कृषि तथा गैरकृषि क्षेत्रका निवेदन मालपोतमा सिफारिस गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले कृषि तथा गैर कृषि क्षेत्रका निवेदन अनुमोदन गरी मालपोत कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको भूउपयोग परिषद्को बैठकले नगरपालिकामा सिफारिस भई आएका कृषि तथा गैर कृषि क्षेत्रका निवेदनहरुको अनुमोदन गरी मालपोतमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णय बमोजिम मालपोत कार्यालयले कृषि तथा गैर कृषि क्षेत्र वर्गीकरण नगरी कित्ताकाट र धितोबन्धकका कार्य नगर्ने सूचना जारी गरेपछि नगरपालिकाले मालपोत कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
बैठकले नगर क्षेत्रभित्रका जग्गाहरुको भूउपयोग ऐन, २०७६ को दफा ४(१) बमोजिम भूउपयोग क्षेत्र वर्गीकरण गरी २०७९ असोज मसान्तभित्र पेश गर्न विज्ञ सम्मिलित प्राविधिक समिति गठन गर्ने समेत निर्णय गरेको छ । व्यास नगरपालिका भूउपयोग परिषदको बैठक सम्बन्धी कार्यविधि बनाई १५ दिनभित्र पेश गर्न विधायन समितिलाई जिम्मा दिने निर्णय भएको सिग्देलले बताए ।
त्यस्तै, हाल आएको वर्षातले विभिन्न सार्वजनिक संरचना र व्यक्तिगत धनजनमा पुगेको क्षतिलाई तत्काल सम्बोधन गर्न वडा अध्यक्षको अध्यक्षतामा रहने वडागत विपद् समितिबाट प्राविधिक सहित स्थलगत निरीक्षण गरी अत्यावश्यक, तत्काल पुनःस्थापना गर्न गराउन वडाहरुलाई जिम्मेवारी तोक्ने निर्णय भएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी गराए ।
व्यास नगरपालिकाले हालै आएको वर्षाले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्ने भएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण सार्वजनिक संरचना र व्यक्तिगत धनजनमा पुगेको क्षतिलाई तत्काल सम्बोधन गर्न वडाध्यक्षको अध्यक्षतामा रहने वडागत विपद् समितिबाट प्राविधिक सहित स्थलगत निरीक्षण गरी अत्यावश्यक, तत्काल पुनःस्थापना गर्न गराउन वडालाई जिम्मेवारी दिइएको छ । बैठकले पुनःर्स्थापनामा भएका अत्यावश्यक खर्चहरु विपद् अन्तर्गत सिफारिस गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै, प्रदेश लोक सेवा आयोगले बदर गरेको कर्मचारी बढुवाका लागि आयोगसँग परामर्श गर्ने व्यास नगरपालिकाले निर्णय गरेको छ । बैठकले आयोगबाट बदर भएका १८ कर्मचारीको पुनः बढुवाका लागि आयोगसँग परामर्श गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगबाट प्राप्त स्थानीय तहका कर्मचारी समायोजन, स्तरवृद्धि सम्बन्धी परिपत्रका बारेमा छलफल गरि प्रकृयालाई पूर्णता दिन प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ९(५)(क)(ख) बमोजिम गण्डकी प्रदेश लोक सेवा आयोगसँग परामर्श गर्ने निर्णय भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत पण्डितले बताए ।
नगरपालिकाले कर्मचारी बढुवा गर्दा आयोगको परामर्श लिनुपर्नेमा आयोगको परामर्श बिना नै नगरपालिकाले कर्मचारी बढुवा गरेको थियो । नगरपालिकाले सातौ तहबाट आठौ तहको अधिकृतमा राजेन्द्र कार्की र कुमारकञ्चन जिसीको बढुवा गरेको थियो । छैटौबाट सातौ तहको अधिकृतमा मेघराज आचार्य, गोकर्णराज वाग्ले, रविन्द्रलाल मूल, कृष्णराज घिमिरे र रामचन्द्र हड्खलेको बढुवा भएको थियो।
त्यस्तै सहायक स्तर पाँचौबाट अधिकृतस्तर छैटोमा भेषराज तिवारी, विनोद गौतम, व्यास-५ का वडा सचिव विश्व पौडेलको बढुवा भएको थियो । यसैगरी चौथोबाट पाँचौ स्तरमा व्यास-१३ का सचिव विष्णु जोशी, यमप्रसाद पौडेल र तिलकुमारी शाहीको बढुवा भएको थियो ।










