विद्यार्थीलाई छात्रवृत्तिको रुपमा विद्यालयले दियो बाख्राको पाठी

भञ्ज्याङन्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन । उहाँले छात्रवृत्तिका रुपमा नगद वा शैक्षिक सामग्री पाउने अनुमान गर्नुभएको थियो ।

कक्षा-८ मा अध्ययनरत भट्टलाई छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले त छात्रवृत्तिमा नगद वा शैक्षिक सामग्री दिएको पढेका, देखेका थियौ। तर विद्यालयले हामीलाई बाख्राको पाठी छात्रवृत्तिको रुपमा दिएको छ ।”

कक्षा ७ मा अध्ययनरत रोजना रोकालाई पनि छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो अनुभूति भएको छ । उहाँले भन्नुभयो, “छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाएपछि नयाँपन लाग्यो ।”

छात्रवृत्तिको रुपमा नगद वा शैक्षिक सामग्री दिने परम्परालाई परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो । विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उही समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरणको अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरु गरिएको हो । पैसा दिँदा खर्च हुने र अर्को वर्षनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ । पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौँ।” प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८ मा अध्ययनरत सपना भट्ट, कक्षा ७ मा अध्ययनरत रोजना रोका र कक्षा ६ मा अध्ययनरत सृष्टि गुरुङलाई छात्रवृत्तिका रुपमा एक/एक वटा पाठी वितरण गरिएको छ ।

विद्यालयमा स्थापना गरिएको दुइ वटा छात्रवृत्ति कोषबाट प्राप्त रु २१ हजारमा तीन वटा उन्नत बाख्राको पाठी खरिद गरिएको उहाँको भनाइ छ। बोगटीले भन्नुभयो, “बोर र जमुनापारी जातका बाख्राको पाठी छात्रवृत्तिको रुपमा उपलब्ध गराएपछि विद्यार्थी र अभिभावक प्रत्यक्षक रुपमा लाभान्वित हुनेछन्।”

उक्त छात्रवृत्ति काराखेती अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्रबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उपलब्ध भएको थियो । छात्रवृत्ति वितरणलाई प्रभावकारी र दिगो बनाउन, दीर्घकालिन रुपमा आयआर्जनसँग जोड्न सुरु गरिएको अभियान प्रभावकारी हुने विश्वास लिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यसले विद्यार्थीलाई आयआर्जन जोड्न सहयोग पुग्छ।”

‘भात होइन थाल दिऔँ : माछा होइन जाल दिऔँ’ भन्ने यथार्थलाई व्यवहारमा कार्यान्वयनका लागि यो प्रयास फलदायी हुने चुमानको भनाइ छ। उहाँले भन्नुभयो, “बालबालिकाको शिक्षा प्राप्त गर्ने संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयास स्वरुप यो कार्य शुभारम्भ भएको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker