तनहुँमा फरार थुनुवा र प्रतिवादी पक्राउ, अवैध नदिजन्य पदार्थ नियन्त्रण

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले फरार थुनुवा तथा प्रतिवादी पक्राउ र अवैध नदिजन्य पदार्थ नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । प्रहरीले आइतबार र सोमबार सञ्चालन गरेको विशेष अभियानअन्तर्गत गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय तनहुँबाट फरार भएका ५ जना थुनुवा/कैदीलाई पक्राउ गरी कारागार कार्यालय तनहुँ बुझाएको छ ।
यसैगरी, विभिन्न अपराधमा संलग्न भई सम्मानित तनहुँ जिल्ला अदालतबाट फैसला भइसकेपछि फरार रहेका ७ जना प्रतिवादीलाई नियन्त्रणमा लिई अदालतमार्फत रु. १० हजार ५ सय राजस्व असुल उपर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, ईलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरी टोलीले अवैध नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । ना.६ त ९६२७, बा.प्र.०३–००१ त ०१६१ र म.प्र.०३–००१ त ८३२४ नम्बरका ती ट्याक्टरलाई आवश्यक कारबाहीका लागि देवघाट गाउँपालिकाको कार्यालय बुझाई रु. ४५ हजार राजस्व दाखिला गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादी पक्राउ तथा अवैध गतिविधि नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिने जनाएको छ ।










