आँवुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । पालिकाका बासिन्दाहरुलाई रोजगारीको अवसरमा दिने उद्देश्यका साथ गाउँपालिकाले लगानी सम्मेलन गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
जलविद्युत्, कृषि, पर्यटन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, साहसिक पर्यटन, औद्योगिक क्षेत्र, हस्पिटालिटी लगायतमा लगानी गरी रोजगारीको अवसरमा ल्याउन लगानी सम्मेलन गर्न लागिएको उनले बताए । अध्यक्ष चुमानका अनुसार पालिकाले आगामी चैतमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।
गाउँपालिकाको आयोजनामा र तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार एकाइको समन्वयमा लगानी सम्मेलन गर्न लागिएको हो । लगानीकर्तालाई गाउँपालिकामा लगानीको अवसरलाई नजिकबाट चिनाउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका लगानीकर्तालाई पालिका बोलाएर लगानी गर्ने वातावरण सिर्जना गर्ने गाउँपालिकाको योजना रहेको छ ।
आर्थिक विकासका लागि ठुलो मात्रामा लगानी आवश्यक भएकाले सम्मेलन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । ठुला लगानीकर्ता, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू, स्वदेशी लगानीकर्ता, विज्ञ र सरोकारवालालाई आमन्त्रित गर्ने योजना बनाइएको उनले बताए । द्रुत गतिमा आर्थिक विकास गर्ने, वैदेशिक मुद्रा भित्राउने, रोजगारी सृजना गर्ने, सरकारको आयलाई बढोत्तरी गर्ने उपयुक्त माध्यम भएकोले लगानी सम्मेलन गर्ने निर्णय भएको उनले बताए ।










