तनहुँ हाइड्रोद्वारा प्रभावित घरपरिवारका युवालाई सवारी चालक तालिम

तनहुँ : तनहुँ जलविद्युत आयोजनाले जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत आयोजना प्रभावित घरपरिवारका युवाहरूलाई लक्षित गरी एक महिने हलुका सवारी चालक (ड्राइभिङ) तालिम प्रदान गरेको छ ।
आयोजनाले प्रभावित क्षेत्र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको आतिथ्यतामा सोमबार एक कार्यक्रमको आयोजना गरी ड्राइभिङ तालिमको समापन गरेको छ। व्यास नगरपालिका–५ चापाघाटमा आयोजित कार्यक्रममा प्रमुख अतिथिबाट तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
तालिममा आयोजना प्रभावित म्याग्दे गाउँपालिकाबाट ५ जना, ऋषिङ गाउँपालिकाबाट ११ जना, भिमाद तथा व्यास नगरपालिकाबाट १०/१० जना गरी कुल ३६ जनालाई ड्राइभिङ तालिम प्रदान गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
उनका अनुसार यस तालिममा ६ जना महिलाहरूको समेत सहभागिता थियो । सहभागीहरूको सहजताका लागि आयोजनाले दमौली र भिमादमा तालिम सञ्चालन गरिएको थियो ।










