्थाका उपाध्यक्ष टीकाराम गिरीका अनुसार कार्कीले एक वर्षको अवधिमा २३ हजार ५३८ लिटर दूध बिक्री गरेर १४ लाख ९४ हजार ५१६ रुपैयाँ आम्दानी गरेका थिए । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तुलसीराम सापकोटा र सहकारीका अध्यक्ष दीपक कार्कीले उनलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

दूध उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि कार्कीले आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएका छन् । हालको उत्पादनलाई अझ बढाउन थप १० वटा गाई पाल्ने तयारीमा रहेको उनले सुनाए ।

विदेशमा रोजगारीका लागि जाने युवाले त्यहाँ गर्ने दुःख र मेहनत आफ्नै माटोमा व्यावसायिक कृषि तथा पशुपालनमा लगाउन सके राम्रो आम्दानी गर्न सकिने उनको सुझाव छ । तर, यसका लागि किसानलाई उत्पादनमा मात्र होइन, बजार र मूल्यमा समेत ढुक्क हुने वातावरण आवश्यक रहेको उनले बताए ।

उनले भने, ‘विदेशमा गर्ने मेहनत आफ्नै गाउँमा पशुपालनमा लगाउन सके राम्रो आम्दानी गर्न सकिन्छ । त्यसका लागि किसानलाई प्रोत्साहन गर्ने, उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्ने किसानमैत्री योजना तीनै तहका सरकारले ल्याउनुपर्छ ।’

सहकारीले प्रदान गरेको बजार र नियमित भुक्तानीको सुविधाले पनि दूध उत्पादनमा लाग्न किसानलाई सहज बनाएको छ । सहकारीले प्रत्येक १५ दिनमा दूधको भुक्तानी गर्दै आएको छ भने संकलन तथा ढुवानीको व्यवस्था मिलाएको छ । किसानले उत्पादन गरेको दूध खेर जान नदिई सबै खरिद गर्ने व्यवस्था गरिएको संघका अध्यक्ष सापकोटाले जानकारी दिए ।

यसैगरी, सहकारीले दूध उत्पादनका आधारमा दोस्रो र तेस्रो स्थान हासिल गर्ने किसानलाई पनि सम्मान गरेको छ । दोस्रो हुनुभएकी सावित्री सुवेदीले आठ हजार ६९२ लिटर दूध बिक्री गरेर पाँच लाख ३८ हजार ९१० रुपैयाँ आम्दानी गरेकी छन् । तेस्रो भएका ७४ वर्षीय रुद्रनिधि नैनाबस्तीले पाँच हजार ९४६ लिटर दूध बिक्रीबाट तीन लाख ८० हजार ५८८ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । तीनै जना किसानलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले कृषि तथा पशुपालनलाई गाउँपालिकाले प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । दूध उत्पादनमा दिइने अनुदानले किसानलाई व्यवसायप्रति प्रोत्साहित गर्नुका साथै चाडपर्वका बेला घरखर्च व्यवस्थापनमा समेत सहयोग पुगेको उनको भनाइ थियो ।

संघका अध्यक्ष सापकोटाले दूधको बजार र भुक्तानी सुनिश्चित हुनु नै व्यावसायिक पशुपालनको मुख्य आधार भएको बताए । किसानले उत्पादन गरेको दूध बिक्री नहुने वा भुक्तानी नपाइने समस्या नहुने वातावरण बनाउन सके उत्पादन बढाउन थप उत्साह मिल्ने उनले उल्लेख गरे ।

कार्यक्रममा व्यास नगरपालिका–१२ का वडा सदस्य हर्कबहादुर कार्की र बन्दीपुर गाउँपालिका–१ का वडा सदस्य प्रेमबहादुर शाहीले उत्पादन लागतअनुसार दूधको मूल्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए । पशुपालनमा किसानको आकर्षण बढाउन उत्पादनको उचित प्रतिफल र बजारको सुनिश्चितता आवश्यक रहेको उनिहरुको भनाइ थियो । साधारण सभाको अवसरमा सहकारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै व्यवस्थापक भीमबहादुर अर्याललाई पनि सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker