व्यास नगरपालिकाले असोज ३ गतेबाट दमौलीमा बुधबारे हाटबजार सञ्चालन गर्ने (अन्य निर्णय सहित)
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले दमौलीमा बुधबारे हाटबजार सञ्चालन गर्ने भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको नियमित बैठकले दमौली बजारमा परम्परागत रुपमा हुने किसानहरुको उपज समेतको बुधबारे हाटबजार पुनः प्रारम्भ गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले असोज ३ गते संविधान दिवसको सन्दर्भमा वडा नं. ३ स्थित कृषि उपज बिक्री केन्द्र समेतमा पुनः प्रारम्भ गर्ने निर्णय गरेको छ । नगरपालिकाले वडा वडामा कृषि उपज संकलन तथा बिक्री वितरणका लागि पूर्वाधार निर्माण गरेपनि हालसम्म सञ्चालनमा ल्याउन सकेको छैन ।
यस्तै, बैठकले नगरपालिका अन्तर्गतका योजनाहरुको सम्झौता प्रक्रिया एवं गाउँ नगर साझेदारी सहकारी सम्बन्धमा कार्यपालिका, सहकारी प्रतिनिधि, वडा सचिव, प्राविधिकहरुको अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको हाल सञ्चालनमा रहेको बहुउद्देश्यीय भवनमा पुराना भवनका शाखा उपशाखा स्थानान्तरण गर्ने र पुराना भवन अमानतमा भत्काउने निर्णय गरेको जनाइएको छ ।
त्यस्तै, बाँदर पीडित किसानहरुको राहत सुबिधाका लागि निःशुल्क सिफारिस दिने र मुचुल्का निर्माण समेतमा सहयोग गर्ने निर्णय गरेको बैठकले नगरपालिका अन्तर्गत सबै वडाहरुको सडक मापदण्ड अध्ययन गरी अन्तिम रुप दिन वडा समितिलाई निर्देशन दिएको छ ।
वि.सं. २०२६/०२७ सालमा बन्दिपुरबाट दमौली सदरमुकाम सार्दा दरैहरुलाई दिनुपर्ने जग्गा शोधभर्नाको कार्य अझै पुरा नभएकाले जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरी सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।
नगरपालिका भित्रका खेलकुदसंग सम्बन्धित क्लबहरुलाई एक महिना भित्र सुचिकृत गर्न नगर खेलकुद समितिलाई निर्देशन दिइएको छ ।
यस्तै, वडा नं. २ मा रहेको गणेशमान पार्कको शालिक क्षेत्र, बुद्धपार्क क्षेत्र, वडा नं. ३ मा भएको महर्षि पार्क क्षेत्रको अध्ययन गरी व्यवस्थित गर्न सुझाब प्रतिवेदन पेश गर्न पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिइएको छ ।