दमौली अस्पतालमा जटिल स्त्रीरोग शल्यक्रिया सफल

दमौली : तनहुँको प्रदेश अस्पताल दमौलीमा पाठेघरमा फाइब्राइड र डिम्बाशयमा डर्मोइड सिस्टसम्बन्धी जटिल समस्याको सफल शल्यक्रिया गरिएको छ । अस्पतालले विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीमार्फत पाठेघर र डिम्बाशयसम्बन्धी जटिल शल्यक्रिया सेवा जिल्लामै उपलब्ध गराएको हो ।
अस्पतालका अनुसार बिरामीको पाठेघर तथा दुवै डिम्बाशय र डिम्बवाहिनी नली हटाउने शल्यक्रिया (टोटल एब्डोमिनल हिस्टेरेक्टोमी विथ बिल्याटरल साल्पिङ्गो–ओफोरेक्टोमी–TAH ± BSO) सफलतापूर्वक सम्पन्न गरिएको छ ।
शल्यक्रियामा स्त्रीरोग विशेषज्ञ डा. सलिना सुवाल र एनेस्थेसियोलोजिस्ट डा. रेश्मा श्रेष्ठसहित स्वास्थ्यकर्मीको टोली संलग्न थियो । अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता, समर्पण र सामूहिक प्रयासबाट शल्यक्रिया सफल भएको जनाएको छ ।
जटिल प्रकृतिका स्त्रीरोगसम्बन्धी शल्यक्रिया सेवा पनि जिल्लामै उपलब्ध हुन थालेपछि बिरामीले उपचारका लागि अन्यत्रका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । विशेषज्ञ चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको उपलब्धतामार्फत गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पतालले सेवा विस्तार गरिरहेको जनाएको छ ।
अस्पतालले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा पनि विशेषज्ञ स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।










