टुटेपानी सामुदायिक होमस्टे : विभिन्न व्यक्तिको सहयोगमा संग्रहालय र आवश्यक पूर्वाधार निर्माण
भञ्ज्याङ समाचारदाता/तनहुँ

गण्डकी प्रदेशकै नमुना सामुदायिक होमस्टेको पहिचान बनाएको तनहुँको भानु नगरपालिका-१३ मिर्लुङस्थित टुटेपानी सामुदायिक होमस्टेले पर्यटकलाई आकर्षित गर्न संग्रहालय निर्माण गरेको छ ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक हिसावले महत्वपूर्ण गन्तव्य रहेको होमस्टेले गुरुङ समुदायको परम्परागत संस्कृति तथा पहिचान झल्कने गरी संग्रहालय निर्माण गरेको छ ।
होमस्टेमा आउने पाहुनालाई गुरुङ समुदायका परम्परागत संस्कार, संस्कृतिका विषयमा जानकारी गराउने तथा नयाँ पुस्तालाई समेत आफ्नो धर्म संस्कृतिका विषयमा जानकार गराउने उद्देश्यका साथ करिब २६ लाख रुपैयाँ खर्चिएर संग्रहालय भवन निर्माण गरिएको छ ।
टुटेपानी गाउँमा जन्मिए हुर्किएर अन्यत्र गएका तथा विभिन्न पेशा व्यवसायमा रहेका, वैदेशीक राजगारीमा रहेका दाजुभाई, चेलिबेटी तथा विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा गुरुङ संग्रहालय भवन निर्माण गरिएको टुटेपानी सामुदायिक होमस्टेका निवर्तमान अध्यक्ष क्या. होम बहादुर गुरुङले बताए ।
‘हाम्रो मुख्य उद्देश्य गुरुङ समुदायको संस्कार संस्कृति संरक्षण गर्दै होमस्टेमा आउने पाहुना तथा हाम्रा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्य हो’, उनले भने, ‘हाम्रो यस अभियानलाई हाम्रै दाजुभाई, छोरीचेली तथा विभिन्न महानुभाव तथा संघ संस्थाले गर्नुभएको आर्थिक सहयोगबाट भवन निर्माण गर्न सफल भएका छौं ।’

उक्त भवनमा निर्माण गरिएको संग्रहालयमा गुरुङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने वस्तु, परम्परागत संस्कृति तथा पहिचान झल्कने भेषभूषा लगायतका सामाग्रि राख्ने गरी काम गरिरहेको निवर्तमान अध्यक्ष क्या. गुरुङले बताए ।
यस्तै, गाउँको खानेपानी समस्या समाधान, आमा पार्टीको भवन तथा होमस्टेले सामुहिक रुपमा खाना पकाउन प्रयोग गरिने भवन हाल अमेरिका निवासी भक्तसिंह गुरुङले निर्माण गरिदिएका छन् ।
टुटेपानी जन्मथलो भई हाल अमेरिका बस्दै आएका गुरुङले गाउँको खानेपानी समस्या समाधानका लागि करिब ४ लाख २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । उक्त रकमबाट स्थानीय पधेरो पुनः निर्माण गरी गाउँबासीले हाल खानेपानी उपाभोग गर्दै आएका छन् ।
यस्तै उनले आफ्नो बुबाआमाको सम्झनामा सुनादेवी मन्दिरको पार्टी भवन निर्माण गरिदिएका छन् भने करिब ३ लाख २६ हजार रुपैयाँको लागतमा होमस्टेका लागि भान्छाघर निर्माण गरिदिएको होमस्टे सञ्चालक समितिका सचिव अम्मर बहादुर गुरुङले बताए ।
उक्त भान्छाघरको हालै भक्तसिंह गुरुङले उद्घाटन गर्दै आफु अहिले विदेशी मुलुकमा बसेपनि आफ्नो गाउँठाउँको विकास र समृद्धिका लागि सधै लागि पर्ने बताएका छन् । पूर्व ब्रिटिस आर्मी समेत रहेका उनले टुटेपानीका आमा समुहलाई पोशाक समेत उपलब्ध गराएका छन् ।
तनहुँको दोश्रो अग्लो पहाड मिर्लुङकोटको काँखमा रहेको टुटेपानी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गुरुङ समुदायको रहनसहर, संस्कृति, स्थानीय उत्पादनका खानका परिकारका साथै हरिया वनजंगल, हिमाल, पहाडका तरेली लगायतका प्राकृतिक मनोरम दृष्य अवलोकनका लागि उत्कृष्ट गन्तव्य रहेको यस होमस्टेमा अहिले मासिक करिब तीन सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् ।
१६ घरमा सञ्चालन गरिएको होमस्टेमा एक रातमा ६० जना पाहुना बस्न सक्ने क्षमता रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष कौशिला गुरुङले बताइन् । विशेष गरी सामुहिक रुपमा पर्यटक यहाँ पुग्ने गर्दछन् । होमस्टे सञ्चालकहरुले पाहुनालाई गुरुङ परम्परा अनुसार बासुरी, मादल बजाएर तथा गुरुङ संस्कृति अनुसार स्वागत गर्ने गरिएको अध्यक्ष गुरुङले बताइन् ।

होमस्टेमा एक रात बास बस्नेले प्याकेजमा एक हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । प्याकेजमा खाजा, बिहानको नास्ता, साँझ मासु सहितको खाना खुवाउने गरिन्छ । यस्तै, बिहानको खाना समेत खाने पाहुनालाई सादा खाना खुवाउने र त्यस बापत प्याकेज सहित एक हजार दुइ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै, होमस्टेमा आउने पाहुनालाई गुरुङ समुदायको घाँटु, चुड्का, पाउदुरे नाच, लोकदोहोरीका साथै विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्ने गरिएको अध्यक्ष गुरुङले बताइन् ।
यस्तै, सडकको अवस्था सहज नहुँदा होमस्टे आउने पाहुनाले निकै सास्ती झेल्नुपरेको होमस्टेका सचिव अम्मर गुरुङले बताए । उनले भने, ‘नगरपालिकाले पनि होमस्टेसम्म पुग्ने बाटोको स्तरोन्नती तथा होमस्टे प्रवर्द्धनमा ध्यान दिन सकेको छैन ।’
सडकको समस्या झेल्दै आएको होमस्टेलाई अहिले गाउँका घरका छानामा लगाइएको रङ उढेर खुलिएकोले पनि चिन्तित बनाएको छ । होमस्टे सञ्चालक सबैको आर्थिक अवस्था छानो फेर्न सक्ने अवस्था नभएकाले नगरपालिका तथा अन्य संघ संस्थाले केही आर्थिक सहयोग गरिदएमा एउटै रङको छानो फेर्ने प्रतिक्षामा रहेका छन् । एउटै रङको छानोको पहिचान समेत बनाएको टुटेपानी होमस्टेका घरका छाना अहिले खुलिएर बसेको हुँदा कतैबाट सहयोग जुट्छ कि भन्ने आशामा हामी रहेको सचिव गुरुङले बताए ।










