मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमका लागि विमलनगर सिद्धगुफा विकास कार्यक्रम छनोट

भञ्ज्याङन्यूज

नवप्रवर्तन कार्यक्रमका लागि बन्दीपुरमा जनपर्याबरण मैत्री तथा सिद्धगुफा बिकास कार्यक्रम छनोट गरिएको छ । शुक्रबार गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय पोखरा र बन्दीपुर गाउँपालिका बिच मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत “बन्दीपुर गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा (क्यान-कल्चर एडभेन्चर र नेचर) मोडेलमा कार्यक्रम सम्झौता गरिएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरे अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणा पत्र पेस गरेपछि दुवै पक्षबीच सम्झौता भएको हो ।

स्थानीय तहले नवप्रवर्तनका माध्यमबाट स्थानीय सेवा प्रवाह, सुशासन र स्थानीय आर्थिक विकासमा योगदान दिने परियोजना प्रस्ताव पेश गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपयुक्त प्रस्ताव छनोट गर्ने गर्दछ । यो कार्यक्रम सञ्चालन हुने पालिकाहरुले वाषिर्क २५ लाख भन्दा कम आन्तरिक आम्दानी भएकाले २५ प्रतिशत र २५ लाख माथि वाषिर्क आम्दानी भएका पालिकाहरुले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नवप्रवर्तन साझेदारी कोषका लागि कूल लागत १ करोड ३ लाख ९५ हजार ३ सय रहेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले २८ लाख ९५ हजार ३ सय लागत साझेदार गर्नेछ ।

कार्यक्रम अनुसार स्टोन ट्रेल, रक क्लाइम्बिङ, सौन्दर्यिकरण, सत्तल पाटी पौवा निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रमहरु सञ्चालन, कला संस्कृति संरक्षण, पर्यटकीय स्थलहरुको प्रबर्द्धन कार्यक्रम, डकुमेन्ट्री लगायतका अन्य कार्यक्रमहरु सञ्चालन गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा पर्ने यो गुफा बन्दीपुर पुगिसकेपछि छुटाउनै नहुने स्थान हो । यो नेपालको मात्र नभई एसियाकै सबैभन्दा ठुलो गुफा दाबी गरिएको छ ।

पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट ६०० मिटर उचाइमा दक्षिण भागमा रहेको छ ।

सिद्ध गुफालाई बन्दीपुरकै गहनाको रुपमा मानिन्छ । गुफाको केही भागमा छिपछिपे पानी भएपनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो हुँदैन । करिब ५०० मिटर भित्रसम्म हिडेपछि गुफाको आकार झनै ठूलो छ । लगभग ८०० मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौं आकृति हेर्न सकिन्छ । गेफामा ठूलो संख्यामा चमेरा देख्न पाइन्छ ।

कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृतिहरु गुफा भित्र देख्न पाइन्छ । भर्‍याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँ पुगिन्छ । जहाँ सहासिक खेल र्‍यापलिङ (अध्यारो गुफा भित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) समेत खेल्न गसकिन्छ ।

९६ मिटर अग्लो भिरमा र्‍याप्लीङ शुरू गरिएको एक दशक भइसकेको छ । शिव भगवानको विशेष पूजा गरिने गुफामा श्रावण महिनामा बोलबमको मेला समेत लाग्ने गर्छ । गुफामा समय समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्ने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker